लन्डन– इरान–अमेरिका तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढ्दै गएपछि बेलायत सरकारले रुसी तेलसम्बन्धी केही नयाँ प्रतिबन्ध कार्यान्वयनमा ढिलाइ गरेको छ ।
इरानसँगको युद्धका कारण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएपछि विश्वभर इन्धनको मूल्य बढ्न थालेको छ । विश्वको करिब पाँचौं हिस्सा तेल यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले जेट इन्धन अभावको चिन्तासमेत बढेको छ ।
बुधबारदेखि लागू भएको नयाँ व्यापार अनुमतिअनुसार भारत र टर्कीजस्ता तेस्रो मुलुकमा प्रशोधन गरिएको रुसी तेलबाट बनेको जेट इन्धन तथा डिजेल बेलायतमा आयात गर्न अनुमति दिइएको छ ।
अमेरिका–इजरायल र इरानबीच बढ्दो द्वन्द्व तथा हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढाएको जनाइएको छ ।
यस निर्णयको विपक्षी कन्जरभेटिभ पार्टीले आलोचना गरेको छ । पार्टीकी नेता केमी बडेनोच ले बेलायती सरकारले “फोहोर रुसी तेल खरिद गर्ने निर्णय गरेको” भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
तर बेलायती प्रधानमन्त्री केयर स्टाररले सरकारले गत अक्टोबरमा घोषणा गरिएको प्रतिबन्ध प्याकेजलाई चरणबद्ध रूपमा कार्यान्वयन गरिरहेको स्पष्ट पारे । उनले वर्तमान अस्थिर अवस्थाबाट उपभोक्तालाई जोगाउन छोटो अवधिका लागि लक्षित अनुमति दिइएको बताए।
संसदमा बोल्दै प्रधानमन्त्री स्टार्मरले “यो नयाँ प्रतिबन्धलाई क्रमिक रूपमा लागू गर्ने प्रक्रिया हो, पुराना प्रतिबन्ध हटाउने निर्णय होइन” भनेका थिए ।
बेलायती सरकारले उक्त अनुमति अनिश्चित अवधिसम्म लागू रहने भए पनि समय–समयमा पुनरावलोकन गरिने जनाएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता बेलायत युक्रेनको प्रमुख समर्थकमध्ये एक रहँदै आएको छ । बेलायतले रुसविरुद्ध लागू गरेका प्रतिबन्ध विश्वकै कडा प्रतिबन्धमध्ये पर्ने दाबी गर्दै आएको छ ।














प्रतिक्रिया