तेहरान- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ । विदेश तथा देशभित्रका धेरै विवादास्पद सैन्य कारबाहीसँग जोडिएका ब्रिगेडियर जनरल अहमद वाहिदी अहिले इरानको रणनीतिक निर्णय केन्द्र नजिकैको प्रमुख व्यक्तित्वका रूपमा देखिएको बताइएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित अहमद वाहिदीलाई अमेरिकासँग सम्भावित युद्ध अन्त्यसम्बन्धी वार्तामा इरानको कडा र अडिग रणनीति तयार पार्ने प्रमुख पात्रमध्ये एक मानिएको छ । उनलाई सर्वोच्च नेता अयातुल्ला मोज्तबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने सीमित समूहभित्र रहेको विश्वास गरिएको छ । रिपोर्टअनुसार फेब्रुअरी २८ मा भएको इजरायली आक्रमणमा अयातुल्ला अली खामेनीको मृत्यु भएको दाबी गरिएको छ ।
इरानभित्र सत्ता संरचनाको शीर्ष तहमा रहेको अनिश्चितता र प्रतिस्पर्धाबीच निर्णय प्रक्रिया अत्यन्तै जटिल बनेको देखिन्छ । युद्ध सुरु भएयता इरानको उच्च धार्मिक शासन संरचनाभित्र शक्ति सन्तुलन निरन्तर बदलिँदै आएको र प्रभावशाली व्यक्तिहरूको पहुँच पनि परिवर्तन भइरहेको विश्लेषण गरिएको छ । युद्ध सुरु हुनुभन्दा केही हप्ताअघि फेब्रुअरी ८ यता वाहिदी सार्वजनिक रूपमा नदेखिएको उल्लेख छ । लामो समयदेखि सुरक्षा संरचनाभित्र सक्रिय रहेका वाहिदीले इरानको क्षेत्रीय मिलिसिया समूहहरूलाई समर्थन गर्ने नीतिहरू निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
उनीमाथि सन् १९९४ मा अर्जेन्टिनाको यहुदी केन्द्रमा भएको बम विस्फोटमा संलग्नताको आरोप समेत लगाइएको छ । साथै सन् २०२२ मा देशभित्र भएको प्रदर्शन दमनमा सुरक्षा निकाय परिचालनको नेतृत्व गरेको आरोप पनि उनीमाथि छ । युद्ध सुरु भएपछि गार्ड नेतृत्वमा पुगेका वाहिदीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली र पर्सियन खाडी क्षेत्रमा सक्रिय साना नौसैनिक इकाइहरूको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
उनी नेतृत्वमा आएपछि इरानको सैन्य रणनीति अझ आक्रामक बनेको विश्लेषकहरूको टिप्पणी छ । “वाहिदी र उहाँको नजिकको समूहले इरानको सैन्य प्रतिक्रिया मात्र नभई, वार्ता रणनीतिमा पनि नियन्त्रण बढाएका छन्”, वासिङ्टनस्थित इन्स्टिच्युट फर द स्टडी अफ वारले जनाएको छ । इरानको रणनीतिमा हर्मुज जलघाँटी नियन्त्रण, तेल तथा ग्यास आपूर्ति अवरुद्ध गर्ने क्षमता र खाडी क्षेत्रमा दबाब सिर्जना गर्ने नीति समावेश रहेको बताइन्छ ।
साथै खाडी अरब राष्ट्रका ऊर्जा संरचना र पूर्वाधारलाई लक्षित आक्रमणहरू पनि बढेको उल्लेख गरिएको छ । वार्ता प्रक्रियामा इरानले अत्यधिक समृद्ध युरेनियम भण्डार आत्मसमर्पण गर्नुपर्ने अमेरिकी मागको प्रतिवाद गर्दै आफ्नो ऊर्जा सुरक्षा र रणनीतिक अधिकारलाई केन्द्रमा राखेको छ । विश्लेषकहरूका अनुसार यो रणनीति इरानको दीर्घकालीन दबाब–राजनीतिक दृष्टिकोणसँग मेल खाने देखिन्छ ।
न्युयोर्कस्थित सौफान ग्रुपका वरिष्ठ अनुसन्धानकर्ता केनेथ काट्जम्यानले वाहिदीको सोचलाई ‘अनन्त प्रतिरोध र निरन्तर सङ्घर्षको मानसिकता’ का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार वाहिदीले प्रत्येक चरणमा अमेरिका र उसका नीति निर्माणकर्तालाई चुनौती दिने दृष्टिकोण राख्छन् । सन् २०२६ को जनवरीमा वाहिदीले इरानको रक्षा क्षमताले कुनै पनि शत्रु सैन्य कारबाहीलाई उच्च जोखिममा पुर्याउन सक्षम भएको दाबी गरेका थिए ।
यसैबीच अप्रिलमा पाकिस्तानमा भएको वार्तामा इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी टोलीबीच छलफल भए पनि कुनै सहमति हुन सकेन । त्यसपछि इरानभित्रै वार्ता टोलीमाथि आलोचना बढेको थियो । त्यसपछि वाहिदी वार्ताका लागि मुख्य सम्पर्क विन्दुका रूपमा उभिएको एक क्षेत्रीय अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख छ । सर्वोच्च नेताको स्वास्थ्य र अवस्थाबारे अनिश्चितताले शक्ति केन्द्रहरूबीच प्रतिस्पर्धा बढाएको पनि बताइएको छ ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेतासँग करिब दुई घण्टा भेट गरेको विवरण सार्वजनिक भएपछि आन्तरिक शक्ति सन्तुलनबारे थप चर्चा भएको थियो । विश्लेषक होली डाग्रेसका अनुसार वर्तमान नेतृत्व अझ कठोर र गार्ड–अनुकूल नीतिमा उन्मुख देखिन्छ । राजनीतिक विश्लेषक कामरान बुखारीका अनुसार वाहिदीजस्ता व्यक्तिहरूले केवल युद्ध व्यवस्थापन मात्र नभई राज्य संरचना र उत्तराधिकार प्रक्रियासमेत पुनःनिर्माण गरिरहेका छन् ।
सन् १९५८ मा शिराजमा जन्मिएका अहमद शाहचेरागी अर्थात् अहमद वाहिदी १९७९ को क्रान्तिपछि रिभोलुसनरी गार्डमा प्रवेश गरेका थिए । उनले इरान–इराक युद्धका क्रममा सैन्य अनुभव विस्तार गरेका थिए । त्यसपछि उनी गार्डको गुप्तचर संरचनामा प्रवेश गर्दै बाह्य अपरेसनको नेतृत्वसम्म पुगेका थिए । उनले सन् १९८० को दशकमा इरान–कन्ट्रा प्रकरणसँग सम्बन्ध रहेको आरोपसमेत सामना गरेका थिए ।
पछि उनले कुद्स फोर्स (जेरुसेलम फोर्स) मा नेतृत्व भूमिका निर्वाह गर्दै मध्यपूर्वभरि इरान समर्थित समूहहरूको नेटवर्क विस्तारमा भूमिका खेलेको बताइन्छ । सन् १९९४ को अर्जेन्टिना बम विस्फोट र सन् १९९६ को खोबर टावर्स आक्रमणसँग पनि उनको नाम जोडिएको छ । यद्यपि इरानले ती आरोप अस्वीकार गर्दै आएको छ । सन् १९९८ मा उनले कुद्स फोर्स छाडेका थिए ।
पछि रक्षामन्त्री हुँदा सन् २०१० मा अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित आरोप लगाउँदै उनीमाथि प्रतिबन्ध लगाएको थियो । हाल गृहमन्त्रीका रूपमा रहँदा सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको देशव्यापी प्रदर्शन दमनमा सुरक्षा निकाय परिचालनको निरीक्षण गरेको आरोप पनि उनमाथि छ । उनले हिजाब सम्बन्धी नीतिलाई इस्लामिक गणतन्त्रको सुरक्षा र सांस्कृतिक संरचनासँग जोड्दै पश्चिमी प्रभावविरुद्धको विषयका रूपमा व्याख्या गरेका थिए ।
विश्लेषकहरूका अनुसार वाहिदीको प्रभावले इरान–अमेरिका वार्ता एकल नेतृत्वभन्दा पनि बहु–शक्ति संरचनाबाट निर्देशित भइरहेको देखिन्छ । ट्रम्प प्रशासनले एक मात्र वार्ताकार चाहेको भए पनि इरानको निर्णय प्रणाली बहुकेन्द्रित बनेको विश्लेषण गरिएको छ । “यो एकल व्यक्तिको शो होइन, वाहिदी केवल एक हिस्सा हुनुहुन्छ”, मध्यपूर्व विश्लेषक हमिद्रेजा अजिजीले टिप्पणी गरे । उनले इरानभित्रको शक्ति संरचना अझ जटिल र अस्पष्ट बन्दै गएको बताए ।














प्रतिक्रिया