‘खेलमैदान छन्, व्यवस्थित छैनन्’ « Khabarhub

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ । 

खेलकुद विकास समिति मातहत तनहुँ तथा सार्वजनिक जग्गामा रहेका खेलमैदान पर्याप्त रूपमा व्यवस्थित हुन नसक्दा खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूले विभिन्न समस्या भोग्दै आएका छन् ।

जिल्लामा खेलकुदको आकर्षण बढ्दै गएपनि सोअनुसारको भौतिक पूर्वाधार विकास हुन नसकेको गुनासो जनमासबाट आइरहेको छ । स्थानीयस्तरबाट जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्नुपर्ने अवस्थामा समेत खेलमैदानको स्तरोन्नति हुन नसक्दा खेलकुदका गतिविधि प्रभावित बन्दै गएका हुन् ।

जिल्लास्थित खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सदरमुकाम दमौलीसहित जिल्लाका विभिन्न स्थानमा रहेका खेलमैदान व्यवस्थित नहुँदा खेल सञ्चालन र प्रतियोगिता व्यवस्थापनमा समस्या भइरहेको बताए । 

उनका अनुसार खेलकुद पूर्वाधारका लागि आवश्यक बजेटको अभावका कारण रहेका मैदानहरूको स्तरोन्नति तथा संरक्षण कार्य प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । 

‘खेलकुद गतिविधि सञ्चालनका लागि आधारभूत पूर्वाधार आवश्यक हुन्छ । तर जिल्लामा भएका अधिकांश खेलमैदान पर्याप्त रूपमा व्यवस्थित छैनन्’, अध्यक्ष पाण्डेले भने, ‘पूर्वाधार विस्तार र मर्मतसम्भारका लागि पर्याप्त बजेट नहुँदा खेलकुद क्षेत्रले अपेक्षित गति लिन सकेको छैन ।’

उनका अनुसार खेलकुद विकास समिति तनहुँ मातहत व्यास नगरपालिका-३ स्थित बीपी वनवाटिकामा करिब ४० रोपनी क्षेत्रफलमा दमौली सेमिकभर्ड हल तथा खेलकुद मैदान छन् । जिल्लाको मुख्य खेलकुद केन्द्रका रूपमा रहेको उक्त मैदानमा विभिन्न खेल गतिविधि सञ्चालन हुँदै आए पनि आवश्यक पूर्वाधार थप गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

त्यसैगरी व्यास नगरपालिका-५ मा १३ रोपनी पाँच आना क्षेत्रफलमा रहेको चिन्तुटार खेलमैदान, भानु नगरपालिका-६ मा रहेको नावरुङ खेलमैदान तथा भानु नगरपालिका-८ मा रहेको काउरेटार खेलमैदान पनि खेलकुद विकास समिति मातहत रहेका प्रमुख खेलस्थल हुन् । 

तर, ती मैदानमा पनि आवश्यक स्तरोन्नति, संरक्षण, घेराबार, दर्शक बस्ने स्थान, शौचालय तथा अन्य आधारभूत सुविधाको अभाव रहेको पाण्डेले बताए ।

अध्यक्ष पाण्डेका अनुसार जिल्लामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । 

खेल अभ्यासका लागि उपयुक्त मैदानको अभाव हुँदा खेलाडीहरूले पर्याप्त प्रशिक्षणको अवसर पाउन सकेका छैनन् । कतिपय स्थानमा वर्षायाममा मैदान हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुने समस्या पनि रहेको स्थानीय खेलाडी बताउँछन् । 

पाण्डेका अनुसार कुनै प्रतियोगिता आयोजना गर्नुपरेमा हाल उपलब्ध मैदानमा सामान्य मर्मत गरी जेनतेन कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ । 

‘जिल्लास्तरीय वा प्रदेशस्तरीय प्रतियोगिता गर्नुपर्दा मैदानको अवस्था सुधार गर्न अस्थायी तयारी गर्नुपर्ने हुन्छ’, उनले भने, ‘स्थायी रूपमा व्यवस्थित खेलमैदान निर्माण र स्तरोन्नति गर्न सके खेलकुद गतिविधि अझ प्रभावकारी बन्न सक्छ ।’

खेलकुदलाई युवाको शारीरिक तथा मानसिक विकाससँग जोडिएको महत्त्वपूर्ण क्षेत्रका रूपमा लिँदै स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले खेल पूर्वाधार विकासमा पर्याप्त लगानी गर्नुपर्ने खेलप्रेमी कविराज श्रेष्ठले बताए । 

व्यवस्थित खेलमैदान निर्माण तथा संरक्षण गर्न सके जिल्लामा खेलकुद गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने उनको भनाइ छ । 

तनहुँमा रहेका खेलमैदानको स्तरोन्नति, नयाँ पूर्वाधार निर्माण तथा खेलकुद गतिविधिलाई निरन्तरता दिन पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्ने बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठले बताए ।

 व्यास-११ मा एक सय ५० रोपनी क्षेत्रफलमा कोलढुङ्गा क्रिकेट मैदान, व्यास-१ मा २५ रोपनी क्षेत्रफलमा निर्मल मावि खेलमैदान तथा बास्केटबल कोर्ट, व्यास-५ मा ३० रोपनी क्षेत्रफलमा पाटन खेलमैदान, व्यास-६ मा ३५ रोपनी क्षेत्रफलमा शिशाघाट खेलमैदान छन् ।

त्यस्तै, भानु-१ मा ४० रोपनी क्षेत्रफलमा भन्सार खेलमैदान, भानु-३ मा १५ रोपनी क्षेत्रफलमा भन्सार खेलमैदान, भानु-२ मा ३० रोपनी क्षेत्रफलमा गोठेरीचौर खेलमैदान, भानु-४ मा ५० रोपनी क्षेत्रफलमा आमखोला खेलमैदान, भानु-५ मा दुई सय रोपनी क्षेत्रफलमा ओक्लाङ खेलमैदान, भानु-१३ मा १५ रोपनी क्षेत्रफलमा रतनपुर अर्चले खेलमैदान रहेका खेलकुद विकास समितिका अध्यक्ष पाण्डेले जानकारी दिए ।

उनका अनुसार बन्दीपुर गाउँपालिका-२ मा १५ रोपनीमा भूमस्र्य खेलमैदान, बन्दीपुर-१ मा १२ रोपनीमा बन्दीपुरछाप खेलमैदान, आँबुखैरेनी गाउँपालिका-२ मा ९२ रोपनीमा आँबुखैरेनी रङ्शाला, देवघाट गाउँपालिका-१ मा एक सय रोपनीमा कोटा रङ्गशाला, देवघाट-२ मा ५० रोपनीमा खाल्टे रङ्गशाला, देवघाट-५ मा १५ रोपनीमा भुजन खेलमैदान, म्याग्दे गाउँपालिका-७ मा ६५ रोपनीमा म्याग्दे खेलमैदान, म्याग्दे-५ मा ७५ रोपनीमा छाङपाटन खेलमैदान, म्याग्दे-३ मा ६० रोपनीमा जामुनेटार खेलमैदान, घिरिङ गाउँपालिका-३ मा १० रोपनीमा पोखरीछाप खेलमैदान, घिरिङ-१ मा २० रोपनीमा पुट्टार खेलमैदान छन् ।

यसैगरी घिरिङ-४ मा गड्यौलीटार खेलमैदान, ऋषिङ गाउँपालिका-१ मा झापुटार खेलमैदान, ऋषिङ-६ मा चालिसे खेलमैदान, भिमाद नगरपालिका-६ मा भिमाद रङ्गशाला, भिमाद-९ मा मदन आश्रित खेलकुद मैदान, शुक्लागण्डकी नगरपालिका-५ मा बेलचौतारा खेलमैदान, शुक्लागण्डकी–८ मा नगरस्तरीय खेलमैदान, शुक्लागण्डकी-९ मा एक सय २० रोपनीमा तालबेँसी खेलमैदान रहेका खेलकुद विकास समितिले जनाएको छ । रासस

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : १४ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म