पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा नामले नै हरेक वस्तु, ठाउँ र व्यक्तिको पहिचान बन्ने गर्दछ। तर एउटै नामका धेरै व्यक्ति हुँदा कहिलेकाहीँ रमाइलो र जटिल परिस्थिति समेत सिर्जना हुन्छ। नाम केवल पहिचान होइन, कहिलेकाहीँ एउटा कथा पनि हो । नामको समानता मानिसलाई अपरिचित ठाउँमा पु¥याउँछ, राजनीतिक संवादमा घुसाउँछ, गोप्य रहस्य खुलाउँछ र कहिलेकाहीँ रमाइलो परिस्थितिमा ल्याइदिन्छ।
त्यसैले पुरानो ‘गुमनाम हुनेभन्दा बदनाम नै राम्रो’ भन्ने उखानले नामको महत्त्वलाई व्याख्या गरे पनि वास्तविकतामा नामले कति अनपेक्षित प्रसंग ल्यााइदिन्छ भन्ने कुरा अनुभव नगरेसम्म कसैले बुझ्दैन।
पुराना समयमा त हुलाकबाट चिठ्ठी आउँदा नाम मिलेकै भरमा एकजना माधवको चिठी अर्कै माधवको घरमा पुग्थ्यो । अहिले यस्तै ढंगले आधुनिक संचार साधनले पनि कहिलेकाहीँ गोपनीयता भंग र गलत व्यक्तिसम्म सूचना पुर्याउने घटना भइरहेका छन् । खासगरी मोबाइल, म्यासेज र फोनका कारण गोप्य कुरा, राजनीतिक संवाद र आन्तरिक छलफल समेत गलत ढोका ढक्ढक्याएर जाने उदाहरण प्रशस्त छन् ।
यो अनुभूति मेरो जीवनले पनि पाएको छ। कारण एकै थियो- म पनि ‘माधव नेपाल’ र तत्कालीन एमालेका महासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि ‘माधव नेपाल’ । नाम र थर उस्तै परेपछि संयोग र भ्रमका कथा त झन् पैदा भइरहे।
२०७५ असोज २१ गतेको घटना अहिले पनि झल्झली आउँछ। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता कसरी गर्ने भन्ने रस्साकस्सी चलिरहेको समय थियो । पार्टीभित्रको तिक्तता र असमझदारी एकताका लागि चुनौतीजस्तै बनेको अवस्था थियो। एमालेभित्र अलिक रस्साकस्सी पनि थियो ।
त्यही बेलाको कुरा हो । मेरो मोबाइलमा ‘नम्बर नदेखिने’ कल आयो। सामान्यतया यस्तो कल उच्च अधिकारी वा सुरक्षा निकायबाट मात्र आउने भएकाले म अचम्म परेँ । फोन उठाएपछि उता बाट प्रश्न आयो ।
‘माधव कमरेड होइन ?’
साथीहरूले पनि मलाई ‘माधव कमरेड’ भनेरै बोलाउने हुँदा म ढुक्कै भएर हो भनेँ । तर तुरुन्तै आवाज चिने- त्यो आवाज तत्कालीन प्रधानमन्त्री केपी ओलीको थियो । उहाँले आफू केपी ओली भएको बताउनुभयो । त्यसपछि मात्रै म सानो माधव नेपाल, प्रेस चौतारीको माधव भएको जानकारी दिएँ । उहाँले हाँस्दै सोध्नुभयो- ‘चौतारीमा के छ ? शीतल नै छ?’ मैले पनि हजुर, भनेर उत्तर दिएँ । उहाँको खास लक्ष्य माधवकुमार नेपालसँग कुराकानी गर्ने रहेछ।
आन्तरिक असमझदारीका कारण माधव नेपालले आफैंले प्रयोग गर्ने नम्बर बन्द गरेर हिँडेका रहेछन् । त्यसैले विकल्प नम्बर खोज्दा मेरो मोबाइलमा फोन पुगेको रहेछ। केही भलाकुसारीपछि फोन टुंगियो । यस घटनाले नामकै भरमा राजनीतिक संवाद कसरी गलत ढोकामा पुग्छ भन्ने रमाइलो प्रमाण दियो ।
‘माधव कमरेड होइन ?’ साथीहरूले पनि मलाई ‘माधव कमरेड’ भनेरै बोलाउने हुँदा म ढुक्कै भएर हो भनेँ । तर तुरुन्तै आवाज चिने- त्यो आवाज तत्कालीन प्रधानमन्त्री केपी ओलीको थियो । उहाँले आफू केपी ओली भएको बताउनुभयो ।
नेकपा (एमाले ) मा माधव नेपाल नेतृत्वमा भएका बेला यसअघि पनि धेरै फोन म्यासेज पार्टीभित्रका गोप्य छलफल, मनोनयन, सिफारिस र लबिङसँग सम्बन्धित रहेर मेरो मोबाइलमा आइरहेका थिए।
एकपटक युवा संघ नेपालका पूर्वमहासचिव निरज आचार्यको नम्बरबाट जाजरकोटका एक जनालाई राजनीतिक कुनै पदमा राखिदिनुपर्ने आग्रहसहित लामो म्यासेज आयो। त्यो म्यासेज एमालेको नेतृत्वमा रहेका माधवकुमार नेपालका लागि लेखिएको थियो । म्यासेज पढेर मैले निरजजीलाई फोन गरेँ र भने ‘म्यासेज गलत ठाउँमा आयो, पुनः पठाउनुहोस् ।’
उहाँ फोनमा अलि हडबडिएको अनुभूति भयो। किनकि सो म्यासेजमा आन्तरिक कुरा र गोप्य सिफारिस थियो।
त्यस्तै नेकपा एमालेका सिन्धुपाल्चोकका तत्कालीन कार्यकर्ता होमनारायण श्रेष्ठले पार्टीको नीति, एजेण्डा र भावी रणनीतिसम्बन्धी लामो विश्लेषण मोवाइलको म्यासेजमा पठाउनुभयो । त्यहाँ केही आक्रोश केही गाली र केही सुझाव थिए । मैले फोन गरेर म अर्कै माधव नेपाल परेँ भन्ने जानकारी दिएपछि उनले केही रमाइलो माने ।
तत्कालीन एमालेका महासचिव माधव नेपालले फोन फिर्ता गरेकोमा खुशी लागेको बताएका थिए । तर, उनको त्यो खुशी मेरो स्वरसँगै हरायो । अर्कै माधव भएपछि होमनारायण मज्जाले हाँसे । पछि उनी गाउँपालिका महासंघको अध्यक्ष र अहिले नेकपा(एमाले) सिन्धुपाल्चोकको अध्यक्ष भएका छन् ।
२०७३ सालमा प्रेस चौतारी नेपालको अधिवेशन हुँदै थियो । त्यही बेला चौतारीका अध्यक्षका प्रत्यासी दुर्गाप्रसाद शर्माको म्यासेज आयो। म्यासेजमा सम्मानपूर्वक ‘वरिष्ठ नेता माधवकुमार नेपाल’लाई सम्बोधन गर्दै चौतारीको अध्यक्ष आफूलाई बनाइदिन अनुरोध गरिएको थियो । त्यसबेला म पनि चौतारीको अध्यक्षको दावेदार थिएँ । एउटै हलमा बसेका बेला दुर्गाले मलाई म्यासेज गरेका थिए । म्यासेज मेरा हातमा आइपुग्दा मैले पढेर मुस्कुराउन मात्रै सकेँ । राजनीतिक पार्टीभित्रको प्रतिस्पर्धा, सिफारिस र तिनको गलत गन्तव्य कहिले कति रमाइलो त कहिले कति विडम्बनापूर्ण हुन्छ भन्ने यसको उदाहरण हो ।
२०७३ सालमा प्रेस चौतारी नेपालको अधिवेशन हुँदै थियो । त्यही बेला चौतारीका अध्यक्षका प्रत्यासी दुर्गाप्रसाद शर्माको म्यासेज आयो। म्यासेजमा सम्मानपूर्वक ‘वरिष्ठ नेता माधवकुमार नेपाल’लाई सम्बोधन गर्दै चौतारीको अध्यक्ष आफूलाई बनाइदिन अनुरोध गरिएको थियो ।
केही साल पहिलेको माघ ३ गते थियो । त्यो बेला पत्रकार महासंघको कार्यक्रममा सिन्धुपाल्चोकको हेलम्बू पुगेको थिएँ । त्यही बेला एकजना महिलाको फोन आयो। उहाँ एकदमै सहज स्वरमा सरासर भन्नुभयो- (नाम गोप्य) ‘फलानाले भनेको मानेनन्, हजुरले फोन गरिदिनुपर्यो’ । उहाँका शब्द, बोली र शैलीले उहाँ पार्टी निकट टोलीकै नेतृ हो । हुन पनि उहाँ कल्पना भट्ट नाम गरेको कार्यकर्ता हुुुनुहुँदो रहेछ । उहाँले मलाई ‘माधव कमरेड’ भनेर सम्बोधन गर्नुभयो । त्यसपछि मैले वास्तविकता खोलेँ-‘म अर्कै माधव नेपाल परेँ । ’
उहाँ ‘अर्को माधव’ भनेर सुनेपछि छक्क पर्नुभयो । मैले उहाँलाई माधवकुमार नेपालको स्वकीय सचिवका रूपमा कार्यरत मोहन गौतमको नम्बर दिएँ । त्यसपछि भने उता निकै रमाइलो हाँसो चल्यो। केही बेरपछि पनि उहाँकै नम्बरबाट म्यासेज आयो-‘माधव कमरेडको लाग्ने फोन नम्बर दिनुस् न ।’ मसँग उहाँको नम्वर थिएन । दिन सकिन ।
यी घटना केवल संयोग थिए । न त लक्ष्य, न त प्रयोजन नै हुन् । तर पत्रकारिताको व्यवसाय र राजनीतिक वृत्तसँग नजिक हुने बित्तिकै संयोगका यस्ता घटना कहिलेकाहीँ रोचक टिप्पणी र कहिलेकाहीँ व्यक्तिगतरूपमै पाठ बन्ने गर्छन् ।












प्रतिक्रिया