काठमाडौँ– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट मात्रै सुरु हुने भएको छ । विवादहरू समाधान गरेर प्रतिनिधिलाई कार्ड वितरण सुरु गरिएकाले १ बजेबाट बन्दसत्र सुरु गर्ने तयारी भएको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए ।
पराजुलीले खबरहबलाई दिएको जानकारी अनुसार प्रतिनिधिहरूको विवाद समाधान भइसकेको छ । दुई महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले पनि प्रतिनिधिको विवाद समाधान भइसकेकाले अब चाँडै नै बन्दसत्र सुरु हुने बताए । महाधिवेशनमा ४ हजार बढी महाधिवेशन प्रतिनिधि उपस्थित भएका छन्।
हिजो बिहान साढे ८ बजेका लागि तय भएको बन्दसत्र प्राविधिक कारणले हुन नसकेपछि समस्या समाधान गरी अहिले प्रतिनिधिलाई कार्ड वितरण भइरहेको छ ।
प्रतिनिधिको गुनासो
कोशीबाट उपस्थित भएका एक प्रतिनिधिले तयारी बिना नै महाधिवेशनमा बोलाइएको गुनासो गरे । उनले भने, ‘हामीले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई भनिसकेका छौँ बिना तयारी किन महाधिवेशन गर्नुपरेको थियो र ?’ ती प्रतिनिधिले भने, ‘आयोजकबाट केही गल्ती कमजोरी भयो आगामी दिन यस्तो हुँदैन कुरिदिनुहोस् भन्नुभयो।’
मधेसका अर्का प्रतिनिधिले पनि कमजोर व्यवस्थापनका कारण राष्ट्रिय महाधिवेशन समयमै सम्पन्न हुन नसकेको बताए । उनले आफूले प्रवक्ता झालाई यो कुरा राख्दा उनले गल्ती स्वीकार गरेको बताए । ‘पहिलो महाधिवेशन भएकाले सिक्दैछौँ यस्तो गल्ती भयो आगामी दिनमा हामीले सच्याएर जानुपर्छ भन्ने कुरा प्रवक्ताज्यूले राख्नुभयो हामी महाधिवेशन स्थलमै छौँ।’ मधेसका ती प्रतिनिधि भन्छन्, ‘चर्को घाममा एकदमै धेरै तनाव भएको छ। होटलमा पनि धेरै दिन बस्ने अवस्था छैन ।’
महाधिवेशनमा उपस्थित भएका प्रतिनिधिहरूको खाना र खाजाको व्यवस्था पार्टीले गरेको छ भने होटलमा बासको व्यवस्था आफैँले गर्नुपर्नेछ । महाधिवेशन लम्बिँदा प्रतिनिधिलाई पनि आर्थिक भार थपिने देखिएको छ ।
आज बेलुका नै मतदानको सम्भावना : महामन्त्री बुर्लाकोटी
रास्वपा महामन्त्री बुर्लाकोटीले निर्वाचन हुने पदहरूमा आज बेलुका नै मतदान हुने बताएका छन् । उनले भने, ‘आज बेलुका नै मतदानको काम सुरु हुने सम्भावना छ, बन्दसत्र समापन भए लगत्तै प्रक्रिया अघि बढ्नेछ ।












प्रतिक्रिया