दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब सात अर्ब ७८ करोड २६ लाख रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
जिल्लाका १० मध्ये आठ वटा पालिकाले बुधबार तथा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले भने असार ८ गते बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
जिल्लाका सबै स्थानीय तहले गरी सात अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये व्यास, शुक्लागण्डकी, भानु र भीमाद गरी चार नगरपालिकाले चार अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ रुपैयाँ र छ गाउँपालिकाले रु तीन अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
सदरमुकामस्थित व्यास नगरपालिकाले एक अर्ब ५० करोड २० लाख एक हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ चार करोड दुई लाख ३४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ७२ करोड २९ लाख ९१ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २६ करोड दुई लाख २५ हजार रुपैयाँ, वातावरण विपद्तर्फ चार करोड ८७ लाख रुपैयाँ, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ ४२ करोड ९८ लाख ५१ हजार रुपैयाँ छुट्याइएको छ ।
उपप्रमुख इन्दिरा दरैका अनुसार चालुतर्फ एक अर्ब दुई करोड ३७ लाख ६२ हजार दुई सय रुपैयाँ विनियोजन गरिएको छ । जुन कूल बजेटको ६८.१६ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगततर्फ ४७ करोड ४२ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन कूल बजेटको ३१.८४ प्रतिशत रहेको छ ।
विनियोजित बजेटमध्ये सङ्घ सरकारको सशर्त चालु अनुदानबाट ६१ करोड ८० लाख रुपैयाँ, आन्तरिक स्रोतबाट २० करोड रुपैयाँ, सङ्घ सरकारको वित्तीय समानीकरणबाट १८ करोड ६० लाख रुपैयाँ, राजश्व बाँडफाँटबाट १५ करोड ३२ लाख ७७ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानबाट १३ करोड ४० लाख रुपैयाँ प्राप्त हुने छ ।
त्यस्तै राजस्व बाँडफाँट मालपोतबाट रु सात करोड, नगर विकास ऋणबाट तीन करोड ५० लाख रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट दुई करोड ५० लाख पाँच हजार रुपैयाँ, सञ्चित कोषबाट दुई करोड १० लाख रुपैयाँ, प्रदेश सरकार राजस्व बाँडफाँटबाट एक करोड ८१ लाख ६५ हजार रुपैयाँ, सडक बोर्डबाट ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नवप्रर्वतनीयबाट ७० लाख रुपैयाँ, समपुरकबाट ५० लाख रुपैयाँ, जिल्ला समन्वय समितिबाट ५० लाख रुपैयाँ, प्रदेश समपुरक अनुदानबाट ४५ लाख ५४ हजार रुपैयाँ, विशेष अनुदानबाट ४० लाख रुपैयाँ र जनसहभागिताबाट ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले एक अर्ब १३ करोड ५४ लाख ३९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख खुमबहादुर विकले आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट ४९ करोड १८ रुपैयाँ वित्तीय समानीकरणबाट १२ करोड ३८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको बताए ।
सशर्त अनुदानबाट ४६ करोड ४१ लाख रुपैयाँ विशेष अनुदानबाट एक करोड ४० लाख रुपैयाँ, समपुरक अनुदानबाट एक करोड ३३ लाख रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९३ लाख रुपैयाँ, राजश्व बाँडफाटबाट एक करोड ५९ लाख रुपैयाँ, समपुरकबाट ६० लाख रुपैयाँ, विशेष अनुदानबाट ४० लाख रुपैयाँ, मालपोतबाट एक करोड ५० लाख रुपैयाँ र जनसहभागिताबाट एक करोड ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उनको भनाइ छ ।
उनका अनुसार पूर्वाधारतर्फ रु तीन करोड ९१ लाख ७८ रुपैयाँ, सामाजिक विकासतर्फ तीन करोड ४२ लाख रुपैयाँ, आर्थिक विकासतर्फ ९२ लाख ५७ हजार रुपैयाँ, वातावरण विपद्तर्फ ९२ लाख ५७ हजार रुपैयाँ, सुशासन तथा संस्थागत क्षमतातर्फ ४६ लाख २८ हजार रुपैयाँ, चालु प्रशासनिक खर्च १६ करोड रुपैयाँ, अनिवार्य दायित्वतर्फ १० करोड रुपैयाँ, राजस्व फिर्तातर्फ एक करोड रुपैयाँ र वडागततर्फ नौ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
भानु नगरपालिकाले ८४ करोड ६६ लाख ४४ हजार २४ को बजेट प्रस्तुत गरेको छ । भीमाद नगरपालिकाले रु ६३ करोड ५३ लाखको बजेट प्रस्तुत गरेको छ ।
म्याग्दे गाउँपालिकाले ७४ करोड ३२ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ ४७ करोड ९३ लाख र पुँजीगततर्फ २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।
विनियोजित बजेटको स्रोत सुनिश्चितताका लागि नेपाल सरकारको वित्तीय समानीकरणबाट नौ करोड ९२ रुपैयाँ, सशर्त अनुदानबाट ३९ लाख, चालुबाट १८ करोड रुपैयाँ, राजश्व बाँडफाँटबाट आठ करोड ७७ रुपैयाँ, गण्डकी प्रदेश सरकारको प्रदेश वित्तीय समानीकरणबाट एक करोड २१ लाख रकम विनियोजन गरिएको उनले बताए ।
राजस्व बाँडफाँटबाट ९० लाख रुपैयाँ, अनुदानबाट ९० लाख रुपैयाँ, सडक बोर्डबाट २३ लाख रुपैयाँ, आन्तरिक आयबाट १५ करोड रुपैयाँ, समपुरक अनुदानबाट ७० लाख रुपैयाँ, विशेष अनुदानबाट एक करोड ४० लाख रुपैयाँ, सामाजिक सुरक्षाबाट १३ करोड रुपैयाँ, प्रदेश समपुरक अनुदानबाट ६० लाख रुपैयाँ, विशेष अनुदानबाट ४० लाख रुपैयाँ, नागरिक साझेदारीबाट दुई करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको घिमिरेले बताए ।
आर्थिक विकास समितितर्फ चार करोड १८ लाख रुपैयाँ, सामाजिक विकास समितितर्फ ३३ करोड १६ लाख ८३ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २५ करोड ३९ लाख ६८ हजार चार सय ५० रुपैयाँ, वन वातावरण विपद् समितितर्फ ८७ लाख रुपैयाँ, कार्यालय सञ्चालन, सुशासन समितितर्फ १० करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
देवघाट गाउँपालिकाले ५५ करोड ५८ लाख ६७ हजार रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाले ६४ करोड रुपैयाँ, बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ र ऋषिङ गाउँपालिकाले ५३ करोड ६२ लाख ५० हजार रुपैयाँ, घिरिङ गाउँपालिकाले ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । रासस












प्रतिक्रिया