चीनमा कडा लगानी सुरक्षा नियम लागू « Khabarhub

चीनमा कडा लगानी सुरक्षा नियम लागू


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानीसम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ । 

नयाँ व्यवस्थाले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने लगानी, प्रविधि, सेवा तथा दक्ष जनशक्तिको सीमापार आवागमनमाथि सरकारलाई थप निगरानी र समीक्षा गर्ने अधिकार दिएको छ ।

जुन १ मा घोषणा गरिएको यी नियमले चीनको सीमा पार गर्ने पूँजी, कर्मचारी, प्रविधि तथा सेवासम्बन्धी गतिविधिलाई नियमन गर्न व्यापक कानूनी आधार तयार गरेको छ । चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले जारी गरेको व्यवस्थाअनुसार यसको उद्देश्य विदेशी लगानीको गुणस्तर र स्तर सुधार गर्दै राष्ट्रिय सुरक्षाको संरक्षण गर्नु हो ।

नियमअनुसार सबै बाह्य लगानीले ‘समग्र राष्ट्रिय सुरक्षा अवधारणा’को पालना गर्नुपर्नेछ र घरेलु तथा अन्तर्राष्ट्रिय हितबीच सन्तुलन कायम गरिने उल्लेख गरिएको छ । साथै, राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कुनै पनि लगानी वा सम्पत्ति स्थानान्तरणको समीक्षा गर्ने अधिकार पनि सरकारलाई दिइएको छ ।

बेइजिङले कृत्रिम बौद्धिकता, कम्प्युटर चिप र हरित प्रविधिलाई रणनीतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानेर ती उद्योगको स्वदेशी विकासलाई प्राथमिकता दिँदै आएको छ । यसै क्रममा सीमापार कारोबारमाथिको निगरानी थप कडा बनाइएको हो ।

नयाँ व्यवस्थाअनुसार हालसम्म वस्तु र डाटामा सीमित रहेका निर्यात नियन्त्रण अब सेवा, प्रविधि हस्तान्तरण तथा प्राविधिक विशेषज्ञलाई विदेश पठाउने वा विदेशमा तालिम दिने गतिविधिसम्म विस्तार गरिएको छ ।

यस कदमले विदेशी लगानीकर्ताको चीनको विशाल प्रविधि बजारमा पहुँच सीमित हुन सक्ने चिन्ता पनि बढाएको छ । चीनले सीमापार लगानीप्रति अपनाउँदै आएको सतर्क नीतिअन्तर्गत अप्रिलमा मेटाले चीनमा स्थापना भई हाल सिङ्गापुरमा आधारित एआई स्टार्टअप मानुसलाई अधिग्रहण गर्ने प्रयासप्रति पनि आपत्ति जनाएको थियो ।

अमेरिका–चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोगले यो निर्णय चीनले राष्ट्रिय सुरक्षाको नाममा विदेशी लगानीमाथि नियन्त्रण बढाउँदै आएको दीर्घकालीन प्रवृत्तिको निरन्तरता भएको जनाएको छ । 

आयोगले मे महिनामै चीनका राष्ट्रिय सुरक्षा कानूनको व्याख्या र कार्यान्वयनमा अधिकारीहरूलाई व्यापक अधिकार रहेकाले विदेशी कम्पनीका लागि कानूनी अनिश्चितता र व्यावसायिक जोखिम थप बढ्न सक्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १ : २६ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ