काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको स्वादिलो र पौष्टिक फलका रूपमा चिनिने आँपलाई फलफूलको राजा पनि मानिन्छ ।
बालबालिकादेखि लिएर प्रायः सबै उमेर समूहलाई आँप मन पर्छ । भिटामिन, खनिज तत्त्व र फाइबरको राम्रो स्रोत भएकाले आँप स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, मात्रा नमिलाएर सेवन गर्दा यसले स्वास्थ्यमा समस्या पनि निम्त्याउन सक्ने चिकित्सक बताउँछन् ।
पोषणविद् डा. भूपाल बानियाँका अनुसार सामान्यतया स्वस्थ व्यक्तिले दिनमा एकदेखि दुई वटा तथा बढीमा तीनवटासम्म आँप खान सक्छन् । तर अत्यधिक मात्रामा आँप सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्न सक्ने भएकाले मधुमेहका बिरामीले विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।
उनका अनुसार आँपमा पोटासियमको मात्रा पनि रहने भएकाले मिर्गौला रोग भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्नुपर्छ । ‘आँप पौष्टिक फल हो, तर कुनै पनि खाद्यवस्तु जस्तै यसको पनि उचित मात्रा आवश्यक हुन्छ,’ उनले भने ।

कृत्रिम रूपमा पकाइएका आँपप्रति सचेत होऔँ
पोषणविद् बानियाँले बजारमा पाइने केही आँप कृत्रिम रूपमा पकाइएका हुनसक्ने भएकाले उपभोक्ताले सतर्कता अपनाउनुपर्ने बताए । प्राकृतिक रूपमा पाकेको आँपको स्वाद र सुगन्ध फरक हुने उल्लेख गर्दै उनले रासायनिक पदार्थ प्रयोग गरी पकाइएका आँपको अत्यधिक सेवनले दीर्घकालीन रूपमा स्वास्थ्यमा असर पार्न सक्ने बताए ।
कृत्रिम रूपमा पकाइएका फलफूलले केही व्यक्तिमा छालासम्बन्धी एलर्जी, बिमिरा आउने, पेटको समस्या देखिने लगायतका असर निम्त्याउन सक्ने उनको भनाइ छ ।
आँपले स्वास्थ्यमा गर्ने फाइदा
पोषणविद् बानियाँका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन, खनिज तत्त्व र फाइबर पाइन्छ । यसले पाचन प्रक्रियालाई सहज बनाउन मद्दत गर्नुका साथै शरीरलाई आवश्यक पोषक तत्त्व प्रदान गर्छ । नियमित र सन्तुलित रूपमा आँप सेवन गर्दा शरीरलाई ऊर्जा प्राप्त हुने तथा समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने उनले बताए ।

मधुमेहका बिरामीका लागि आँपको मात्रा नियन्त्रण गर्नु आवश्यक रहेको डा. बानियाँको भनाइ छ । आँपमा प्राकृतिक चिनीको मात्रा हुने भएकाले अत्यधिक सेवनले रगतमा ग्लुकोजको स्तर बढाउन सक्छ । त्यस्तै मिर्गौला रोग भएका व्यक्तिमा पोटासियमको मात्रा बढ्न सक्ने जोखिम रहने भएकाले चिकित्सकीय सल्लाहबिना धेरै आँप सेवन नगर्न उनको सुझाव छ ।
आँप कसरी खाने ?
पछिल्लो समय आँपलाई दूध वा दहीसँग मिसाएर म्याङ्गो लस्सी तथा विभिन्न परिकार बनाउने चलन बढेको छ । यसबारे डा. बानियाँले दूध, दही र आँप सँगै सेवन गर्दा स्वास्थ्यमा कुनै वैज्ञानिक रूपमा प्रमाणित नकारात्मक असर नदेखिएको बताए ।
उनका अनुसार आँपको जुस, म्याङ्गो लस्सी वा अन्य परिकार बनाएर पनि सेवन गर्न सकिन्छ । पछिल्लो समय आँपलाई लामो समय फ्रिजमा राखेर खाने चलन पनि बढ्दै गएको र त्यसरी खाँदा पनि यसले खासै हानी नगर्ने डा. बानियाँले बताए ।

बालबालिकाले आँप निकै रुचाउने भए पनि गुलियोको मात्रा धेरै हुने भएकाले खानाकै रुपमा नखुवाउन उनको सुझाव छ । ‘आँप धेरै खाएको छ अब खाना कम दिनुपर्छ भन्ने हुँदैन त्यसो गर्दा बच्चालाई चाहिने प्रोटिन नपुग्न सक्छ र बच्चा कमजोर हुन जान्छ । त्यसैले खाजाको रुपमा या खानासँगै दिन सकिन्छ’ उनले भने । आँपले सबै पोषक तत्त्वको आवश्यकता पूरा गर्दैन । विशेषगरी प्रोटिनजस्ता आवश्यक पोषक तत्वका लागि नियमित सन्तुलित भोजन आवश्यक हुन्छ उनले भने ।
जुनसुकै समयमा खान सकिन्छ
आँप खाना खाएपछि, खाजाका रूपमा वा बिहानको नास्तासँग समेत सेवन गर्न सकिने डा. बानियाँले बताए । उचित मात्रा र सुरक्षित आँप छनोट गरी सेवन गर्दा यसबाट स्वास्थ्यलाई फाइदा पुग्ने उनको भनाइ छ ।
स्वाद, सुगन्ध र पोषणका कारण लोकप्रिय आँप स्वास्थ्यका लागि लाभदायक भए पनि अत्यधिक सेवन नगरी सन्तुलित आहारको एक हिस्साका रूपमा प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् ।












प्रतिक्रिया