अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता « Khabarhub

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसद्मा विधेयक दर्ता गरेको छ । 

सङ्घीय संसद् प्रतिनिधिसभामा असार २३ गते दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ ले विभिन्न कानुनी जटिलता, दोहोरोपनाको अन्त्य, संविधान तथा सङ्घीय शासन व्यवस्थाअनुकूल कानुनी सुधार, राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित केही कानुन खारेज र केही संशोधनको प्रक्रिया अघि बढाएको हो ।

संविधानको मर्म र भावनाअनुकूल नभएका तथा वर्तमान सङ्घीय शासन संरचनाको सन्दर्भमा असान्दर्भिक देखिएका कानुनी तथा संस्थागत प्रावधान हटाउने, कानुनी दोहोरोपनाको अन्त्य गर्ने तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक भएकाले यो विधेयक संसद्मा दर्ता गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

विधेयकमा प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० खारेज गर्ने प्रस्ताव गरिएको छ । 

त्यस्तै, मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ मा संशोधन गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

विधेयकले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा नयाँ व्यवस्था थप गर्दै व्यावसायिक प्रयोजनका लागि मालसामान ढुवानी गर्ने सवारीसाधनलाई वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । 

प्रस्तावित व्यवस्थाअनुसार कानुनबमोजिम दर्ता भएका ढुवानीका साधनबाट व्यावसायिक प्रयोजनका लागि मालसामान ढुवानी गर्दा त्यसको सम्पूर्ण विवरण वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली मा प्रविष्ट गरेर मात्र ढुवानी गर्नुपर्नेछ ।

विधेयकले नेपालमा दर्ता भएका वा दर्ता हुने सम्पूर्ण ढुवानी सवारीमा तोकिएको मापदण्डअनुसार भू–अवस्थिति देखाउने चालु अवस्थाको जिपीएस उपकरण जडान गर्नुपर्ने र त्यसको सिलसिलेवार नम्बर सम्बन्धित निकायमा दर्ता गर्नुपर्ने व्यवस्था पनि गरेको छ । 

यद्यपि निश्चित क्षेत्रमा सञ्चालन हुने ढुवानी साधनलाई जिपीएस जडानबाट छुट दिन सकिने पनि विधेयकमा प्रस्ताव गरिएको छ । अनलाइन प्रणालीमा विवरण प्रविष्ट नगर्ने, आवश्यक कागजात साथमा नराख्ने वा जिपीएस जडानसम्बन्धी व्यवस्था उल्लङ्घन गर्ने ढुवानी सवारीका धनी वा प्रयोगकर्तालाई कर अधिकृतले पहिलोपटक अधिकतम ५० हजार र त्यसपछि प्रत्येक पटक अधिकतम रु एक लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था विधेयकमा  छ ।
    
विधेयकले आयकर ऐन, २०५८ मा महत्वपूर्ण संशोधन प्रस्ताव गरेको छ । ऐनको दफा २ मा ‘गैरकर’ को नयाँ परिभाषा थप गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार गैरकर भन्नाले प्रचलित कानुनबमोजिम लाग्ने शुल्क, दस्तुर, सेवा शुल्क, रोयल्टी, लाभांश, जरिवाना वा साँवा फिर्ता रकम जनाउनेछ । त्यस्तो रकममा लाग्ने ब्याजलाई  गैरकरकै रूपमा परिभाषित गरिएको छ । 
    
विधेयकले आयकर ऐनमा नयाँ दफा ७२ (क) थप गर्दै गैरकर निर्धारण तथा असुलीसम्बन्धी व्यवस्था प्रस्ताव गरेको छ । यस व्यवस्थाअनुसार प्रचलित कानुनबमोजिम तिर्नुपर्ने गैरकर नतिरेको वा नबुझाएको अवस्थामा नेपाल सरकारको निर्देशनको अधीनमा रही छानबिन तथा अनुसन्धान गरी गैरकर निर्धारण गर्न वा गराउन सक्नेछन् । 
    
अनुसन्धानबाट थप गैरकर दायित्व कायम भएको पाइएमा  शतप्रतिशत जरिवाना असुल गरिने प्रस्ताव गरिएको छ ।

सरकारले प्रस्तुत गरेको उक्त विधेयक संसद्बाट पारित भई कार्यान्वयनमा आएपछि राजस्व प्रशासनमा सूचना प्रविधिको प्रयोग विस्तार हुने, ढुवानी प्रणालीको वास्तविक समयमै निगरानी गर्न सकिने, गैरकर असुलीलाई थप व्यवस्थित बनाउने तथा पुराना तथा असान्दर्भिक कानुनी व्यवस्थाहरू हटाएर सङ्घीय शासन प्रणाली अनुकूल कानुनी संरचना निर्माण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १२ : २५ बजे

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

दमौली– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

रसुवा- नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलो

६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रको समग्र खुद नाफामा गत वर्षको तुलनामा

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

भद्रपुर– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको