दुई पक्षबीचको सहमति पछि सामान्य बन्दै कपिलवस्तु, आजै कर्फ्यु फिर्ता हुने « Khabarhub

दुई पक्षबीचको सहमति पछि सामान्य बन्दै कपिलवस्तु, आजै कर्फ्यु फिर्ता हुने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– हिन्दू र मुस्लिम समुदायबीचको विवादका कारण बुधबार रातिदेखि तनावग्रस्त रहेको कपिलवस्तुको कृष्णनगरको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ ।

बिहीबार बिहान हिन्दू र मुस्लिम समुदायबीचको तनावलाई नियन्त्रणमा लिन ‘प्रहरीले चलाएको गोली’ लागेर १ युवकको मृत्यु भएपछि कपिलवस्तु झन् तनावग्रस्त बनेको थियो ।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

बिहीबार दिउँसोदेखिको प्रयासका बाबदूत राति दुई पक्षबीच ११ बुँदे सहमति भएपछि स्थिति सामान्य बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले खबरहबलाई जानकारी दिए ।

सैनीका अनुसार बिहीबार राति गोली लागी मृत्यु भएका व्यक्तिका आफन्तसहित स्थानीय बासिन्दा र स्थानीय प्रशासनबीच ११ बुँदे समझदारी भएको छ । उक्त समझदारीपछि हिन्दू समूदायका व्यक्तिहरुले लक्ष्मी पूजाको मूर्तिहरु पनि बिहीबार राति नै बिसर्जन गरिसकेका छन् ।

दुई पक्षबीच स्थानीयले दिएको उजुरीमा किटान गरिएका ‘घटनाका दोषी’लाई कारबाही गर्ने । मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, मृतकलाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत विषयमा समझदारी भएको सैनीले खबरहबलाई जानकारी दिए ।

तिहारको समयमा लक्ष्मी पूजा गरी मूर्ति बिसर्जन गर्ने क्रममा स्थानीय मुस्लिम समूदायका युवाहरुले अवरोध सिर्जना गरेपछि बुधबार साँझदेखि कृष्णनगरमा तनाव बढेको थियो ।

हिन्दू समुदायले मूर्ति विसर्जन गर्न खोज्दा मुस्लिम समूदायहरुले आफ्नो टोल हुँदै जान नदिएपछि तनाव उत्पन्न भएको थियो ।

पछि दुई समुदायबीचको तनावले उग्र रुप लिँदा झडपको स्थिति सिर्जना भएको थियो । उक्त झडपमा गोली चल्दा बिहीबार बिहान सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

स्थानीय प्रशासनले घटनामा ज्यान गुमाएका पाण्डे भारतीय नागरिक भएको बताएको छ । तर, स्थानीयहरुले भने पाण्डेको परिवारले ३ पुस्ता अगाडिदेखि कृष्णनगरमा व्यापार गर्दै आएको र उनी कृष्णनगरका बासिन्दा भएको बताउँदै आएका छन् ।

सैनीका अनुसार मृतक पाण्डेका परिवारले २० लाख रुपैयाँ क्षतिपूर्तिका माग गरेका छन् । स्थानीय प्रशासनले २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने अधिकार नभएकाले त्यससम्बन्धमा गृह मन्त्रालयमा सिफारिस गर्ने समझदारी बनेको सैनीले खबरहबलाई जानकारी दिए ।

यस्तै, पाण्डेलाई शहीद घोषणा गर्ने विषयबारे पनि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको सैनीले बताए ।

सैनीका अनुसार अहिले कृष्णनगरको अवस्था सामान्य बन्दै गएको छ । तनाव कम हुँदै गएपछि बिहीबार बिहान ११ बजेदेखि जारी कर्फ्यु पनि आज (शुक्रबार) फिर्ता लिने तयारी भइरहेको सैनीले जानकारी दिए ।

‘अहिले केहीबेरमा (११ बजेदेखि) जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ । सोही बैठकले शान्तिसुरक्षाको अवस्थाबारे विश्लेषण गरेर कर्फ्यु फिर्ता लिने निर्णय गन सक्छ,’ सैनीले खबरहबसँग भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : ५३ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो