काठमाडौं– नेपाली आकाश असुरक्षित छ भन्ने चर्चा चलिरहेकै बेला पुनः दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ – ताप्लेजुङको फुङलिङ नगरपालिका १० तारेढुंगा भीरमा भएको हेलिकोप्टर दुर्घटना । बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनामा परि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भयो ।
बुधबार भएको यो घटनासम्म आइपुग्दा पछिल्लो १ बर्षको अवधिमा मात्र ९ वटा विमान दुर्घटना भए । ती घटनामा परि ६६ जनाको मृत्यु भयो । अघिल्ला बर्षहरुमा पनि हवाई दुर्घटना पटक पटक हुने गरेका छन् ।
किन दोहोरिन्छ पटक– पटक हवाई दुर्घटना ?
विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत कारण नेपालमा हवाई दुर्घटना बढिरहेको हवाई विज्ञ वाइके भट्टराईको तर्क छ ।
हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट(जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबीच आपसी तालमेल हुन नसक्दा नेपालले बारम्बार हवाई क्षेत्रमा यस्ता घटना व्यहोर्नु परेका भट्टराई बताउँछन् ।
यसबाहेक हवाई दुर्घटनापछि त्यसबारे हुने छानबिन र तयार हुने प्रतिवेदनको कार्यान्वयनमा नेपालमा अझै सम्झौता हुनुले पनि जहाज दुर्घटनाले निरन्तरता पाइरहेको उनको बुझाई छ ।
नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ । मौसममा अचानक आउने खरावीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढ्ने गरेको हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाको भनाइ छ ।
नेपाली आकाश भौगोलिक कठिनाई र मौसमी विविधताले असुरक्षित मानिदै आएको छ । यद्यपि, हालसम्म भएका हवाई दुर्घटना के कारणले हुन्छन् भन्ने यकिन प्रतिवेदन तयार हुन भने सकेको छैन ।
हवाई दुर्घटनापछि बन्ने समितिहरुले दिने प्रतिवेदनमा पहाड र मौषममा आएको खराबीका कारण दुर्घटना भन्ने उल्लखे हुने गवरेको हवाई विभागका पूर्व महानिर्देशक देउजा बताउँछन् ।
नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको विज्ञहरुको तर्क छ ।
कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि नेपालमा छ ।
भौगोलिक रूपमा नेपालमा उडान कार्य कठिन भए पनि आवश्यक संरचनाको पर्याप्त व्यवस्था भएमा दुर्घटना कम हुँदै जाने उड्डयनसँग सम्बन्धित विज्ञको भनाइ छ । मौसम र भूगोलभन्दा पनि मानवीय त्रुटिलाई सक्दो कम गराउँदै जाने हो भने भविष्यमा नेपालले ठूला दुर्घटनाबाट सुरक्षित रहन सक्ने देउजाको तर्कछ ।
हवाई विभागका पूर्वमहानिर्देशक देउजाका अनुसार, नेपालमा धेरै जसो भीएफआर (भिजुवल फ्लाइट रुल) आँखाले हेरेर गर्ने उडान हुने गरेको छ । जहाँ मौसम हेरेर उडान भर्ने गरिन्छ । अर्को प्रविधी हुन्छ इन्स्ट्रुमेन्ट फ्लाइट रुल । जसलाई मेसिनले नियन्त्रण गर्छ वा यन्त्रका सहायतमा अवस्थाको अध्ययन गर्न मिल्छ । नेपालका सबै उडानमा त्यस्तो हुने अवस्था बन्न सक्ने सम्भावना छैन । उनका अनुसार, दुर्घटना हुँदै गर्दा के गरेर यस्ता समस्या घटाउन सकिन्छ भन्ने किक्र्योल गर्न सकिन्छ । तर, यो निर्मूल नै भने हुँदैन ।
आइकाओले भन्छ – नेपाल असुरक्षित
नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले त नेपाल विश्वकै असुरक्षित आकास भएको भनेर प्रतिवेदन नै सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल लामो समयदेखि पर्दै आएपछि युरोपेली एयरलाइन्सले त नेपालमा विमान उडाउन छाडेका छन् ।
यसरी आइकाओले नेपालको आकाश असुरक्षित भएको भन्दै विभिन्न चेतावनी दिइरहेको बेला हवाई दुर्घटना हुने क्रम पनि बढिरहेको छ । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा नेपालले न्युनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ ।
उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आईकाओको प्रतिवेदनमा उल्लेख छ । आईकाओको उड्डययन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ ।
प्रतिवेदन बन्छ, कार्यान्वयन हुँदैन
सन् १९४९ मा पहिलो पटक नेपालमा विमान अवतरण भएको थियो । तर, त्यसको ६ वर्ष पनि पूरा हुन नपाउँदै सन् १९५५ को मार्च ८ मा कालिंगा एयरको जहाज बाराको सिमरामा दुर्घटना भयो । त्यो घटनामा दुई जनाले ज्यान गुमाए । त्यसयता नेपाली आकाशमा ७४ वटा ठुला दुर्घटना भए । यस मध्य बुधबार ताप्लेजुङमा दुर्घटना भएको हेलिकोप्टर छाडेर ७३ वटा विमान दुर्घटना सम्बन्धि बनेका छानविन अयोगले प्रतिवेदन तयार पारेका छन् । तर, आयोगले दुर्घटना नदोहोरिउन भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
बनेको प्रतिवेदनमाथि पनि प्रश्न
अहिलेसम्म दुर्घटनाका सम्बन्धमा बनेका छानबिन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही औंल्याएका छन् । तर विडम्बना के छ भने तिनै प्रतिवेदनमा जहाज सञ्चालक कम्पनीलाई जहाजको मर्मतसम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको देखिन्छ । यसले पनि प्रतिवेदन कतै झारा टार्ने मेसो मात्रै त बन्दै छैन भनेर संका गर्ने ठाउँ देखिन्छ ।
हुनपनि नेपाली आकाशमा उडान भरिरहेका साना जहाज दुर्घटनाको मुखबाट जसोतसो जोगिएका घटना विवरण हेर्ने हो भने प्राविधिक अवस्था खासै राम्रो छैन भनेर देखिन्छ । अनि दुर्घटना भएर मृत्यु भइसकेपछि भने चालकको दोष भनेर प्रतिवेबदन बन्छ । नेपाल एयरलाइन्स कर्पोरेसनका बोर्ड निर्देशक तथा हवाई विज्ञ अच्युतराज पहाडी भन्छन् – कतिपय रिपोर्ट बाहिर सार्वजनिक गर्नु त कता हो कता, स्वयं सरोकारवालासम्म पनि पुग्दैनन् । कम्पनीका कमजोरी सार्वजनिक हुन पाउ“दैनन् । त्यसकारण एउटै प्रकृतिको दुर्घटना पटक–पटक हुन्छन् । उनका अनुसार, छानविन समितिमा समेत राजनीति हुने गरेको छ । त्यसैका कारण विज्ञसमेत छानविनमा बस्न पाउँदैनन् । यसले गर्दा पनि दुर्घटना दाहोरिरहेका छन् ।
यस्तो छ नेपालको हवाई दुर्घटनाको नालिवेली
नेपाली हवाई इतिहासमा दुर्घटनाको इतिहास लामो छ । हरेक वर्ष जसो नेपालले कुनै न कुनै विमान दुर्घटना भोग्दै आएको छ । नागरिक उड्ययन प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा हवाइ उडान इतिहासको ६८ वर्षमा ७४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परि ८ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना हु“दा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई मानिन्छ । त्यसपछि श्रृङ्खलाबद्ध रुपमा दुर्घटना दोहोरिरहेका छन् ।
अहिलेसम्म नेपाली आकाशमा भएका मुख्य दुर्घटना
वि.सं. २०११ कालिङ्ग एयरको विमान बाराको सिमरामा दुर्घटना, २ जनाको मृत्यु
वि.सं. २०१२ इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु
वि.सं. २०१४ इण्डियन एयरलाईन्सको विमान ललितपुरमा दुर्घटना, २० जनाको मृत्यु
वि.सं. २०२६ नेपाल वायु सेवा निगमको विमान मकवानपुरमा दुर्घटना, ३५ जनाको मृत्यु
वि.सं. २०२६ नेपाली सेनाको विमान काभ्रेको पाँचखालमा दुर्घटना, ३१ जनाको मृत्यु
वि.सं. २०३८ नेपाल वायुसेवा निगमको विमान विराटनगरमा दुर्घटना, १० जनाको मृत्यु
वि.सं. २०४९ थाइ एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु
वि.सं. २०४९ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरमा दुर्घटना, १६७ जनाको मृत्यु
वि.सं. २०५० एभरेष्ट एयरलाइन्सको विमान चितनमा दुर्घटना, १९ जनाको मृत्यु
वि.सं. २०५५ लुम्विनी एयरवेजको विमान घोरेपानीमा दुर्घटना, १८ जनाको मृत्यु
वि.सं. २०५६ मा नेकोन एयरको विमान काठमाडौंमा दुर्घटना १५ जनाको मृत्यु
वि.सं. २०५९ सांग्रिला एयरको विमान पोखरामा दुर्घटना १८ जनाको मृत्यु
वि.सं. २०६३ तारा एयरको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु
वि.सं. २०६३ श्री एयरलाइन्सको विमान ताप्लेजुङको घुन्सामा दुर्घटना २४ जनाको मृत्यु
वि.सं. २०६७ तारा एयलाइन्सको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु
वि.सं. २०६७ अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु
वि.सं. २०६८ बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना १९ जनाको मृत्यु
वि.सं. २०६९ अग्नि एयरयको विमान मुस्ताङमा दुर्घटना १५ जनाको मृत्यु
वि.सं. २०६९ सिता एयरको विमान काठमाडौंमा दुर्घटना १९ जनाको मृत्यु
वि.सं. २०७० नेपाल एयरलाइन्सको विमान अर्घाखा“चीमा दुर्घटना १८ जनाको मृत्यु
वि.सं. २०७२ फागुनमा तारा एयरको विमान म्याग्दीमा दुर्घटना २३ जनाको मृत्यु
वि.सं. २०७२ फागुनमा एयर काष्ठमाण्डपको विमान कालिकोटमा दुर्घटना २ जनाको मृत्यु
वि.सं. २०७४ जेठ गोमा एयरको विमान लुक्लामा दुर्घटना दुईजनाको मृत्यु
वि.सं. २०७४ जेठ नेपाली सेनाको विमान बाजुरामा दुर्घटना एकजनाको मत्यु
वि.सं. २०७४ फागुन २८ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना ५१ जनाको मृत्यु
वि.सं. २०७५ जेठ ०२ गते, सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना दुईजनाको मृत्यु
वि.सं. २०७५ भदौ २६ गते, नुवाकोटको मेधाङ–मैलुङपाखामा, अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु
वि.सं. २०७५ फागुन १५ गते, ताप्लेजुङको फुङलिङ नगरपालिका १० तारेढुंगा भीरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
प्रकृतिलाई दोष दिएर मात्र कर्तव्य पुरा हु“दैन । वर्षौं वर्षका पुराना जहाज, निजी विमान कम्पनीको अस्वस्थ प्रतिस्पर्धा, फितलो सरकारी कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दै आएका छन् । सरकारले उडानका लागि अनुमतिको बाढी ल्याएको छ ।
ञ्चालकहरुको पैसा कुम्ल्याउने महत्वाकांक्षाका कारण आकासमा जोखिमको यात्रा गर्नुपर्ने जहाजहरु हवाई ट्रक हुने गरेका छन् । अब भने छातीमा हात राखेर पानीमाथिको ओभानो हुने हैन, गल्ती नदोहो¥याउने संकल्प सवैले गर्नु आवश्यक छ । कामना गरौं अब यस्ता समाचार बनाउनु नपरोस् ।
प्रतिक्रिया