काठमाडौं- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) को उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन जनाको नाम सिफारिश गरेको छ ।
उम्मेदवारका आकांक्षी १६ जना रहेकामा पटक–पटकको बैठकले नाम छनोट गर्दै सर्वसहमत खोजे पनि नसकेपछि अन्ततः तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको पार्टी अध्यक्ष बचन देउजाले जानकारी दिए ।
बैठकबाट पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, र देवीप्रसाद (डिपी) ढकालको नाम सिफारिस गरेको उनले जानकारी दिए ।
जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेशसभामा तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।
यो क्षेत्रमा सहमति हुन नसकेपछि नेपाली काङ्ग्रेसले १० जनाको नाम सिफारिस गरेको छ,भने साझा पार्टीले एक जनाको नाम घोषणा गरेको छ । अन्य दलले अझै नाम सिफारिस गर्न सकेका छैनन् । उक्त क्षेत्रमा चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नं– १० पर्छन् ।
प्रतिक्रिया