सिद्धबाबाका काण्ड– भूमिगत समाधीदेखि बलात्कारको आरोपसम्म | Khabarhub Khabarhub

सिद्धबाबाका काण्ड– भूमिगत समाधीदेखि बलात्कारको आरोपसम्म



काठमाडौं– सोमबार विहान करिव साढे ४ बजे । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गर्‍यो । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भन्दै चिकित्सकहरुले सघन उपचार कक्ष (आईसीयू)मा राखेका थिए । सिद्धबाबा भनिने गिरीमाथि उनकै अनुयायी एक महिलाले जवरजस्ती करणी (बलात्कार)को आरोप लगाएकी छन् ।

प्रधानमन्त्री ओलीसँग सिद्धबाबा भनिने गिरी

सिद्धबाबाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको महिलाको आरोप छ । सिद्धबाबाको ‘भक्त’ रहेकी आफूलाई उनले भगवान प्राप्तीका लागि भन्दै बलात्कार गरेको महिलाको भनाइ छ ।

महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि कृष्णदास विरामी परेको भन्दै अस्पताल भर्ना भएका थिए ।

कृष्णदास भनिने कृष्ण बहादुर गिरीले ती महिलालाई पटक पटक बचाइदिन फोन मार्फत आग्रह गर्ने गरेका भेटिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डसँग सिद्धबाबा भनिने गिरी

‘गल्ती’ भएको स्वीकार गर्दै उनले फेरि कुनै महिलासँग त्यस्तो कार्य नगर्ने भन्दै माफी समेत मागेका छन् । गिरीले आफ्नो ‘लिङ्ग नै काटिदिने’ भन्दै महिलालाई एक पटक माफी दिन हार गुहार गरेका छन् ।

कृष्णदासले आफूलाई शक्तिशाली बाबाको रुपमा चिनाउँदै आएका थिए । देशका शीर्षस्थ नेता तथा राष्ट्रप्रमुख राष्ट्रपति)सँग निकट रहेको भन्दै उनले आफ्नो ‘छुटै शक्ति’ देखाउँथे ।

सिद्धबाबाले गैरकानून रुपमा बनाएको भनिएको भवनको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी, साथमा सिद्धबाबा भनिने गिरी पनि

स्थानीयस्तरमा गिरीले ‘दादागिरी’ नै चलाउने गरेको स्थानीयहरु बताउँछन् । सरकारमा रहेको पार्टीका नेता र स्थानीय प्रशासनका अधिकारीसँग निकट सम्बन्ध रहेको बताउने गिरीले नियम उलंघन गर्दै नक्सा पास नै नगरी १ सय २८ कोठे भवन समेत निर्माण गरेका थिए ।

उनले निर्माण गरेको भवन उद्घाटनमा राष्ट्रपतिदेखि प्रदेश सरकारका मुख्यमन्त्री, स्थानीय तहका जनप्रतिनिधि, नेकपा, कांग्रेसलगायत राजनीतिक दलका पदाधिकारी समेत सहभागी थिए  ।

को हुन् कृष्णबहादुर गिरी भनिने कृष्ण दाश महाराज ?

सोलुखुम्बुको जुवुमा २०३१ सालमा जन्मेका कृष्णवहादुर गिरी नै अहिलेका बलात्कार अभियोग लागेका सिद्धबाबा हुन् ।

उनले केही समय अगाडिसम्म आफूलाई वैश्रव कृष्णदास महाराज भनेर समेत चिनाउँदै आएका थिए । उनले आफ्नो नामको अगाडि विद्यावारिधी गरेको डा. पनि लगाउने गरेका थिए ।

पछि आफूले बनाएको एउटा भवन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन गराउन सफल भएपनि उनले आफ्नो नाम ‘सिद्धबाबा’ राखे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु समेतका साथमा सिद्धबाबासँग

कृष्णको बाल्यकालदेखि किशोरावस्था सोलुको जुवुमै बित्यो । त्यहिँको स्थानीय विद्यालयमा कक्षा ७ अध्ययन गर्दा गदै फेल भएपछि उनी ‘वैरागिएर’ स्कुल नै जान छाडे । ०४९ साल तिर घर छाडेर हिँडेको ६ बर्ष पछि उनी सन्तको भेषमा घर आएका थिए । घर आउनु अघि उनले ६ पेज लामो पत्र समेत लेखेर पठाएका थिए ।

बराहक्षेत्रस्थित बालसन्त देवाचार्यको सम्पर्कमा आएपछि उनी त्यही आश्रममा बस्न थाले । ‘साधु’ बनेका गिरिलाई बालसन्तले धर्म, कर्मकाण्ड, वेद, उपनिषद अध्ययन गरेर सार्वजनिक पुराण वाचन कार्यक्रममा सहभागी हुन प्रेरित गरे ।

बालसन्तले नै गिरीलाई ‘धर्म–कर्म’ सिकाउँदै पहुचवालाहरुसँग परिचय गराए । चतुर स्वभावका गिरीले आफू नेपाल नआएको समयमा भारतमा उच्च शिक्षा अध्ययन गरेको दाबी गर्दैै जगद्गुरु भएको सम्म भन्न थाले ।

आफूले भारतका विश्वविद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनको विश्व विद्यालयमा स्नातकोत्तर गरेको देखि ०६५ साल देखि त विद्यावारिधि नै गरेको दाबी गर्न थाले । उनले बिस्तारै आफ्नो पहुँच बढाउँदै गर्दा सुनसरी मोरङ सिँचाई आयोजनाको जग्गा कव्जा गरे । उक्त जग्गामा हजारौं गाईपालन गर्ने, जडिबुटी र आयुर्वेदको विश्वविद्यालय सञ्चालन गर्ने भनेर सपना बाँडे । यसबीचमा उनले आफ्ना अनुयायीहरु पनि बढाउँदै लगे ।

भारतीय हिन्दु धर्मवालम्बीका गुरुहरुसँग नियमित सम्पर्कमा रहेर कहिले निःशुल्क स्वास्थ्य शिविर त कहिले ‘ताक ब्रह्म यज्ञ’ गरे ।

यसअघि उनी पोखरा र चतरामा भूमिगत ‘समाधी’ पनि बसे । तर उनका ती सबै भूमिगत समाधीहरु ‘कमसल नाटक’ सावित भइसकेका छन् ।

विज्ञानलाई ‘चुनौती’ दिएर भूमिगत समाधी बस्ने ‘नाटक’ सफल बनाउनका लागि गिरीलाई उनको नजिकका ३ जना अनुयायीहरुले विषेश मिहिनेत गरेका थिए । भूमिगत समाधी बस्ने भने पनि गिरीलाई खाना र पानी, दिशा पिसाव गर्नकालागि सम्पूर्ण व्यवस्था ती ३ जना सहयोगीले नै गर्ने गर्दथे ।

तर, उनीहरुले गिरीको ‘नाटक’मा धेरै समयसम्म साथ दिन सकेनन् । हाल उनीहरु घरजम गरेर बसेका छन् ।

गिरिले करिव ४ वर्ष अघि सुनसरीको इटहरीस्थित बालग्रामका एक बालिकालाई आश्रममा लगेर पढाउछु भनेर यौन दुव्र्यवहार गरेको चर्चा चलेको थियो । ती किशोरीका अभिभाकले महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिहरुलाई गिरीविरुद्ध थप बोल्न नदिएर उक्त घट्ना ढाकछोप गरिएको थियो ।

जवर्जस्ती करणी उद्योग मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग सिद्धबाबा भनिने गिरी

चतरा र बालग्रामका स्थानीयहरु अहिले पनि उक्त घटनाबारे चर्चा गर्छन् ।

सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामप्रसाद थपलियाको सहयोगमा ती बालिकालाई पढाउन भनेर रातारात भारत पठाइएको थियो । जो हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।

यसबीचमा गिरिसँग अनेक युवतीहरुको नाम जोडिँदै आयो । हालै गिरीविरुद्ध बलात्कार आरोप लगाउने महिला पनि करिव ७ वर्षदेखि उनको ‘अनुयायी’का रुपमा रहँदै आएकी थिइन् ।

गिरीले आफूलाई बाल ब्रह्मचारी भन्ने गरेपनि उनकै आश्रममा बस्दै आएका केही व्यक्ति भने उनले दैनिक रुपमा दूधसँग यौनवर्द्धक जडिबुटीहरु सेवन गर्ने गरेको समेत बताउँछन् ।

सन्त बाल ब्रह्मचारीलाई किन यौनवर्द्धक जडिबुटी सेवन गर्नु परेको भन्दै आश्रममा बस्दै आएका उनका अनुयायीबीचमा नै चर्चा चल्ने गरेको थियो ।

विभिन्न काण्डले चर्चामा आइरहेन सिद्धबाबा भनिने कृष्ण गिरी अन्ततः औपचारिक रुपमा न्यायिक छानबिनको दायरमा आएका छन् । प्रहरीले सोमबारलाई गिरीलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

अदालतले गिरीमाथि छानबिन गर्न ४ दिनका लागि म्याद दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : ३७ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई