वर्षायाम लागेपछि लोकमार्गमा सास्ती « Khabarhub

वर्षायाम लागेपछि लोकमार्गमा सास्ती


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- सदरमुकाम बागलुङ बजार कटेर पश्चिम लागेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको दयनीय अवस्था आँखाअघि आउँछ । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरो छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ । घोडाबाँधे नपुगुञ्जेल सास्ती घट्दैन । त्यतिञ्जेल २५ किमी यात्रा तय भइसकेको हुन्छ ।

त्यहाँ पुगेपछि भने केही राहत महसुस हुन्छ । थकित बनेका यात्रुले सन्तोषको सास फेर्छन् । काठेखोला गाउँपालिकाको घोडाबाँधेबाट भने कालोपत्र सडक शुरु हुन्छ । घोडाबाँधेदेखि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङसम्म ६४ किमी पक्की सडक छ ।

पश्चिमतर्फ धमाधम कालोपत्र हुँदा सदरमुकामतर्फकै सडक भने सबैभन्दा नाजुक किन छ ? सर्वसाधारणको यो प्रश्न धेरै पुरानो भइसक्यो । मार्ग खुलेको २० वर्ष बितिसक्दा पनि बागलुङ-घोडाबाँधे खण्ड कालोपत्र हुनसकेको छैन । वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन् ।

लोकमार्गका ठाउँठाउँमा खसेका पहिरो र हिलाम्मे सडकका कारण जोखिम बढिरहेको बागलुङ-बुर्तिबाङ ‘रुट’ का जिप चालक दीपक बोहराले बताए । ‘बागलुङ बजारदेखि अक्षेतेसम्म सबैभन्दा बढी समस्या छ’, उनले भने, ‘ठूलो पानी पर्दा गाडी नै हिलोमा फस्छन्, हिउँदमा पनि यात्रा सहज छैन ।’

लोकमार्ग आयोजनाले वर्षा शुरु नहुँदै पूर्वाधार तयारी सक्ने र आउँदो हिउँदभित्र कालोपत्र गर्ने जनाएको थियो । काम ढिलो हुनुमा ठेकेदार कम्पनी दोषी रहेको आयोजनाको भनाइ छ । ठेकेदार कम्पनीले भने मुआब्जा, खानेपानी पाइप, विद्युत् खम्बा आदि कारणले काम प्रभावित भएको बताएका छन् ।

सदरमुकामदेखि बिहुँसम्मको १३ किमीको ‘सिद्वीटाइ कन्सट्रक्सन’ र ‘सूर्य कन्सट्रक्सन’ लाई घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा छ । दुवै खण्डमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीको काम भइरहेको लोकमार्गका इञ्जीनियर रामप्रसाद सुवेदीले बताए।

‘अहिले वर्षाले गर्दा निर्माणको काम सुस्त छ’, उनले भने, ‘पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममा बढी समय बितेको छ ।’ उनले आउँदो वर्षभित्र सडक कालोपत्र हुने बताए । ठेक्काको सम्झौता अवधि पनि एक वर्ष मात्र बाँकी छ ।

वर्षा सकिएपछि कामले गति लिने इञ्जीनियर सुवेदीको भनाइ छ । ‘ठेकेदार कम्पनीबाट ढिलासुस्ती भएकै हो’, उनले भने, ‘आयोजना व्यवस्थापनले सचेत गराएको छ, अब काममा ढिलाइ हुन दिन्नौँ ।’ समयमा काम नभएपछि पटक-पटक ठेक्काको म्याद थप हुँदै आएको छ ।

जनगुनासो बढेपछि आयोजना व्यवस्थापन, जनप्रतिनिधि, स्थानीय प्रशासनलगायत सरोकार पक्षले लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ठेकेदार कम्पनीलाई छिटो काम सक्न अनुरोध गर्ने र लापरवाही गरेमा कारवाहीका लागि सिफारिस गर्ने निर्णय भएको बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले बताए ।

लोकमार्गको गलकोट, हटियादेखि उताको खण्ड हेर्ने इञ्जिनीयर सरोज ढकालले वर्षा हुनासाथ पहिरोले अवरोध खडा गर्ने गरेको बताए । अवरोध सिर्जना हुन नदिन र भइहाले तत्काल हटाउन आयोजना व्यवस्थापन सधैँ तयारी अवस्थामा रहेको उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गले सबैभन्दा बढी बागलुङको १४२ किमि भूभाग समेटेको छ ।

बुर्तिबाङदेखि निसीखोला गाउँपालिकाको पातीहाल्नेसम्मको ४५ किमीमध्ये १४ किमी सडक कालोपत्र भइसकेको छ भने बाँकी यही आर्थिक वर्षभित्र कालोपत्र गर्ने आयोजनाको तयारी छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ६ : ५१ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२