अस्ताउँदो सूर्यलाई अर्घ्य : तस्बिरमा तराईको छठ | Khabarhub Khabarhub

अस्ताउँदो सूर्यलाई अर्घ्य : तस्बिरमा तराईको छठ


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजाअर्चना गरेका छन् ।

व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायतका पोखरीमा अर्घ्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका हुन् । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ ।

छठपर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा रहेको छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कात्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको षष्ठीका दिन मनाइन्छ । सङ्ख्यात्मक दृष्टिले चैते छठपर्वमा व्रत गर्नेको सङ्ख्या अपेक्षाकृत कम हुने गरेको छ ।

षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ । सम्भाव्य कुप्रभावबाट रक्षा गर्ने सन्दर्भमा षष्ठी तिथिले रक्षाको सामथ्र्यका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ ।

छठको विधि विधानले शरीर र मनलाई सौर्यऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए । सूर्यको उपासनाले पाचनतन्त्रका लागि लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको पनि बताइन्छ ।

सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । त्यसैले सूर्यलाई एउटा अभिष्ट देवताका रूपमा वैदिककालदेखि नै पूजिएको छ । वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ ।

छठपर्वमा सूर्यलाई ‘छठिमाइ’ को रूपमा पूजा गर्ने चलन छ, जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुनसक्ने विश्वास पाइन्छ ।

छठपर्वमा अर्घ्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।

त्यस्तै यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरइले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थापन गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

यो पर्वको मुख्य तेस्रो दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेहरुको विभिन्न नदी, तलाउ, पोखरी, जलाशयमा भीड लागेको थियो ।

हेर्नुहोस् केही तस्बिर :

वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु ।
दमौलीस्थित मादी नदी किनारमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्दै भक्तालु ।
बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा अस्ताउँदो सूर्यको पूजा गर्दै स्थानीय ।
बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा अस्ताउँदो सूर्यको पूजा गर्दै स्थानीय ।
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै ।
जनकपुरमा छठ पर्वका लागि तयारी सामग्री ।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा छठ पर्वका लागि सामग्री तयार गर्दै भक्तजन ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ५ : ०६ बजे

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ