एएफसी कप : प्रसंशनीय खेलका बावजूद मनाङको ‘हात’मा शून्य ! | Khabarhub Khabarhub

एएफसी कप : प्रसंशनीय खेलका बावजूद मनाङको ‘हात’मा शून्य !




काठमाडौं– मंसिर अन्तिम साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको विजेता टोली मनाङ—मर्स्याङ्दी क्लबलाई लिगको अन्तिम खेलमा फ्रेन्ड्स क्लबले पराजित गरेको थियो । १३ खेल खेलेको मनाङले लिगमा १२ खेल जिते पनि सातदोबाटोस्थित एन्फा मैदानमा भएको अन्तिम खेलमा फ्रेन्ड्ससँग १—० को हार व्यहोरेको थियो ।

त्यही मैदानमा बुधबार मनाङले पुनः अर्का हार व्यहोरेको छ । घरेलु लिगमा फ्रेन्ड्ससँग पराजित मनाङले बुधबार भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजय भागेको हो ।

लिग च्याम्पियन भएपछि एएफसी कप खेल्ने अवसर पाएको मनाङ आफ्नो पहिलो खेलमा बंगलादेशी क्लब अबहानी लिमिटेडसँग पराजित भयो । यद्यपि, प्रशिक्षक छिरिङ लोप्सान भने खेलाडीको प्रदर्शनलाई ‘चित्त बुझाउने’ खालको रुपमा बुझ्छन् । खेलाडीले राम्रो प्रदर्शन गरेपनि गोल निकाल्न नसक्दा पराजित हुनुपरेको प्रशिक्षक लोप्सानको भनाइ छ ।

बंगलादेशी क्लब अबहानीसँग १—० गोल अन्तरले पराजित भएको मनाङका खेलाडीहरुले खेलको शुरुआती २० मिनेट उत्कृष्ट लय देखाएका थिए । खेलका क्रममा पटक—पटक मनाङका खेलाडीहरुले अबहानीविरुद्ध गोल अवसर पनि सिर्जना गरेका थिए । तर, पाएका गोल अवसरलाई फरवार्ड लाइनबाट सदुपयोग हुन नसक्दा मनाङको भागमा जीत पर्न सकेन ।

‘समग्रमा खेलाडीहरुले राम्रो खेलेका छन् । खेलाडीले खेलेनन् भन्नु हुँदैन । तर, शुरुको २० मिनेटको जस्तो स्पिड खेलको अन्तिमसम्म नरहँदा र गोलका लागि पाएका अवसरको सदुपयोग गर्न नसक्दा पराजय भोग्नु परेको हो,’ प्रशिक्षक लोप्सानले आगामी खेलबारे भने, ‘हामीले यो पहिलो खेल गुमाएका छौं । तर, पनि अझै ५ खेल खेल्न बाँकी रहेकाले अहिले नै समूह चरण पुरा गर्ने सम्भावना सकिएको छैन् ।’

कप्तान विराज महर्जनले पहिलो खेलमा राम्रो तयारी गर्न नपाए पनि खेलाडीहरुले राम्रो खेलेको बताए । मैदानमा गोल अवसर पाएपनि गोल हुन नसकेको उनले स्वीकारे ।

नेपालको शीर्ष क्लब मनाङसँग नेपालका उत्कृष्ट खेलाडी रहँदा बेञ्चमा राखेर विदेशी खेलाडीलाई फरवार्डको जिम्मा दिइएको थियो । प्रशिक्षक लोप्सानले सबै खेलाडी राम्रो भएपनि विदेशी खेलाडीले अभ्यासमा राम्रो गरिरहेकाले टिममा राखिएको बताए ।

अबहानीविरुद्ध मनाङको फरवार्डमा अफिजे ओलाओले र सोमिदे ओलुवाउन्मीले सम्हालेका थिए भने राष्ट्रिय टोलीका स्टाइकर रहेका अञ्जन विष्टले मिडफिल्डबाट खेलेका थिए ।

पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको अबहानीका प्रशिक्षक मारियो लेमोसले मनाङका खेलाडीहरुको प्रसंशा गरेका छन् ।

उनले मनाङका मिडफिल्डर हेमन गुरुङ र विशाल राईको प्रसंशा गर्दै नेपाली टोलीले आफ्नो टिम अबहानीविरुद्ध घरेलु मैदानमा राम्रो खेलेको बताए । ‘पहिलो हाफमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा हामीले पनि राम्रो खेल्यौं । जसले गर्दा तीन अंकजोड्न सक्यौं,’ बंगलादेशी क्लबका प्रशिक्षक मारियोले भने ।

अबहानीका लागि खेलको २८ औं मिनेटमा वाले फैसालको क्रस पासमा मासिह साईघानीले हेडमार्फत गोल गरेका थिए । मनाङविरुद्ध गोल गरेका मासिहले आफ्नो टोलीले भन्दा मनाङले राम्रो खेलेको स्वीकारे । उनले आफ्ना खेलाडीले सकेजति इफोर्ट लगाएर खेलेकाले जीत निकाल्न सफल भएको बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : १२ बजे

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

बैतडी – गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल

श्रीलंकाविरुद्ध नेपालको गोलर्षा, ८-० को फराकिलो जित

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औँजार र

आजका समाचार : विनोद चौधरीलाई ८ बुँदे ‘काउन्टर’, कुलिङ पिरियड विवादले तरंग र हसिनालाई छ महिनाको जेल सजाय

 शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’डलर

कर्णाली विकास बैंक घोटला प्रकरणमा तत्कालीन अध्यक्ष मिश्र पक्राउ

नेपालगञ्ज– नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति मिश्रलाई