तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय « Khabarhub

तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुटदा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग पुनर्गठनमा ढिलाइ भइरहेको छ। संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षका तीन शीर्ष नेताहरूबीच रस्साकसी हुँदा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग तीन महिनादेखि पदाधिकारीविहीन भएको कान्तिपुर दैनिकमा खबर छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ३ महिनाअघि सिफारिस समिति बनेको भए पनि राजनीतिक सहमति नजुटेकाले उसले समेत सिफरिस गर्न सकेको छैन।

केहीअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यी आयोगमा पदाधिकारी नियुक्तिबारे मिलेर अघि बढ्न द्वन्द्वका बेला सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा र तत्कालीन विद्रोही माओवादीका नेता पुष्पकमल दाहाललाई जिम्मा लगाएका थिए। ‘शान्ति प्रक्रियाका मुख्य हिस्सेदार तत्कालीन कांग्रेस र माओवादी नै हुन्,’ ओली निकट एक नेताले भने, ‘त्यसैले स्वाभाविक रूपमा यसको नेतृत्व पनि उहाँहरूकै सहमतिबाट होस् भन्ने प्रधानमन्त्रीको चाहना छ।’

दाहाल र देउवाबीच यसबारे पटकपटक छलफल भए पनि सहमति जुटेको छैन। सहमति जुटाउन कांग्रेसका तर्फबाट मीनेन्द्र रिजाल र रमेश लेखक तथा नेकपाबाट सुवास नेम्बाङ र वर्षमान पुन सम्मिलित कार्यदल पनि बनाइएको थियो। कार्यदलसहितै देउवा र दाहालबीच बैठक भए पनि कसलाई सिफारिस गर्ने भन्ने निष्कर्ष अझै निस्किएको छैन। ‘दुवैका आ–आफ्नै सिफरिस भएकाले निचोड निक्लिन नसकेको हो,’ स्रोतले भन्यो। शान्ति प्रक्रिया शुरुदेखि नै आफ्नै नेतृत्वमा हुँदै आएकाले संक्रमणकालीन न्यायको नेतृत्व पनि आफैंले पाउनुपर्ने कांग्रेसको दाबी छ।

‘स्वाभाविक रूपमा कांग्रेसमाथि भएको अन्तर्राष्ट्रिय समुदायको विश्वासका आधारमा पनि संक्रमणकालीन न्यायको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्छ,’ रिजाल भन्छन्, ‘यसमा नेतृत्व दाबी गर्नु कांग्रेसको अधिकारको कुरा हो।’ यस्तै दाबी माओवादीको पनि छ। ‘त्यसैले सहमति नजुटेको हो,’ स्रोतले भन्यो।

यी दुई आयोगमा ‘आफ्ना पक्षधर’ नियुक्त गर्न देउवा र दाहालबीच होड चल्नुको मुख्य कारण हो, द्वन्द्वकालीन घटनाका दोषीलाई दिने सजाय र त्यसको विधिका विषयमा मुख्य दलहरूबीचको विवाद। यही विवादका कारण अन्तरिम संविधान २०६३ मा दुई वर्षभित्र सक्ने भनिएको सत्यनिरूपण तथा मेलमिलापको काम १३ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन।

नयाँ पदाधिकारी छनोट गर्न बनेको समितिले समेत आफ्नो कार्यादेशअनुसार सिफारिस नगरी नेताहरूको मुख ताकिरहेको छ। यसका अतिरिक्त दलहरूबीच सत्य निरूपणसम्बन्धी ऐनको संशोधन कसरी गर्ने भन्नेबारे पनि सहमति हुन सकेको छैन। हत्या, अपहरण, बलात्कार र यातनाजस्ता मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरूका दोषीलाई कुनै हालतमा आममाफी दिन नपाइने गरी संक्रमणकालीन न्यायसम्बन्धी बनेको ऐन संशोधन गर्नुपर्ने सर्वोच्च अदालतको फैसला छ। एक वर्षअघि कानुन मन्त्रालयको अगुवाइमा द्वन्द्वकालीन घटनाका दोषीलाई सांकेतिक सजाय दिने गरी ऐनको संशोधन मस्यौदा तयार पारिएको थियो। त्यसको पीडितहरूले विरोध गरेपछि सरकारले संसद्मा पेस नगरी अर्को संशोधन मस्यौदाका लागि तयारी गरेको नेता लेखकले बताए।

‘त्यस बेला हामीले संशोधन गर्नुपर्ने २०/२२ बुँदा टिपोट पनि गरेका थियौं, तर त्यसपछि कुनै पहलै हुन सकेन,’ उनी भन्छन्, ‘किन हो कुन्नि, छलफलै भइरहेको छैन।’

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : १६ बजे

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट