लमजुङमा बन्ने भयो ‘स्मार्ट फिल्म सिटी’, एकैपटक १६ वटा फिल्म छायांकन गर्न सकिने | Khabarhub Khabarhub

लमजुङमा बन्ने भयो ‘स्मार्ट फिल्म सिटी’, एकैपटक १६ वटा फिल्म छायांकन गर्न सकिने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लमजुङ – लमजुङको बेंशीसहर नगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माण हुने भएको छ । पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको ‘स्मार्ट फिल्म सिटी’का लागि बुधबार (आज) नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालीयन निर्माण कम्पनी वर्ल्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ ।

निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा रहेको स्मार्ट फिल्म सिटी हुनेछ । सो क्षेत्र दुई हजार ६० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइमा रहनेछ ।

विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्यसहित उक्त परियोजना सञ्चालनका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नोरिल्लोबीच आज काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको उक्त समारोहमा आफ्ना भनाइ राख्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको प्रतिक्रिया दिए । झण्डै छ अर्बको लगानीमा निर्माण हुने फिल्म सिटीको डिपिआरको काम आगामी तीन महिना भित्रमा शुरु गर्ने परियोजना संयोजक राजेशकुमार पुरीले बताए । उनका अनुसार बढीमा सात वर्षमा परियोजना सम्पन्न हुने लक्ष्य छ ।

उक्त परियोजनाअन्तर्गत १६ वटा चलचित्र छायाङ्कन स्थल निर्माण गर्न सकिने भए पनि पहिलो चरणमा भने १२ वटा निर्माण गरिने जनाइएको छ । परियोजनाभित्र तारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्ग्यानिक फार्म, विभिन्न खेलकूदस्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमूनाका रुपमा निर्माण गरिनेछ ।

‘वर्ल्ड स्काइ सिने भिलेज नेपाल’को नाममा निर्माण हुने फिल्म सिटीमा विश्वस्तरको प्रविधि प्रयोग गरेर फिल्म छायाङ्कन गर्ने स्टुडियो बनाइनेछ । हिमालको अगाडि गल्फ, बञ्जीजम्प, प्याराग्लाइडिङ र स्वीमिङ पुलसमेत बन्नेछ ।

यस्तै काठमाडौँका महत्वपूर्ण धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदा जस्तै भौतिक संरचना बनाइने स्काइ इन्टरटेनमेन्ट प्रालि नेपालका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

अधिकारीले भने, ‘नेपालमा कुनै अत्याधुनिक प्रविधिको छायाङ्कन स्थल छैन, जसका कारण विदेशी चलचित्रकर्मी अर्कै देश जान बाध्य छन्, फिल्म सिटीले उनीहरु यहाँ आएर पूर्ण फिल्म निर्माण गर्न सक्ने छन् ।’

उनले परियोजना सम्पन्न भएपछि आउट डोर र इन्डोर सबै छायाङ्कन गर्न सकिने पनि बताए । यस्तै दुई कम्पनीबीच एशिया क्षेत्रको व्यवस्थापन नेपाली कम्पनीले र अन्य मुलुकको व्यवस्थापन इटालीयन कम्पनीले गर्नेसमेत सहमति भएको उनले जानकारी दिए ।

वर्ल्ड एरिया होल्डिङ एसआरएल इटालीका अध्यक्ष फ्रान्सिस्कोले सम्झौतापछि सङ्क्षिप्त भनाई राख्दै पहिलो घर रोम रहेको र अब दोस्रो घर नेपाल बन्न लागेको उल्लेख गर्दै नौलो परिवेसमा प्रवेश गरेकामा खुशी समेत व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले राष्ट्रिय चलचित्र उद्योगमा एउटा नयाँ आयाम भएको उल्लेख गर्दै दोलखाको जस्तो हुन नहुनेमा जोड दिए । इटाली आफैँमा पनि चलचित्र उद्योगको अग्रणी देश भएको स्मरण गर्दै उनले त्यस्तो देशको लगानी भित्रिनु आफैँमा महत्वपूर्ण रहेको बताए । उक्त फिल्म सिटीको सांस्कृतिक र व्यापारिक महत्व ठूलो रहेकोसमेत उनको भनाइ थियो ।

स्थानीय तहको पूर्ण सहयोग

उक्त फिल्म सिटी बेंसीशहर नगरपालिका वडा नं ३, ४, ५ र ९ मा पर्ने नगरप्रमुख गुमानसिंह अर्यालले बताए । फिल्म सिटी बन्न लागेकामा खुशी व्यक्त गर्दै उहाँले प्राकृतिक दृष्यावलोकनका लागिसमेत उपयुक्त स्थान रहेको जानकारी दिए ।

उनका अनुसार गाउँशहर, पुरानोकोट र बाख्रेजगत गाउँको नजिक फिल्म सिटी बन्दैछ । उक्त ठाउँबाट १४ वटा हिमाल नजिकबाट नियाल्न सकिन्छ । यहाँबाट अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, बुद्ध हिमाल, हर्कपिक, धौलागिरि, लमजुङ हिमाल देखिन्छ । शाह वंशको उद्गमस्थल लमजुङ दरबार नजिकै छ ।

यसले राष्ट्रका लागि मात्रै नभई विश्वस्तरमा समेत राष्ट्रको गौरव बढाउने उहाँको विश्वास छ । “सबै राजनीतिक सहमति गरेर, नगर परिषद्लेसमेत फिल्म सिटी निर्माणका लागि अनुमति दिने निर्णय गरेको छ, विधि र प्रक्रियामा स्थानीय तहको सकारात्मक सहयोग रहन्छ, कुनै विवाद आउने छैन,” प्रमुख अर्यालले भने ।

नेपाली फिल्मी क्षेत्रका लागि ‘माइल स्टोन’: मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लमजुङमा बन्ने ‘स्मार्ट फिल्म सिटी’ नेपालको चलचित्र क्षेत्रकै लागि ‘माइल स्टोन’ भएको बताएका छन् ।

सरकारले हालसालै ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ भन्ने योजना अघि सारेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले त्यसका लागि पनि यो एउटा शुभ खबर भएको उनको भनाइ थियो । नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबले धनी र सुन्दर रहेको र यो सुन्दरतालाई विश्वसामु जोड्न यसले पुलका रुपमा काम गर्ने उनले बताए ।

“हाम्रोतर्फबाट स्वागत छ, समयमा काम सम्पन्न गरोस्, यसलाई कसैले पनि चुनौती र दुःख नदिउँ, असल सन्देश दिउँ”, मन्त्री बाँस्कोटाले भने । यसमा कुनै समस्या आए सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे

उनले अगाडि भने, “पहिला–पहिला हलिउड र बलिउडको कुरा सुनिन्थ्यो, अब नेपाल एउटा स्मार्ट या कलिउड भयो, यो पक्के टेबलमा मात्रै थन्कने छैन ।”

उनले औपचारिक पत्र प्राप्त भएको १५ दिनमा कुनै दुर्घटनामा नपरिकन चितुवाको गतिमा काम भएको समेत बताए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : ५३ बजे

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन

सहकारीका प्रबन्धकलाई कुटपिट आरोपमा वडाध्यक्षसहित पाँचजना पक्राउ

तनहुँ– जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई

लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति 

लस एन्जलस- अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा परी कम्तीमा

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

 महोत्तरी- जनयुद्धको  विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरू एक ठाउँमा

न्यायाधीशसँग रविको आग्रह : तारेखमा छुट्न पाए सहकारी पीडितलाई न्याय दिन्थेँ

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय