माथिल्लो त्रिशूली थ्री ‘ए’निर्माण सम्पन्न भएपछि कुलमानले भने–बल्ल खुशीको अनुभूति गर्न पाएको छु | Khabarhub Khabarhub

माथिल्लो त्रिशूली थ्री ‘ए’निर्माण सम्पन्न भएपछि कुलमानले भने–बल्ल खुशीको अनुभूति गर्न पाएको छु


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफै‌ ले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ ।

त्यसकाविपरीत पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ । राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन् । एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्दछ । कुनै समय देशबाट विद्युत्भार कटौतीको अन्त्य हुन्छभन्दा धेरैले पत्याएका थिएनन् । धेरैले नपत्याएको त्यो काम सम्भव भयो ।

समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो । जटिल समस्यामा फसेको आयोजनालाई सफल बनाउनुपर्छ भन्ने हिम्मतका साथ एकाध मान्छे मात्रै ताते भने पनि जटिलताको चक्रव्यूहमा फसेका आयोजनालाई उर्तान सक्छन् भन्ने तथ्य पुनः स्थापित भएको छ ।

कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटकपटक म्याद थप । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण । र, समयमै सम्पन्न गर्ने उद्घोष पनि । तर आयोजनाले गति लिन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन ।

समय बदलियो, सबै खालका विवादसमेत समाधान भयो । प्राधिकरणले पनि नयाँ नेतृत्व पायो । सरकारले आयोजनामा कुनै पनि खालको अवरोध हुन नदिने दृढता व्यक्त गर्‍यो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गराउन हर प्रकारको सहयोग उपलब्ध गरायो । जसका कारण लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरुपमा निर्माण सम्पन्न भएको छ ।

आयोजनाको पहिलो युनिट भने गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ ।

लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ । झण्डै रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामयावी परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना आज औपचारिकरुपमा सम्पन्न भएको छ ।

आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अभियानको नेतृत्व गर्न शनिवार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थल नै पुगे । प्राधिकरणका कर्मचारी, निर्माण व्यवसायी र परामर्शदातासँग खुशी साटे ।

आयोजनास्थल नुवाकोट र रसुवाको सीमामा पुगेका घिसिङले भने“दैनिक जसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रश्न, सार्वजनिक सरोकार राख्ने निकायको चासो, आयोजनाका कर्मचारीको मेहनत र प्राधिकरणको निरन्तरको प्रयासपछि आज बल्ल खुशीको अनुभूति गर्न पाएको छु ।”

‘गोरखा भूकम्प’ पछि सबैभन्दा जटिल समस्यामा फसेको आयोजना शुरु गर्न नै ठूलो मेहनत परेको स्मरण गर्नुहुन्छ घिसिङ । निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम लगाउनु नै सबैभन्दा गाह्रो काम थियो ।

इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) सँग ठेक्का सम्झौता भएको थियो । भूकम्पले बाँधस्थलमा सबैभन्दा ठूलो समस्या पारेको थियो । पहुँचमार्ग भूकम्पले ध्वस्त बनाएको थियो । जिम्मेवारी लिन कोही तयार नभएका बेला नेपाली सेनाले पहुँचमार्ग बनाइदियो ।

निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम गराउनदेखि हरेक दिन के भइरहेको छ भन्ने चासो राख्नेदेखि हरेक महीनाजसो आयोजनास्थल पुगेर आयोजनालाई सफल बनाएको विवरण सुनाउँछन् घिसिङ ।

बुधबारदेखि शुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ । केही दिनपछि व्यावसायिक उत्पादन शुरु हुनेछ । आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक रु एक करोड ५० लाख बराबरको कमाइ गर्न थाल्छ । राजधानी काठमाडौँको विद्युत् वितरणलाई थप विश्वसनीय बनाउनसमेत बल पुग्नेछ ।

कुलेखानी तेस्रोको पनि काम सकिएपछि प्राधिकरणले रुग्ण आयोजना पालेर बसेको छ भन्ने गुनासो पनि सकिनेछ । प्राधिकरण अब साना आयोजनामा होइन ठूला आयोजना ‘छलाङ’ हान्दैछ । घिसिङ भन्छन्, “क्रोनिक बनेका आयोजना सम्पन्न भएको छ । अब हामी केही ठूला परियोजना अगाडि बढाउने अवस्थामा पुगेका छौँ । नयाँ आयोजना शुरु गर्न पनि बल मिलेको छ ।”

माथिल्लो त्रिशूली थ्री एको विद्युत्ले राष्ट्रियरुपमा आठ प्रतिशतको हिस्सा राख्दछ । यस्तै प्राधिकरणको मात्रै हिसाब गर्ने हो भने २० प्रतिशतको हाराहारीमा पुग्छ । सानो मेहनत परेको छैन आयोजना सम्पन्न गर्न । आधा दर्जन मन्त्री, सोही सङ्ख्यामा सचिवको चासो, प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालयसम्मको निगरानी । संसदीय समितिको पनि उस्तै तिखो नजरको सामाना गरेर आयोजना सफल बनाएर उत्साहित देखिएका घिसिङले भने, “मलाई बल्ल खुशी हुने स्थानमा आइपुगे जस्तो लागेको छ ।”

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : २९ बजे

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्