मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ ।
नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आज दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए ।
‘माथिबाट चट्टानबीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौँ’, उनले भने ।
गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले चााडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन आवश्यक भएको बताउनुभयो । यसबाट पर्यटक बढी प्रभावित बनेका उनले बताए । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली लागिपरेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताए । अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उनले बताए ।
मर्स्याङ्दी करिडोरअन्तर्गतको सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भासिने तथा पहिराको जोखिम बढ्ने गरेको छ ।












प्रतिक्रिया