क्यान्सर जितेकी सपनाको संघर्षको कथा « Khabarhub

क्यान्सर जितेकी सपनाको संघर्षको कथा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । क्यान्सर रोग केही होइन, समयमै अस्पताल पुग्यौं भने उपचार सम्भव छ । यसका कैयौं उदाहरण छन् । नेपाली चेली अर्थात बलिउड चर्चित नायिका मनिषा कोइरालाले क्यान्सरबाट उन्मुक्ति पाएपछि अहिले क्यान्सर विरुद्धको अभियानमा सरिक हुँदै आएकी छिन् ।

सरकारले समेत क्यान्सरको उपचारमा सहुलियत प्रदान गर्दै आएको छ ।  हुने खानेहरुले डरलाग्दा रोगहरु पनि निको पार्न लाखौं खर्चिने ल्याकत राख्छन् । तर, हुँदा खानेहरुका भने सयौं पीडा हुन्छन् । स–साना रोगहरुबाट नै उनीहरु ज्यान गुमाउने खतरामा पुग्छन् । यसका पछाडि समयमै रोगबारे जानकारी नहुनु पनि प्रमुख कारण हो ।

क्यान्सर जस्तो डरलाग्दो रोगबारे समयमै उपचार गरी नयाँ जीवन पाएका धैरै छन् । उनीहरुमा दृढ आत्मविश्वास पलाएको पाइन्छ । यस्तै आत्मविश्वासका साथ अघि बढिरहेकी प्रतिनिधि पात्र हुन्– सपना रानामगर । उनको उज्यालो अनुहार देख्दा कसैले पनि उनीहरुलाई यसअघि क्यान्सर रोग लागेको थियो भनेर विश्वासै गर्न सक्दैन । तर एक भेटमा सपनाले आफ्नो जीवन संघर्षको दुखदायी पाटाे यसरी पस्किइन् ।

पीडामा पिल्सिए पनि साहसको सपना पाल्दै संघर्ष गरिरहेकी सपनाको कथा कुनै सपना भन्दा कम थिएन । क्यान्सरबाट मुक्ति पाउँदाको मुस्कान मुहारमा देखिए पनि अन्तरआत्मामा नाबालक छोरो गुमाउँदाको पीडा दबिएकै छ । माइती घर धरान भएकी सपनाको घर सिन्धुली हो । उनी अहिले काठमाडौंमा ब्यूटीपार्लर खोलेर आफूलाई व्यस्त बनाउँदै पीडा भुल्ने कोसिशमा छिन् ।

‘छोराको टाउकोबाट शुरु भएको सानो गिर्खा (क्यान्सर रोगको एउटा प्रारम्भिक लक्षण) बढ्दै कुमसम्म पुग्यो, उपचारका लागि कुनै कसर बाँकी राखिनँ । नेपालमा क्यान्सरको उपचारका लागि उपयुक्त अस्पताल नपाउँदा एक्लै दिल्ली पुगेर पनि सक्दो कोशिस गरेँ । दैवको लिला जीवन बचाउन सकिनँ,’ गहभरी आशुपार्दै उनले सुनाइन् । उनले थपिन– ‘चार वर्षको उमेरमा देखिएको क्यान्सरसँग झण्डै तीन वर्षसम्म लड्यो छोराले । सायद समयमै उपचार नपाउँदा उस्ले जित्न सकेन क्यान्सरलाई ।’

छोरो गुमाउँदाको पीडा विस्तारै बिर्सिदै गर्दा पुनः त्यही रोग देखियो उनीमाथि । फरक थियो त केबल छोरालाई बोनम्यारो र उनलाई स्तन क्यान्सर । आफूलाई क्यान्सर भएको विषयमा शुरुमा उनी अनभिज्ञ थिइन । क्यान्सरको गिर्खा पलाउँदै गरेको समेत थाहा थिएन उनलाई ।

उनी सम्झिन्छिन्– ‘एक दिन साथीको पार्टीमा जान तयारी हुँदै गर्दा कपडा लगाउने बेला थाहा भयो त्यो गिर्खाबारे । छाम्दा गिर्खा लाग्थ्यो, तर दुख्दैनथ्यो । सामान्य होला, ठिक हुन्छ भन्दै पार्टीमा गएँ । मनमा अनेक तर्कहरु उब्जिए । कत्तिखेर चेकजाँच गर्ने भन्दै अर्को दिनको प्रतिक्षामा बसेँ ।

भोलिपल्ट ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेँ– चेकजाँचका लागि । चेकजाँच पश्चात जे नसोचेको रिपोर्ट त्यही आयो– लक्षण क्यान्सरकै थियो ।’

त्यो बेला उनको रिपोर्ट हेर्दा क्यान्सरको पहिलो स्टज देखिएको थियो उनीमा । झन पीरको भारी थपियो, अस्पतालको निगरानीमा बस्नुपर्ने उनी रोग चाडो निको पार्ने मनसाय पालेर धाइन्– आयुर्वेदतर्फ ।

उनी आयुर्वेद औषधालय जानुको अर्को कारण थियो–उनलाई गलत सुझाव र सल्लाह दिने एक साथी । ती साथीले उनको मानसपटलमा के गलत धारणा भरिदिइन् भने स्तन काटेर फ्याकेको मान्छे धेरै बाँच्दैनन् । आयुर्वेदमा जाउ ठिक हुन्छ ।

मृत्युसँग नडराउने सायदै नहोलान् । उनको मनमा पनि यस्तै कुरा खेलेपछि सोही सल्लाह बमोजिम उनी नयाँ बसपार्कस्थित एक आर्युवेद औषधालयमा पुगिन् । क्यान्सर अस्पतालबाट आएका फोन समेत रिसिभ गरिनन् । आयुर्वेदिक औषधिमा पैसा खर्च गरिन् झण्डै तीन–चार लाख ।

रोग निको हुनुको सट्टा झन बढ्दै गयो । पार नलाग्ने देखिपछि उनी पुनः उही पहिलेकै अस्पताल पुगिन् । दोस्रो पटक अस्पताल पुग्दा क्यान्सर दोस्रो स्टेजमा पुगिसेकेको परीक्षण रिपोर्टले देखायो । छाँगाबाट खसेजस्तै भयो । गलत सुझावका कारण रोजेको बाटोप्रति आत्मग्लानी भयो ।

‘पहिलो पटकदेखि नै अस्पतालको निगरानीमा बसेको भए सायद गिर्खा मात्र काटे हुन्थ्यो, तर अंग नै गुमाउनुपर्दैनथ्यो होला’, उपचारमा संलग्न डाक्टरले सुझाए ।

त्यसपछि उनी प्रत्यक्ष अस्पतालको निगरानीमा तीन वर्षसम्म उपचार गरिन् । यो अवधिमा उनले चार पटकसम्म केमो थेरापी गरिन् । हिम्मत हारेकी छैनन् । साथमा रहेकी छोरीको साहारामा सपना बुनिरहेकी छिन् । उनी भन्छिन्– ‘क्यान्सरलाई जित्न सकिन्छ । साहस मात्र होइन समयमै उपचार गर्नुपर्छ ।’

हालै काठमाडाैंमा आयोजना भएको सन्देशमूलक ‘सुदिप्त क्यान्सर सर्भाइभर ¥याम्प शो’मा समेत उनले आफूलाई सामेल गराइन् । उनी लगायतको टोलीलाई कोरियोग्राफर डली गुरुंङले क्याटवाकमा उतारेकी थिइन् । त्यसो त गुरुङ पनि क्यान्सरलाई जितेकी एक दृढ, साहसी र सफल व्यवसायी मात्रै नभई नेपालकै पहिलो मोडेल पनि हुन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : ०३ बजे

मधेसमा महिला हिंसा : घटनाको ग्राफ बढे पनि उजुरी बढेन

सप्तरी – उदयपुरको बेलका नगरपालिका–२ भागलपुरकी मेनुका चौधरी ०७५ सालमा

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट – कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित 

काठमाडौँ – राप्रपा र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच

मुख्यमन्त्री राईद्वारा दशैँको शुभकामना

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम