एउटै ‘नहर’ ले समृद्धिको यात्रामा पानामा « Khabarhub

एउटै ‘नहर’ ले समृद्धिको यात्रामा पानामा



पानामाको नाम सुन्नेबित्तिकै धेरै मानिसहरुले ‘ट्याक्स हेवन’ को रुपमा चिन्ने गर्छन् । जहाँ कर तिर्न पर्दैन भने सम्पत्ति लुकाउने सुरक्षित देशको रुपमा लिने गरिन्छ ।

खोज पत्रकारहरुको विश्वव्यापी संस्थाले सन् २०१६मा पानमा पेपर्सको नाममा एक दस्तावेज सार्वजनिक गरेको थियो । सुड्डस्चय जैटुङ नामक जर्मन पत्रिकाबाट उक्त दस्तावेज सार्वजनिक भएको थियो । उक्त दस्तावेजमा विश्वका धेरै देशका राजनीतिज्ञ, व्यापारी, उच्चपदस्थ अधिकारी, कलाकारलगायतका व्यक्तिहरुले अवैध र अकूत रुपमा सम्पत्ति लुकाएको खुलासा गरेको थियो भने यसका कारण कयौं देशमा तहल्का मच्चिएको थियो ।  पानामा ‘ट्याक्स हेवन’ को रुपमा मात्र विश्वमा चर्चामा छैन ।

आन्ध्र महासागर र प्रशान्त महासागरलाई जोड्ने पानामाको नहर भूरणनीतिक हिसावमा विश्वको सबैभन्दा महत्वपूर्ण क्षेत्रमा पर्छ ।

यो नहर भएर हरेक वर्ष हजारौंको सङ्ख्यामा व्यापारिक पानीजहाज प्रशान्त महासागरबाट आन्ध्र महासागर र आन्ध्र महासागरबाट प्रशान्त महासागर आवतजावत गर्छन् । पानामा नहर रहेको मुलुकको आर्थिक समृद्धिको गाथा पनि उत्तिकै महत्वपूर्ण छ । पानामा ल्याटिन अमेरिकाको सबैभन्दा तीब्र आर्थिक बृद्धिदर रहेको मुलुकको सूचीमा आउँछ । विश्व बैंकको तथ्याङ्क अनुसार पानामामा पछिल्लो ५ वर्षभित्र ५.६ प्रतिशतको आर्थिक बृद्धिदर छ ।

इतिहास

अमेरिकी सहयोगमा पानामाले सन् १९०३ को नोभेम्बर ३ मा मा कोलम्बियाबाट एकतर्फी स्वतन्त्रताको घोषणा गर्यो । त्यसको तीन दिन पछि अमेरिकी कंग्रेसले पानामालाई स्वतन्त्र मुलुकको मान्यता दियो । नवघोषित मुलुकको आर्थिक अवस्था दयनीय नै रहेको थियो । पानामा टुक्रिनुअघि तत्कालिन समयमा कोलम्बियाको आर्थिक केन्द्र बोगोटा तथा दक्षिण अमेरिकी क्षेत्रमा मात्र केन्द्रित रहेको अवस्थामा पानामाले स्वतन्त्रताको घोषणा गर्नु कम चुनौतिपूर्ण थिएन ।

सोही वर्षको नोभेम्बर १८ मा पानामाको इस्थुमसमा रहेको भागमा नहर बनाउनका लागि तत्कालिन अमेरिकी विदेशमन्त्री जोन हे तथा पानामाका प्रतिनिधि फिलिपे बुनाऊ–भरिलाले सन्धी गरे । हे—बुनाऊ–भरिलाको सन्धीअनुसार अमेरिकाले पानामाको स्वतन्त्रताको रक्षा गर्ने, तत्कालै १ करोड अमेरिकी डलर दिने र अर्को ९ वर्षपछि हरेक वर्ष २ लाख ५० हजार अमेरिकी डलर दिने र त्यसको बदलामा पानामाले आन्ध्र महासागर र प्रशान्त महासागरको बीचमा रहेको पानामाको इस्थुमसको साँघुरो भागमा नहर बनाउनका लागि त्यसको प्रशासन अमेरिकालाई दिने सहमति भयो । सन् १९०४ मा दुबै मुलुकका सरकारले उक्त सन्धीलाई अनुमोदन गरे । स्वतन्त्रता पाएको मुलुकले आफ्नो आर्थिक अवस्थालाई हेरेर तत्कालै १ करोड र हरेक वर्ष २ लाख ५० हजार अमेरिकी डलर पाउनु त्यसबेलाका लागि महत्वपूर्ण नै थियो ।

त्यसपछि सन् १९१४ मा अमेरिकी प्रशासन अन्तर्गत रहनेगरी पानामाको नहर निर्माण भयो । नहरको निर्माण भइसकेपछि त्यसबेला बढ्दो औद्योगिकीकरण र अन्तर्राष्ट्रिय व्यापारका कारण पानामाको नहरमा पानीजहाजको आवतजावत पनि बढ्दै गयो । तर, पानामाको नहरमा अमेरिकाको प्रशासन रहेका कारण त्यहाँबाट उठेको कर सबै अमेरिकातर्फ जाने भएकाले पानामाले आफ्नै मुलुकमा निर्माण भएको नहरबाट कुनै पनि किसिमको आर्थिक लाभ भने लिन सकेन ।

त्यसपछि त्यहीँ काम गर्ने अमेरिकी नागरिक र पानामाका स्थानीय नागरिकको जीवनस्तरमा पनि ठूलो खाडल देखिन थाल्यो भने पानामामा राष्ट्रवादी विचारका नेताहरु मूलधारमा आउन थाले । त्यसबाहेक पानामाको स्वतन्त्रताको रक्षा गर्न भन्दै पानामामा अमेरिकी सैनिक अखडाहरु पनि एकपछि अर्को गरी निर्माण हुन थाले ।

यसपछि अमेरिकी नियन्त्रणमा रहेको पानामा नहरमा काम गर्ने अमेरिकीले र पानामाका नागरिकमाथि हुने गरेको विभेद तथा अमेरिकाको संरक्षकत्वमा सार्वभौम मुलुक रहन नसक्ने आवाज उठ्दै गयो । यससँगै अब पानामा अमेरिकाको संरक्षकत्वमा रहने भन्दा पनि पूर्ण रुपमा स्वतन्त्र हुनुपर्ने आवाज चर्किदै गयो । पानामामा नहरबाहेक अन्य कुनै श्रोत नभएका कारण पानामाको आर्थिक अवस्थामा खासै परिवर्तन आउन सकेन ।

त्यसबाहेक त्यहाँका आदिवासी स्थानीय रेड इण्डियनहरुले अधिक आत्मनिर्णयका लागि पनि आवाज उठाउन थाले । यसबाट अमेरिकामा त्यसबेला रहेको फ्राङ्कलिन डिलानो रुजवेल्टको प्रशासनमाथि पानामालाई आफ्नो संरक्षकत्वबाट मुक्त गरी आफ्नै जिम्मामा छाड्न दबाब बढ्यो भने दोश्रो विश्वयुद्ध संघारमा रहेकाले उनले आफ्नो ध्यान त्यसतफै पु¥याउन ‘गुड नाइबर पोलिसी’ अर्थात् आदर्श छिमेकी नीति अघि सारे ।

सन् १९३८ मा रुजवेल्टले अन्तर अमेरिकी सम्मेलनको आयोजना गर्दै पानामालाई अमेरिकी संरक्षकत्वबाट पूर्ण रुपमा सार्वभौमिकता दिने बाचा गरे । त्यसअनुसार सन् १९३९ मा पानामा अमेरिकी संरक्षकत्वबाट मुक्त भयो । तैपनि पानामाको नहरबाट अमेरिकी नियन्त्रण फिर्ता भएन ।

दोश्रो विश्वयुद्धका समयमा पानामाको नहरबाट पानीजहाजको आवत–जावत पनि बढ्दै गयो । त्यसबेला त्यहाँ भ्रष्टाचार र अरु अनेक कारणले कुनै उद्योग वा व्यावसायिक क्षेत्रको विकास हुन सकेन । पानामाको अर्थतन्त्र विदेशी सहयोग र केरा, उखु, कफी लगायतका कृषि उपजमा मात्र सिमित थियो । केही घरेलु उद्योगको विकास भएपनि त्यसले पानामाको अर्थतन्त्रमा कुनै उल्लेखनीय योगदान भने दिन सकेको थिएन ।

सन् १९६८ मा पानामाको सेनाका जनरल ओमर टोरियोस हरेराले निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन शुरु गरे । यो अवधीमा पानामाको अवस्थामा कुनै आमूल परिवर्तन आइसकेको थिएन भने गरीब एवं पिछडिएको मुलुकको सूचीमा पानामाको नाम अगाडी आउने गरेको थियो । निर्वाहमुखी कृषि अर्थतन्त्र, ठूला उद्योगको विकास हुन नसक्नुलगायतका कारणले पानामाको आर्थिक अवस्था राम्रो थिएन । आर्थिक क्षेत्रको ठूलो हिस्सा केही मानिसहरुको नियन्त्रणमा मात्र थियो ।

ओमर हरेराले आफ्नो कार्यकालमा पानामाको अर्थतन्त्रलाई केही सुधारको प्रयास गरे । उनले त्यहाँका धनीवर्गका मानिसहरुलाई राजनीतिक मूल प्रवाहमा आउन दिएनन् भने धनीवर्गमाथि उच्च कर लगाउने, समाजको तल्लो तहमा रहेका मानिसहरुको जीवनस्तर सुधार्नका लागि उद्योगहरुको स्थापना गर्ने इत्यादी योजना अघि सारे । त्यसबेला पानामाको अर्थतन्त्र केही सुधारोन्मुख देखिएको थियो ।

उनैले तत्कालिन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरसँग सन्धीअनुसार सन् १९९९ सम्म पानामाको नहर पूर्ण रुपमा पानामाको एकल स्वामित्वमा जाने गरी सन् १९७७ मा सन्धी गरे । सन्धी अनुसार त्यस उपरान्त पानामा नहरको प्रशासन अमेरिका र पानामाका प्रतिनिधिसम्मिलित बेग्लै आयोगको गठन गर्ने सन् १९९९ पछि पानामाले नहरको स्वामित्वको जिम्मा लिनका लागि बेग्लै निकाय गठन गर्ने सहमति भयो ।

सन् १९८१ मा सैनिक सरकार ओमर टोरियोस हरेराको विमान दुर्घटनामा मृत्यु भयो । उनको मृत्युपछि सत्तामा आएका जनरल म्यानुअल नोरिएगाको शासनकालमा पानामामा खुल्लमखुल्ला गुण्डाराज शुरु भयो । गृहयुद्धमा फसेका अरु ल्याटिन अमेरिकी मुलुकमा हतियार तस्करी गर्ने, कोलम्बियाबाट लागूऔषध तस्करी गरी अमेरिका पठाउने लगायतका काममा उनको संलग्नता रह्यो ।

उनको तानाशाही शैलीको शासन विश्वभर कुख्यात थियो । त्यसबेला न त पानामामा कुनै आर्थिक विकास भयो, बरु भएका केही आर्थिक संरचना पनि नराम्ररी बिग्रिन पुग्यो ।

उनीविरुद्ध कोलम्बियाली लागूऔषध तस्करसँग साँठगाँठ रहेको र अमेरिकातर्फ लागूऔषध तस्करी गरेको अमेरिकामा अभियोग समेत लाग्यो ।

सन् १९८९ मा त्यहाँ भएको संसदीय निर्वाचनको नतिजालाई अमान्य घोषणा गरेपछि म्यानुअल नोरिएगाविरुद्ध अमेरिकाले पानामामा सैनिक आक्रमण गर्यो । त्यसपछि पानामामा लोकतान्त्रिक राजनीतिक प्रणालीको पुनःस्थापना भयो । योसँगै पानामाले आफ्नो मुलुकको सेना उन्मुलन गर्यो भने प्रतिस्पर्धात्मक खुला बजार अर्थतन्त्रलाई प्रोत्साहन गर्यो ।

चीन र अमेरिकाको प्रतिष्पर्धाले पानामालाई फाइदा

सन् १९९९ मा पानामा नहरको सम्पूर्ण नियन्त्रण पाएपछि पानामाको अर्थतन्त्र सुधार हुन लाग्यो । पछिल्लो समय चीन र अमेरिकाबीच व्यापारिक प्रतिस्पर्धा बढिरहेका बेला पानामाले नहरबाट ठूलो मात्रामा फाइदा लिँदै आएको छ । पानामाले नहरको आयलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आएको छ भने विदेशी लगानी, सेवाक्षेत्र, पर्यटन, पानीजहाज दर्ता इत्यादीलाई पनि प्रोत्साहन गर्दै आएको छ ।

यसबाट पानामाले पछिल्ला केही दशकयता तीब्र आर्थिक विकास गर्दै आएको छ भने आफ्ना नागरिकको जीवनस्तरलाई पनि माथि उठाउँदै लगेको छ । हाल पानामाको अर्थतन्त्र खासगरी सेवाक्षेत्रमा टिकेको छ । बीमा, बैंकिङ, पर्यटन लगायतका क्षेत्रमा विदेशबाट लगानी आउने गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : ०८ बजे

पश्चिम बङ्गालमा बम विस्फोट हुँदा त्रिणमूल कंग्रेसका नेतासहित ३ जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिम बङ्गाल राज्यमा शनिबार राति बम विस्फोट हुँदा

दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न

काठमाडौँ- काठमाण्डौँमा आयोजित दिगो पर्वतीय विकास सम्मेलन सम्पन्न भएको छ

रोल्पाको सुन्तला दाङको बजारमा

काठमाडौँ- रोल्पाको माडी गाउँपालिका–५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि

आईसीसी क्रिकेट विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ– नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार