१३ घण्टाको अन्तरालमा २ गोलीकाण्ड – अमेरिकाको बन्दुक संस्कृतिले हद पार गरेको हो ? « Khabarhub

१३ घण्टाको अन्तरालमा २ गोलीकाण्ड – अमेरिकाको बन्दुक संस्कृतिले हद पार गरेको हो ?



अमेरिकाको दक्षिणी राज्य टेक्ससको एल पासो शहरमा २० जनाको ज्यान लिने गरी गोलीकाण्ड भएको १३ घण्टालगत्तै उत्तरी राज्य ओहायोको डेयटन शहरमा अर्को गोलीकाण्ड मच्चियो । डेयटन शहरको एक बारमा भएको बन्दुक आक्रमणमा ९ जनाको ज्यान गएको छ ।

टेक्सस राज्यको एल पासो शहरमा रहेको वालमार्ट स्टोरमा गोली चलाउने बन्दुकधारी २१ वर्षे प्याट्रिक क्रुसियसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता डेयटन शहरको एक बार अगाडि गोली चलाउने बन्दुकधारी घटनास्थलमा मारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

डेयटन शहरमा भएको गोलीकाण्डको उद्देश्य र बन्दुकधारीको पहिचान सार्वजनिक हुन बाँकी छ । तर, एल पासो शहरमा गोली चलाउने बन्दुकधारी भने गोरा जातीको उग्रवादी रहेको र उसले गोली चलाउनुअघि गोप्य इमेजबोर्ड ८ चान वेबसाइटमा आफ्नो अत्यन्त घृणास्पद घोषणापत्र सार्वजनिक गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त घोषणापत्रमा ती बन्दुकधारीले गत मार्चमा न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा ५१ जनाको ज्यान जाने गरी गराइएको आक्रमणमा संलग्नको पनि प्रशंसा गरेका छन् । यद्यपि केही घण्टाको अन्तरालमा उत्तरी राज्य ओहायो र दक्षिणी राज्य टेक्ससमा भएका दुई घटना एक अर्कासँग सम्बन्धित छन् कि छैनन् भन्नेबारे अनुसन्धान भइरहेको छ ।

यी दुई घटनाले अमेरिकामा बन्दुकबाट हुने हिंसाको स्तर कति छ भन्ने स्पष्ट पारेको छ । पछिल्ला केही वर्षयता अमेरिकामा राजनीतिक ध्रुविकरण तीब्र छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको सरगर्मी पनि बढेको छ । अमेरिकाको राजनीतिक माहौल तीब्र रुपमा विभाजित छ । पछिल्लो समय अमेरिकामा दक्षिणपन्थी र बामपन्थीहरु अझ उग्र बन्दै गएका छन् ।

त्यस्तो किसिमको राजनीतिक उग्रताले कुन हद पार गर्न सक्छ भन्ने उदाहरण टेक्सस राज्यको एल पासो शहरमा संदिग्ध गोरा जातीको उग्रवादीले गोली प्रहार गरी २० जनाको ज्यान लिएर स्पष्ट पारिसकेको छ ।

हुन त अमेरिकामा यस्ता गोलीकाण्डमा परी हरेक वर्ष दशौँ हजारले ज्यान गुमाउँदै आएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्टेसनको पछिल्लो तथ्यांकअनुसार सन् २०१७ मा मात्रै अमेरिकामा बन्दुकबाट करिब ४० हजारभन्दा धेरैको ज्यान गएको छ ।

बन्दुकबाट ज्यान गुमाउने ३९,७७३ जनामध्ये अधिकांश आत्महत्यासँग सम्बन्धित छन् । त्यस्तै, अमेरिकामा हरेक वर्ष ‘मास शुटिङ’ ठूलो स्तरका गोलीकाण्डमा हजारौंले ज्यान गुमाउने गरेका छन् ।

अमेरिकी संविधानको दोस्रो संशोधनले हरेक अमेरिकी नागरिकलाई बन्दुक राख्ने अधिकार दिएको छ । अमेरिकामा कुनै तानाशाही सरकार निर्माण भएको खण्डमा वा अर्को कुनै मुलुकले आक्रमण गरेको अवस्थामा आफ्नो स्वतन्त्रता रक्षाका लागि नागरिकले लडाकुको भूमिका निर्वाह गर्नुपर्ने भएका कारण हरेक नागरिकलाई बन्दुक राख्ने अधिकार दिइएको हो । संविधानले दिएको यही अधिकार अमेरिकाका लागि ठूलो समस्या बन्दै आएको छ ।

बन्दुक राख्न पाउने संवैधानिक अधिकार रक्षाका लागि भन्दै अमेरिकामा एउटा अत्यन्त शक्तिशाली नेशनल राइफल्स एशोसिएसन (एनआरए) नामक संगठनको उदय भएको छ । यो संगठनले अमेरिकामा बन्दुक संस्कृतिलाई अझ बढाउँदै लगेको छ भने संगठनको राजनीतिक शक्ति पनि धेरै नै ठूलो छ ।

यो संगठनले हरेक पटकको निर्वाचनमा उम्मेद्वारलाई चन्दा दिने गरेको छ । बन्दुकसम्बन्धी नियम कानून बनाइँदा यो संगठनको पनि ठूलो प्रभाव रहने अमेरिकी सञ्चारमाध्यमहरु बताउँछन् । यही कारण अमेरिकामा बन्दुकसम्बन्धी प्रभावकारी नियम बन्न नसकेको र यस्ता गोलीकाण्डका घटनाले निरन्तरता पाइरहेको टिप्पणी हुने गरेका छन् ।

हरेक निर्वाचनमा पनि बन्दुकका विषयमा बहस हुने गरेका छन् । यस्ता मास शुटिङका घटनालगत्तै अमेरिकी सञ्चारमाध्यममा अमेरिकाको बन्दुक संस्कृतिले हद पार गरेको त हैन ? भन्ने विषयमा तीब्र बहस हुन्छन् । तर, ती बहस कुनै निष्कर्ष बिना नै टुङ्गिन्छन् । र, केही समयपछि अर्को गोलीकाण्डको घटना हुन्छ । अनि बहस फेरि शुरु हुन्छ । त्यो बहस पनि कुनै निष्कर्ष बिना नै टुङ्गिन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ४ : १० बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज