भारत–पाक तनाव : नेपाली भूमि जैश–ए–मोहम्मदले प्रयोग गर्ने त्रास ! | Khabarhub Khabarhub

भारत–पाक तनाव : नेपाली भूमि जैश–ए–मोहम्मदले प्रयोग गर्ने त्रास !



केही साता यता भारत र पाकिस्तानबीचको तनाव चुलिएको छ । युद्धकै सम्मुख पुगेका यी दुई देशबीच ठूलो युद्धको खतरा केही सरेपनि टरिसकेको भने छैन ।

भारत र पाकिस्तानलाई युद्धको सम्मुख पुर्‍याउने कारण हो– पाकिस्तानमा सक्रिय आतंकवादी समूह जैश–ए–मोहम्मदले भारतीय सुरक्षाकर्मीमाथि गरेको आक्रमण ।

गत फेब्रुअरीको १४ मा भारतको कश्मीरस्थित पुलावामामा पाकिस्तानमा सक्रिय जैश–ए–मोहम्मद आतंकवादी संगठनका एक लडाकुले आत्माघाती आक्रमण गरेपछि दुई देश द्वन्द्वको सम्मुख पुगे । आतंककारी हमलाको जिम्मा लिने संगठनका नेता मौलाना मसुद अजहर पाकिस्तानी संरक्षणमा रहेकाले बदलास्वरुप भारतले पाकिस्तानभित्रै हवाई हमला ग¥यो । पछि भारत र पाकिस्तान दुबैले एक–अर्काको युद्ध विमान खसालेको दाबी गरे ।

भारत–पाकिस्तान द्वन्द्वमा नेपालको कुनै नाता छैन । तर यसको असर भने नेपालसम्मै आइपुगेको छ

पाकिस्तानले खसालेको रुसी युद्धक विमानका भारतीय पाइलटको विनाशर्त सकुशल रिहाइ गरेपछि नजिकिएको सम्भाव्य युद्ध टर्‍यो । तरपनि भारतका विभिन्न शहरहरुमा भएको आतंकवादी हमलाको जिम्मेवारी लिने आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई बुझाउन भारतले माग गर्दै आएपनि पाकिस्तानभित्र निकै ठूलो धार्मिक तथा राजनीतिक प्रभाव रहेका अजहरलाई बुझाउन भने पाकिस्तानले अस्वीकार गर्दै आएको छ ।

अजहरलाई भारत र संयुक्त राष्ट्रसंघसहित अमेरिका बेलायत, फ्रान्स, रुस लगायतका मुलुकले आतंकवादी समूहको सूचीमा राखेका छन् । तर, उनले पाकिस्तानमा संरक्षण पाइरहेका छन् ।

नेपाल नाता

भारत–पाकिस्तान द्वन्द्वमा नेपालको कुनै नाता छैन । तर यसको असर भने नेपालसम्मै आइपुगेको छ । पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्न खडा गरेका आतंकवादी संगठनहरु जैश–ए–मोहम्मद, लस्करे तोइवा, इन्डियन मुज्जाहिद्दीन लगायत समूहले बेला/बेला नेपालको भूमिसमेत प्रयोग गर्ने गरेको पाइएको छ ।

पाकिस्तानी गुप्तचर निकायको सहयोग पाएका यी आतंकवादी समूहका धेरै नेताहरु नेपालबाटसमेत पक्राउ परिसकेका छन् । यो अवस्थामा नेपालमा भने नखाएको बिष लाग्ने खतरा रहेको विश्लेषकहरु औल्याउँछन् । पाकिस्तानले समर्थन गरिरहेका आतंकवादी समूहहरुबाट नेपालसमेत प्रताडित हुने खतरा रहेको उनीहरुको तर्क छ ।

हाल भारत र पाकिस्तानलाई युद्धको अवस्थासम्म पुर्‍याउने जैश–ए–मोहम्मद नेपालको भूमि प्रयोग गरी आतंकवादी घटना गराउनेमा समेत जोडिन आउँछ

अन्तर्राष्ट्रिय तथा भू–राजनीतिक मामिला विज्ञ अरुणकुमार सुवेदीले खबरहबसँगको कुराकानीमा, नेपालले आतंकवादी आक्रमणको भत्र्सना मात्र नगरेर जैश ए मोहम्मदका प्रमुख मसुद अजहरलाई पक्राउको माग नै गर्नुपर्ने बताए । सन् १९९९ को विमान अपहरण प्रकरणदेखि नेपालसँग जोजिएको जैश ए मोहम्मदका गतिविधिप्रति विशेष सावधानी अपनाउनुपर्ने सुवेदीको तर्क छ ।

यता पुलावामामा आतंकवादी आक्रमणबारे नेपालले सार्वजनिक गरेको वक्तव्यमा आक्रमण गराउने समूहमाथि कारबाही गर्न नेपालले माग भने गरेको छैन ।

‘जैश ए मोहम्मद, लस्करे तोइवा, आई. एस. आई.एस. जस्ता आतकंकारी समूहहरुसँग नेपाल सधै सचेत रहनुपर्छ ।’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देविराम शर्माले खबरहबसँग कुरा गर्दै भने, ‘आतंकवादको कुनै सीमा हुँदैन नेपाल पनि यसको शिकार हुन सक्नेतर्फ सर्तक भएर शंकास्पद गतिबिधिहरुमाथी निगरानी गनुपर्छ ।’

आतंकवादको खतरा तथा यसको असरले सिंगो दक्षिण एशियाभर र विशेषगरी छिमेकी देशहरुमा असर पर्नेतर्फ सचेत रहँदै नेपालले आन्तरिक सुरक्षा बलहरुमा थप लगानी, सुदृढीकरण, पुर्नसंरचना, गुप्तचरी संयन्त्रको सवलीकरण गनुपर्ने अबकाशप्राप्त उपरथी विनोज बस्न्यातले बताए । खबरहबसँग कुरा गर्दै बस्न्यात भन्छन्,‘आतंकवादी र विध्वंसात्मक गतिविधि गर्नेहरुबीच सँधै साँठगाँठ रहन्छ । त्यसैले उनीहरुको गतिविधि निगरानी गर्नसक्ने संयन्त्र स्थापना गर्ने हो भने नेपालले क्षेत्रीय सुरक्षामा समेत मद्दत गर्नसक्छ ।’

सन् १९९९ को डिसेम्बर २४ मा अपराह्न ४ बजे आसपास काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्लीका लागि उडेको आइसी–८१४ को विमान अपहरणमा हालको जैश–ए–मोहम्मद आतंकवादी संगठनको हात रहेको थियो

यता प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) हेमन्त मल्लले भारत–पाकिस्तानको तनावको असर नेपालमा पनि पर्नसक्ने सम्भाव्यतालाई ख्याल गर्दै नेपालमा रहेका शंकास्पद व्यक्तिमाथि निगरानी र थप सुरक्षा सर्तकता अपनाउनुपर्ने खबरहब सँग बताए । आतंकवादी संगठनहरुले नेपाललाई पनि कुनै न कुनै तरिकाले प्रयोग गर्नसक्ने संभाव्यतालाई मध्यनजर गर्दै नेपाल प्रहरीको विशेष व्यूरोे थप सक्रिय हुनुपर्ने मल्लको तर्क छ ।

नेपालसँग जैश–ए–मोहम्मद जोडिएको त्यो विमान अपहरण काण्ड

हाल भारत र पाकिस्तानलाई युद्धको अवस्थासम्म पुर्‍याउने जैश–ए–मोहम्मद नेपालको भूमि प्रयोग गरी आतंकवादी घटना गराउनेमा समेत जोडिन आउँछ । सन् १९९९ को डिसेम्बर २४ मा अपराह्न ४ बजे आसपास काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्लीका लागि उडेको आइसी–८१४ को विमान अपहरणमा हालको जैश–ए–मोहम्मद आतंकवादी संगठनको हात रहेको थियो ।

एअर इण्डियाको फ्लाइट आतंकवादीले अपहरण गरेका थिए । अपहरणका क्रममा विमानभित्र रहेका अपहरणकारीले विमानचालकलाई आफूले भनेको स्थानतर्फ नउडाए बम विष्फोट गरी विमान खसालिदिने धम्की दिएका थिए । अपहरणकारीले विमानचालकलाई शुरुमा लाहौर विमानस्थलमा अवतरण गर्न निर्देशन दिएका थिए । तर, पाकिस्तानी अधिकारीले लाहौर विमानस्थलमा विमान अवतरण गर्न दिन अस्वीकार गरेपछि यात्रु तथा चालक दलका सदस्यसहित १ सय ८९ जना सवार विमानलाई भारतको अमृतसरको विमानस्थलमा लगेर अवतरण गरिएको थियो ।

शुरुमा इन्धन भर्नका लागि भनि अमृतसरमा अवतरण गरिएको विमानमा इन्धन भर्न ढिलाइ भएपछि अपहरणकारीले भारतीय सुरक्षा फौजले विमानमा सैनिक कारबाही गरी यात्रुलाई छुटाउने आशंकामा रुपेन कट्याल नामका यात्रुमाथि छुरा प्रहार गरेका थिए । उनको पछि मृत्यु भएको थियो ।

अपहरणकारीले जसरी भएपनि विमानलाई लाहोर पुर्‍याउनुपर्ने, अन्यथा यसैगरी सबै यात्रुको ज्यान लिने धम्की दिएपछि विमानचालकले विमान भारतको अमृतसरबाट पाकिस्तानको लाहोर उडाएका थिए । त्यसबेला कश्मीरको कारगिलमा भारतसँग युद्ध लडेको पाकिस्तानले शुरुमा अपहरित भारतीय विमानलाई आफ्नो भूमिमा अवतरण गर्न दिएको थिएन । तर, भारतले इन्धन सकिएर विमान दुर्घटनामा पर्नसक्ने भन्दै अवतण गर्न दिन भनेपनि पाकिस्तानले विमानलाई अवतरणको अनुमतिसँगै इन्धन भरिदिएको थियो ।

इन्धन भरेपछि विमान अफगानिस्तानको राजधानी काबुलतर्फ उडाउन निर्देशन दिइयो । तर, काबुलमा राति विमान अवतरण गर्ने सुविधा नभएपछि विमानलाई दुबई पुर्‍याइयो । दुबईमा अवतरित विमानमा इन्धन भरियो भने त्यसको बदलामा विमानमा रहेका बृद्धबृद्धा, घाइते यात्रु तथा बालबालिकालाई रिहा गरियो ।

त्यसको भोलिपल्ट अर्थात डिसेम्बर २५ का दिन अपहरित विमानलाई अफगानिस्तानको कन्दाहार विमानस्थलमा लगेर अवतरण गरियो । त्यसबेला अफगानिस्तानमा इस्लामिक उग्रवादी समूह तालिबानको शासन थियो जसलाई पाकिस्तान र विश्व आतंकवादी संगठन अलकायदाको साथ थियो । पाकिस्तान र विश्व आतंकवादी संगठन अलकायदाको समर्थनप्राप्त तालिबानको नियन्त्रणमा रहेको भूभागमा विमान पुर्‍याइएपछि सैन्य कारवाहीबाट यात्रु छुटाउने सम्भावना सकिएको थियो ।

नेपालबाट विमान अपहरण भएपछि भारतले नेपालसँगको उडान लामो समय अवरुद्ध गरेको थियो । पछि नेपालबाट भारत जाने विमानका यात्रुको चेक जाँच भारतीय सुरक्षा निकायले गर्ने गोप्य सम्झौता भएपछि उडान पुनः सुचारु भयो

तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयी नेतृत्वको भारत सरकारले अपहरणकारीसँग वार्ता गर्न हालका भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोबलसहितको टोलीलाई कान्दहार पठाएको थियो । अपहरणकारीको माग थियो, भारतीय जेलमा रहेका पाकिस्तानी उग्रवादी नेता तथा धर्मगुरु मौलाना मसुद अजहर लगायत दर्जनौं आतंकवादी नेताहरुलाई छुटाउनु । केही दिनको सघन वार्तापछि भारतीय पक्ष डिसेम्बर ३० मा भारतीय जेलमा रहेका मसूद अजहर, शेख अहमद उमर, सइद मुश्ताक जरगरको रिहाइपछि अपहरित विमान र यात्रु छाड्न आतंकवादी राजी भए ।

नेपालबाट विमान अपहरण भएपछि भारतले नेपालसँगको उडान लामो समय अवरुद्ध गरेको थियो । पछि नेपालबाट भारत जाने विमानका यात्रुको चेक जाँच भारतीय सुरक्षा निकायले गर्ने गोप्य सम्झौता भएपछि उडान पुनः सुचारु भयो । अहिलेपनि विमानस्थलमा नेपाली सुरक्षा निकाले जाँच गरेपछि भारत जाने विमान चढ्ने बेलामा भारतीय सुरक्षा निकायले चेक जाँच गर्छन् ।

उक्त विमान अपहरणमा संलग्न १० मध्ये ७ जना पाकिस्तानी, २ जना भारतीय र एक नेपाली रहेको भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को दाबी थियो ।

त्यस्तै नेपालमा गठन भएको आयोगले तयार पारेको प्रतिवदेनमा अपहरणकारीले सदर चिडियाखानामा बसेर विमान अपहरणको योजनालाई अन्तिम रुप दिएको उल्लेख गरेको थियो ।

१४ वर्षपछि पञ्जावको पटियाला केन्द्रीय जेलमा रहेका नेपाली भुपालमान दमाइ उर्फ युसुफलाई अदालतले निर्दोष ठहर गरेको थियो ।

नेपाली जमिम शाहले अपहरणमा संलग्न पाकिस्तानी र कास्मिरीलाई विमान अपहरण गर्न सहयोग गरेको आरोप लागेको थियो ।

शाह २६ माघ २०६६ मा काठमाडौंको लाजिम्पाटमा मारिएका थिए । अपहरणको विषयमा पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आईएसआईले पहिल्यै थाहा पाएको र आईएसआईका एजेन्ट इब्राहिम हुसैनले भारतको सिलोङका स्थानीय व्यापारी उमाशंकर मिश्रलाईसमेत भनेको तथा उनले केही अधिकारीहरुलाई समेत जानकारी गराएको पछि खुलासा भएको थियो ।

को हुन मौलना मसुद अजहर ? 

सन् १९९० को दशकको शुरुमा मौलाना मसुद अजहर कश्मीरसहित पाकिस्तान तथा बेलायत, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, अफगानिस्तानलगायत विश्वका विभिन्न मुलुकको भ्रमण गरी कट्टर ईस्लामिक मतको धार्मिक प्रवचन दिँदै तथा उग्रवादी गतिविधिमा पनि संलग्न रहँदै आएका थिए ।

झूठो पहिचान विवरण लिएर भारत पसेका उनलाई सन् १९९४ मा भारत प्रसाशित कश्मीरको राजधानी श्रीनगर नजिकैबाट भारतीय सुरक्षा फौजले गिरफ्तार गरेको थियो । त्यसबेला उनी हरकत–उल–मुजाहिद्दिनका नेता थिए । त्यसपछि उनका समर्थक तथा उग्रवादी समूहका कार्यकर्ताले सन् १९९५ मा पश्चिमा मुलुकका ६ पर्यटकलाई अपहरण गरी फिरौतीका रुपमा अजहरलाई रिहा गर्न माग गरेका थिए । तर, त्यतिबेला भारतीय पक्षबाट मसुद अजहरलाई रिहा गरिएन ।

बदलिँदो परिवेशअनुसार सुरक्षा रणनीति तर्जुमा नगरे जुनसुकै बेला नेपाली भूमिमा आतंकवादीले प्रयोग गर्न सक्ने, निशाना पक्रन सक्ने खतरा हुन्छ

नेपालबाट विमान अपहरण गरी अफगानिस्तान पुर्‍याई मोलमोलाई गरी जेलबाट छुटेपछि मसूद अजहरले फेब्रुअरी २००० मा हरकत–उल–मुजाहिद्दिन र हरकत–उल–अंसारका कैयौँ चरमपन्थीहरुलाई प्रवेश गराउँदै जैश–ए–मोहम्मदको स्थापना गरे । जैश–ए–मोहम्मदले स्थापनाको दुई महिनामै भारतको श्रीनगरको बदामीबागमा रहेको भारतीय सैन्य केन्द्रमा आतंककारी आक्रमण गरे । उनले सन् २००१ डिसेम्बर १ मा भारतीय संसद भवनमा आक्रमण तथा २०१६ जनवरीमा पञ्जावको पठानकोटमा वायु सेनाको अड्डामा भएको आतंकवादी आक्रमणको समेत जिम्मा लिए ।

पाकिस्तानको गुप्तचर संस्था इन्टरसर्भिस इन्टिलिजेन्स आईएसआईले मौलाना मसुद अजहरको प्रयोग गरी कश्मीरमा कट्टरपन्थी ईस्लाम तथा पृथकतावादलाई बढाउनका लागि यो समूहको स्थापना गरेको बताइन्छ । त्यतिबेला पाकिस्तानको आईएसआईकै समर्थनमा रहेको अर्को आतंकवादी समूह लस्कर ए तैएबासँग आतंकवादी आक्रमणमा प्रतिस्पर्धा गर्नकै लागि यो समूहको स्थापना भएको समेत बताइन्छ । लस्कर ए तैएबा त्यही समूह हो जसले सन् २००८ मा भारतको मुम्बई शहरमा आतंकवादी आक्रमण गराएको थियो ।

आतंकवाद पछिल्लो समय क्षेत्रीय चुनौतीको रुपमा देखा पर्दै आएको छ । विश्व आतंकवादी संगठनहरुको बढ्दो महत्वकांक्षा र छद्म युद्धहरुका लागि यस्ता संगठनहरु समेत प्रयोग गर्ने यथार्थलाई नेपालले समेत सावधानीका साथ नियाल्नु पर्छ ।

बदलिँदो  परिवेशअनुसार सुरक्षा रणनीति तर्जुमा नगरे जुनसुकै बेला नेपाली भूमिमा आतंकवादीले प्रयोग गर्न सक्ने, निशाना पक्रन सक्ने खतरा हुन्छ । उनीहरुले नेपाली युवाहरुलाई पनि आतंकबादको चंगुलमा फसाउन सक्ने खतरा उत्तिकै रहन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : २९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका