‘वृक्षारोपण गरिएकामध्ये कति बिरुवा सरे र कति मरे केही थाहा छैन’ | Khabarhub Khabarhub

‘वृक्षारोपण गरिएकामध्ये कति बिरुवा सरे र कति मरे केही थाहा छैन’



काठमाडौं– गत शनिवार नेपालमा पहिलो पटक वृक्षरोपण दिवस मनाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा चक्रपथ सडकखण्ड अन्तर्गतको कोटेश्वर कलंकी सडकखण्डको किनारामा करीब ३ हजार बढी बोटबिरुवा रोपिएको थियो ।

प्रधानमन्त्री केपी ओलीले नास्पातिको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले वृक्षारोपणमा भन्दा विरुवाको संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने बताएका थिए ।

‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।’

प्रधानमन्त्रीले विरुवाको संरक्षणमा प्रतिस्पर्धा गर्नुपर्छ भनेको ५ दिन पछि विरुवाको अवस्थाबारे बुझ्न हामी कोटेश्वर कलंकी क्षेत्रमा पुगेका थियौं । तर प्रधानमन्त्री ओलीले भनेजस्तो विरुवालाई सन्तानसरह माया गरेको र संरक्षणमा प्रतिस्पर्धा भएको पाइएन ।

वर्षायामको छेको पारेर वृक्षारोपण गरेको भएपनि पानी पर्न सकेको छैन जसका कारण नयाँ रोपिएका कतिपय विरुवा पानी नभएका कारण सुकेका छन् ।

वृक्षारोपण कार्यक्रमको आयोजक वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भू संरक्षण विभागले वृक्षारोपण कार्यक्रम गरेपछि फेरि हेर्न भ्याएको छैन । रोपिएका ३२ सय विरुवाको रेखदेख गर्ने जिम्मा वन तथा भू संरक्षण विभागको रहेको छ । तर रोपिएका कति विरुवा सरे र कति स्थानका विरुवा मरे भन्ने बारे जानकारी नभएको विभागका अधिकारी बताउँछन् ।

विभागका अनुसार सडक किनारामा भएको झाडीको सफा गर्ने काम निरन्तर रुपमा भइरहेको छ । झाडी निकालेपछि विरुवा मौलाउँदै आउने विभागका महा—निर्देशक राजेन्द्र केसीको दाबी छ ।

‘धेरै स्थानमा विरुवा मरे भन्ने कुरा सुनिएको छ’ उनले भने ‘अब विभागले अनुगमन गर्नेछ र मरेका विरुवाको ठाउँमा पुनः वृक्षरोपण गर्नेछ’ ।
विरुवामा पानी हाल्ने र झाडी निकाल्ने काममा अहिले स्थानीयवासीले पनि चासो देखाएको उनको भनाइ थियो । तर हामीले अनुगमनका क्रममा विरुवामा पानी हाल्ने र झाडी सफा गर्ने कोही स्थानीयलाई फेला पर्न सकेनौं ।

बालकुमारीबाट ग्वार्कोसम्मको क्षेत्रमा वृक्षारोपण गरिएका विरुवाको अवस्था राम्रै भएपनि ग्वार्कोबाट सातदोबाटो तर्फको सडक किनारामा विरुवाको अवस्था दयनीय देखियो । केही विरुवामा पाउला भएपनि कतिपयका पात झरेका थिए भने कतिपय विरुवाको डाठ सुकेको अवस्थामा थियो ।

सो सडकखण्डको दायाँबाया फूल, नासपाती, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, असारे पावले लगायतका विरुवा लगाएको वन तथा वातावरण मन्त्रालयका प्रवक्त डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए ।

सरकारले गत वर्ष जुन ५ मा ‘एक नागरिक एक फलफुल विरुवा रोपण’ अभियान सुरु गरेको थियो । साथै असार १४ गते थालिएको वृक्षरोपणमा ‘हरित सहर, हरित सडक’ नारा रहेको थियो । पछिल्लो समय राजधानीका धेरै सडक किनारामा हरियाली छाएको ढुंगाना बताउँछन् ।

अभियानमा सरकारसँग सँगै नीजि क्षेत्रको पनि उल्लेख्य भूमिका रहेको बताउँदै उनी भन्छन्, ‘पछिल्लो समय सरकारी तथा गैरसरकारी संस्था, विद्यालय तथा विश्वविद्यालय, बैंक तथा वित्तिय संस्था लगायत विभिन्न दातृ निकाय लागि परेका छन्’ ।

‘सरकारी तथा नीजि क्षेत्रको सक्रिय सहभागिता रहेको खण्डमा यो अभियान सफल हुनेछ’ खबरहबसँगको कुराकानीमा उनले भने ।

३२ सय विरुवाको संरक्षण गर्न ८ जना कामदार !

विहीवार ग्वार्को सडकको बायाँ किनारातर्फ ४ जना कामदार हातमा साबेल र पिक लिएर काम गरिरहेका थिए । कोही जमिन खन्दै थिए त कोही साबेलले माटो उठाउँदै थिए । शनिवार रोपिएको विरुवालाई संरक्षणमा आफूहरु खटिएको उनीहरुले सुनाए ।

सोमवारबाट विरुवा संरक्षणको गर्न लागेको एक कामदारले बताए । उनले भने ‘८ जना छौँ, दुई समुहमा विभाजन भएर काम गरिरहेका छौँ’ ।
काठबाट बाकस (ट्रि गार्ड) राखेर विरुवालाई संरक्षण गर्न लागिपरेका उनीहरुले कोटेश्वरबाट सुरु गरी विहीबार ग्वार्खो पुगेका हुन् । साथै अर्को ४ जनाको समुहले सातदोवाटोबाट कलंकी जाने सडकको किनाराका विरुवा संरक्षण गरिरहेको छ ।

रोपेका विरुवाहरुमध्ये कतिपय विरुवाले भने पालुवा फेर्न सकेका छैनन् । वृक्षारोपण गरिएका विरुवामा पानी नहालिँदा भने कतिपय विरुवा सुकेका छन् । विरुवाको पात झरिसेको छ भने डाँठ सुकेको दाउरा जस्तै बनेको छ ।

‘हेरचाह गर्न नसक्ने भए सडकमा ल्याएर विरुवाको के बिजोग गरेको होला’ सडकमा हिडिरहेका बटुवाहरु एकआपसमा कुरा गर्दै थिए । सायद रोपेको विरुवा सुकेको दृश्य देखेर होला ।

गमलामा भएपनि विरुवा रोप्नुस्ः प्रधानमन्त्री

शनिवार वृक्षरोपण गर्ने क्रममा उपस्थित भएका प्रधानमन्त्रीले पर्याप्त मात्रामा जग्गा नहुनेले घरको छतमा तरकारी, फलफुल र गमलामा भएपनि विरुवा रोप्न अनुरोध गरेका थिए । गमलामा रोपेका विरुवाले पनि स्वास्थ्य र वातावरण दुबैलाई फाइदा दिने उनको भनाइ थियो ।

‘हरियाली बनाउन वृक्षरोपण कार्यक्रमलाइ प्राथकिता दिएका हौँ, सबैले यो अभियानलाई सहयोग गर्नुस्’ उनले भनेका थिए ‘तपाईंहरु विरुवा रोप्न सक्नुहुन्न भने खुर्सानी भने पनि रोपेर यो अभियानलाइ सहयोग गर्नुस्’ ।

चालू आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डका ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आर्थिक वर्षमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ४ : २७ बजे

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय