अन्तर्राष्ट्रिय

रिहाइसँगै आइभोरी कोष्टका पूर्वराष्ट्रपति ग्बाग्बो बेल्जियम पुगे

By खबरहब

February 06, 2019

एजेन्सी– अन्तर्राष्ट्रिय अपराध अदालत आईसीसीले स–शर्त रिहा गर्न आदेश दिएका पश्चिम अफ्रिकी मुलुक आइभोरी कोष्टका पूर्व राष्ट्रपति लराँ ग्बाग्बो बेल्जियम पुगेका छन् । नेदरल्याण्ड्सको हेग शहरमा रहेको अदालतले उनलाई गत महिना रिहा गर्न आदेश दिए पनि उनी शुक्रबारसम्म हिरासतमै थिए ।

तर, पुनरावेदन अदालतले पनि उनलाई रिहा गर्न आदेश दिएपछि उनी बेल्जियम पुगेको उनीनिकट श्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि मानवताविरुद्ध अपराध गरेको अभियोग लागेको थियो । अन्तर्राष्ट्रिय अपराध अदालतले बेल्जियमसमक्ष ग्बाग्बोलाई लैजान बेल्जियमसमक्ष आग्रह गरेको थियो ।

अन्तर्राष्ट्रिय अदालतको आग्रह स्वीकार गर्दै उनलाई बेल्जियम आउन दिइएको बताइएको छ । गत शनिबार उनलाई पुनरावेदन अदालतले कुनै पनि समय अदालतमा हाजिर गर्न आउने शर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

उनी सन् २००० देखि सन् २०११ सम्म आइभोरी कोष्टका राष्ट्रपति थिए । सन् २०१० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपनि उनले पद त्याग्न मानेका थिएनन् । त्यसपछि उत्पन्न राजनीतिक संकटपछि उनलाई फ्रान्सले नेतृत्व गरेको संयुक्त राष्ट्रसंघीय फौजले गिरफ्तार गरी अन्तर्राष्ट्रिय अपराध अदालत समक्ष बुझाएको थियो ।