नेपाली चलचित्रको समस्या-कथा आफ्नै, शैली अरुकै ! | Khabarhub Khabarhub

नेपाली चलचित्रको समस्या-कथा आफ्नै, शैली अरुकै !


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्रको कथामा मौलिकताको खोजी गर्न थालिएको लामो समय भइसकेको छ । केही दशक पहिले बलिउड या अन्य विदेशी चलचित्रबाट जस्ताको तस्तै कथा उठाएर त्यसलाई नेपालीकरण गर्ने गरिन्थ्यो । त्यसरी निर्माण गरिएका चलचित्र पनि सुपरहिट हुन्थे ।

कारण के पनि थियो भने त्यतिबेला दर्शकसँग अहिलेजस्तो चलचित्र हेर्ने पर्याप्त विकल्प थिएन । केही वर्ष यता नेपाली चलचित्रको बजार ओरालो झरेको झर्‍यै छ । पहिले खुबै रुचिका साथ नेपाली चलचित्र हेर्ने ‘डाइहार्ट फ्यान’ ले पनि अहिले चलचित्र हेर्न छोडिसकेका छन् । भलै एउटा पुस्ता छ, जसले सिङ्गल थिएटरमा पुगेर नेपाली चलचित्र हेर्न छोडेको छैन ।

पुराना कलाकारहरु ‘डेट एक्स्पाएर’ भइसकेका छन् । नयाँ कलाकारले चलचित्र उद्योगमा रुमल्लिएका छन् । चलचित्रको विकास क्रम भने जस्ताको तस्तै छ । हिजो जसरी कथा उठाइन्थ्यो, त्यस्तो प्रवृत्ति अहिले पनि छ । यद्यपि चोरीको युग लगभग सकिएपछि नेपालमा अहिले स्तरीय कथाको खडेरी भएको बहस हुन थालेको छ ।

नेपाली सिनेमा क्षेत्र ‘मिस गाइड’ भइरहेको छ

अर्कातिर चलचित्रमा विषयवस्तु र सन्देश पनि हुनुपर्छ भन्ने आवाज उठिरहेको छ । एकथरी चलचित्रकर्मी भने चलचित्र मनोरञ्जनकै लागि निर्माण गरिनुपर्छ भन्ने धाउन्नमा लागिपरेका छन् । मनोरञ्जनकै लागि निर्माण हुने चलचित्र चुटकिलाजस्ता हुनु स्वभाविक पनि भयो ।

त्यसो त नेपाली चलचित्रले प्रयोग गरेको नयाँ प्रयोग समेत सफल बन्न सकेको छैन । त्यसैले पनि नेपाली चलचित्रमा कथामा मात्र नभएर पूरै चलचित्र मेकिङमा नै चलचित्रकर्मी चुकेको विश्लेषकहरु बताउँछन् ।

प्रशिक्षक तथा चलचित्र क्षेत्रका जानकार मनोजबाबु पन्त भन्छन्, ‘नेपाली चलचित्रमा कथा मात्र कमजोर होइन ।’

उनका अनुसार नेपाली चलचित्र सतही बन्न पुग्दा चलचित्रकर्मीले दर्शकको मन बुझाउन सकिरहेका छैनन् । चलचित्रका सबै पक्ष नै कमजोर भएको उनको बुझाइ छ । ‘हतारमा काम गर्ने, बजारमा के बिक्छ भनेर त्यही अनुसार चलचित्रकर्मीले चलचित्र बनाउन खोज्दा र उही पुरानै सेरोफेरोमा रहेर चलचित्र निर्माण गर्न खोज्दा चलचित्र चिप्लिरहेका हुन्छन्,’ पन्त भन्छन् ।

पन्त नेपाली चलचित्रको कुनै बाटो नै नभएको धारणा राख्छन् । खबरहबसँगको कुराकानीमा पन्त भन्छन्, ‘हाम्रो चलचित्रको कुनै लय नै छैन, भएको कन्सेप्टलाई पनि कसरी प्रस्तुत गर्ने भन्ने कुराको कमी छ, प्राविधिक पक्षमा पनि उस्तै समस्या छ ।’

नेपाली चलचित्र उद्योग अझै पनि परम्परागत मेकिङबाट प्रभावित भएको उनको बुझाइ छ ।

फिल्म राम्रो भनिदिए समीक्षक, नराम्रो लेखे सिकारु ?

निर्माता तथा कलाकार दीपकराज गिरी नेपाली चलचित्रमा कथा र पटकथा दुवै कमजोर भएको स्वीकार्छन् । उनको भनाइमा कथा त कमजोर हो नै । अझ फितलो पक्ष त यसको पटकथा हो ।

‘चलचित्रको कथा मात्र होइन, सबैभन्दा कमजोर पक्ष त पटकथा नै हो, हामीकहाँ राम्रा पटकथा नै छैनन्,’ गिरी अगाडि थप्छन्, ‘अर्को कुरा त हामी कथावाचन शैलीमा पनि कमजोर छौँ, अरु कमजोरी भनेका वैकल्पिक हुन् ।’

गिरी नेपाली चलचित्र कमजोर बन्नुको अर्को कारण विदेशी चलचित्र नेपालमा प्रदर्शन हुन भएको सहजतालाई कारण मान्छन् । गिरी भन्छन्, ‘नेपाली चलचित्र भारतमा सेन्सर हुन ३ महिना लाग्छ, नेपालमा एकैछिनमा हुन्छ, खोइ कुन तत्वले प्रभाव पारेको छ ।’

अभिनेता दयाहाङ राई पनि नेपाली चलचित्रको आफ्नो कथावाचन शैली नभएको स्वीकार्छन् । नेपालमा बरु नयाँ कथाको खोजी हुन थाले पनि ती कथालाई कसरी प्रस्तुत गर्ने भन्ने आफ्नै शैली नभएको उनको धारणा छ ।

‘अहिले हामीले बरु हाम्रा कथा त भन्छौँ, तर देखाउने शैली अरुकै हो, अरुकै शैली हामीले कपी गरिरहेका छौँ, हाम्रो शैली कस्तो हो भन्ने पत्ता लागिसकेपछि यो सहज हुन्छ,’ अभिनेता राई भन्छन्, ‘हामी प्रयोग नगरी सीधै काम गरिरहेका छौँ, यसले कथा मात्र कमजोर हो कि भन्ने देखाउँदैन, होला, कथा हाम्रो समाज सुहाउँदो बनायौँ होला तर हामीले चलचित्रको मेकिङमा नेपाली समाजको मनोविज्ञानलाई प्रस्तुत गर्न सकेका छैनौँ ।’

नेपाली सिनेमा – दर्शक नभएका होइनन्, नआएका !

नेपाली चलचित्रकर्मीमा अरुलाई सल्लाह दिन सधैं तयार हुने तर आफूहरुले गल्ती स्वीकार्न तयार नहुने प्रवृत्ति हाबी भएको दयाहाङको बुझाइ छ । उनका अनुसार चलचित्रकर्मीमा ‘मैले बनाएकै यस्तै हो’ भन्ने सोच हाबी छ, जुन सम्रग चलचित्र उद्योगका लागि नै घातक छ ।

‘चलचित्रकर्मीले आफूले बनाउन खोजेको त्यस्तै हो भनेर आफ्ना कमजोरी लुकाउन खोजिरहेका हुन्छन्, यो गलत हो, हामीले मैले जानेकै यत्ति हो भन्न सक्नुपर्छ,’ दयाहाङ अगाडि थप्छन्, ‘मेकरले मैले बनाउन खोजेकै त्यस्तै हो भन्दा बिग्रियो, मान्छेले गल्ती गर्न पाउँछ नि, तर हामी गल्ती स्वीकार्न पनि सकेका छैनौँ ।’

त्यसो त नेपालमा चलचित्रलाई कलाका दृष्टिले भन्दा पनि व्यापारका दृष्टिले हेर्ने प्रचलन छ । जसका कारण राम्रा कथा र चलचित्रहरु सधै ओझेलमा पर्ने गरेका छन् । राम्रा भनिएका चलचित्र दर्शकको पहुँचमा पुग्न सकेका छैनन् । कथामा नयाँपनको खोजी भइरहे पनि सरकारको शून्य चासोका कारण चलचित्र रुमल्लिएको चलचित्र निर्माताहरु बताउँछन् । अर्कातिर व्यापारिक प्रयोजनका लागि मात्र दर्शकलाई केन्द्रमा राखी चलचित्रमा हुनुपर्ने गुण नै नभएका चलचित्रलाई दर्शकले रुचाउँदैनन् ।

नेपाली फिल्म नै धरापमा छन्, आदिवासी चलचित्र कसरी माथि उठ्ला र !

एक चलचित्रकर्मी भन्छन्, ‘चलचित्रको मेकिङ नै नबुझेका व्यापारीले यो क्षेत्रलाई प्रतिनिधित्व गरिरहेका बेला राम्रा चलचित्र बन्ने आशा गर्नु बेकार छ, चलचित्रमा कथा मात्र होइन, सबै तत्त्वको संयोजन उस्तै दमदार हुनुपर्छ ।

चलचित्रमा कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली कथामा त नयाँपनको खोजी हुन थाल्यो । तर, ती कथामा पनि दर्शकको मन जित्ने गरी चलचित्र निर्माण सकेनन् । अभिनेता दयाहाङ राईका अनुसार अरुलाई दोष थोपर्ने शैली नेपाली चलचित्रकर्मीमा हाबी नै छ । अर्कातिर नेपालमा राम्रा निर्देशकको पनि उत्तिकै खडेरी छ । नेपाली चलचित्र उद्योग भुलभुलैयामै रुमल्लिएको छ ।

मनोजबाबु पन्तको निष्कर्ष छ, ‘समस्या त सबैतिर छन् तर यहाँ कथाभन्दा पनि निर्देशन नै सक्षम नभएका हुन् ।’

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ९ : ५४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको