काठमाडौं–बढ्दै गएको जनसंख्या र अव्यवस्थित रुपमा बनाइएका संरचनाहरुले राजधानीमा खुल्ला स्थान भेट्न मुस्किल छ ।
जताततै संरचनाहरु निर्माण भइरहेका छन् भने निर्माणका लागि चाहिने सामग्रीले खुल्ला स्थान पनि भरिएका छन् ।
काठमाडौंको मुख्य स्थानका रुपमा रहेको टुँडिखेलको हालत पनि त्यस्तै छ । टुँडिखेलको दक्षिणतिरको भागमा बार लगाइएको छ । भित्रको चउरमा झारपात पलाएका छन् भने माटो थुपारेर केही भाग अग्लो बनाइएको छ ।
बाँकी रहेको भागमा धरहराको पुनर्निमाणका लागि ल्याएका सामग्रीहरु थुपारिएको देखिन्छ । देशको मुहारको रुपमा रहेको टुँडिखेल विभिन्न कालखण्डमा अतिक्रमण हुँदै आएको छ ।
त्यस्तै टुँडिखेलभित्र रहेको खुल्लामञ्च, नाम नै काफी छ । जुन चारैतिर खुल्ला रहेको भाग हो । खुल्लामञ्चलाई विभिन्न नेताहरुले आफ्नो आमसभा गर्ने र विचार राख्ने ऐतिहासिक ठाउँका रुपमा पनि प्रयोग गर्दै आएका छन् ।
यही खुल्लामञ्चमा भ्यू टावर बनाउने नाममा बसपार्क सारिएको छ । अनि व्यापारिक प्रयोजनका लागि पसल र टहरा बनाइएका छन् ।
खुल्लामञ्चकको भित्रको भागमा जस्तापाताले बेरेर बाहिरबाट हेर्न नमिल्ने बनाइएको छ। जहाँभित्र प्रवेश गर्नसाथ ठूला सवारीसाधन पार्किङ गरिएको देखिन्छ । केही टहराहरु लस्करै ठगिएका पनि छन् ।
भूमाफियाले खुल्लामञ्च अतिक्रमण गरी थोरै रहेको खुला ठाउँसमेत मिच्दै गएपछि सर्वसाधारण जनता खुल्लामञ्च जोगाउन सडकमै पनि उत्रिएका छन् ।
स्थानीय, सम्पदा बचाऊ अभियान्ताहरुले खुलामञ्च कब्जा गर्न लागेको भन्दै विरोध गरे । सो व्यापारिक केन्द्रलाई हटाउन सम्बन्धित पक्षलाई पटकपटक झक्झकाए ।
चौथर्फी विरोध भएसँगै गत वैशाख २४ गते खुलामञ्चमा निर्माण गरिएका सटरहरु भत्काइएको थियो । सो स्थानमा ४० वटा सटर निर्माण भएका थिए ।
त्यसको केही समयमै खुलामञ्चस्थित दुईमाजु गुठीको जग्गा अतिक्रमण भयो । जग्गा रेखदेखको जिम्मा पाएकी अम्रिता भट्टराईले दुईमाजुलाई व्यापारिक केन्द्र बनाइन् ।
हनुमानढोका तलेजु भवानीसँग घनिष्ठ सम्बन्ध रहेको ऐतिहासिक, साँस्कृतिक एवम् धार्मिक स्थलका रुपमा रहेको दुईमाजु गुठी अतिक्रमण हटाउन सम्पदा बचाऊ अभियान्ताले धर्ना समेत बसे ।
यससँगै गुठी संस्थानले दुईमाजु गुठीको सम्झौता रद्ध गरी जग्गा खाली गर्न निर्देशन दिइसकेको छ । तर अहिलेसम्म यो स्थान खाली भने हुन सकेको छैन ।
यसरी पटकपटक खुलामञ्च अतिक्रमणमा परिरहेको छ । सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा विभिन्न बाहनामा खुलामञ्च कतै व्यापारिक केन्द्र बनिरहेको छ भने कतै पार्किङ र निर्माणका सामग्रीले भरिएको छ ।
अकुपाइ टँडिखेल शुरु हुने
२३ गते अर्थात् आउँदो शनिवार विश्व स्वतन्त्रता दिवसका अवसर पारी अकुपाइ टुँडिखेल अभियान शुरु हुने भएको छ ।
जनप्रतिनिधिकै संलग्नतामा टुँडिखेल लगातार साँघुरिँदै गइरहेको र अझैं साँघुरिने अवस्था रहेकाले ‘काठमाडौंको मुख्य क्षेत्र टुँडिखेल’ खुला गर्न र जनताको स्वामित्वमा ल्याउनका लागि दबाब दिने उद्धेश्यसहित स्वतन्त्र नागरिक अभियान सञ्चालन गर्न लागिएको हो।
अकुपाइ टुँडिखेलमा जनतादेखि जनप्रतिनिधिसम्म समर्थनमा उत्रने अभियानको अपेक्षा छ । त्यसकालागि अभियानले विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरुलाई सहभागि हुन आह्वान गरेको छ ।
अभियानमा सहभागी हुन विद्यालय, कलेज, विभिन्न संघ संस्थाहरुलाई समेत आग्रह गरेको छ । साँस्कृतिक अभियानका रुपमा सञ्चालन गरिने अकुपाई टुँडिखेल अभियानमा बाजागाजासहित प्लेकार्ड लिएर चारैतिरबाट टुँडिखेल घेराउ गरिनेछ ।
अभियानको पहिलो शनिवार सबैभन्दा बढि अतिक्रमणमा परेको खुल्लामञ्चको पुरै क्षेत्रमा मानव साङलो लगाएर आधा घण्टासम्म घेरा लगाउने तयारी गरेको अभियानका संयोजक बिजय श्रेष्ठले खबरहबलाई जानकारी दिए ।
‘टुँडिखेलबाट शुरु गरेर देशभरिका खुला स्थान जोगाउन दबाब दिने अभियान हो’ श्रेष्ठले भने ‘यो अभियानले सर्वसाधरणलाई खुल्ला ठाउँको महत्व बुझाउनेछ’ ।
‘यो कुनै राजनीतिक अभियान होइन र विरोध पनि हुँदैन’ उनले भने ‘यो त विशुद्ध नागरिक अभियान हो, यसले जनता र जनप्रतिनिधिलाई जानकार दिनेछ’ ।
टुँडिखेललाई दीर्घकालीन रुपमा नै खुल्ला गर्नुपर्ने बताउँदै उनले वेथिति गरी बनाइएका टहरा, पार्किङ, अस्थायी बसपार्क, सेनाको भवन सबै हटाउनुपर्ने बताए ।
३ महिनासम्म हरेक शनिवार अभियान
अभियानका संयोजक श्रेष्ठकाअनुसार ३ महिनासम्म हरेक हप्ताको शनिवार यो अभियान निरन्तर चलिरहनेछ ।
‘यसमा अन्य चित्र/नाटक, साँस्कृतिक कार्यक्रम, फोटोप्रदर्शनी, खुलामञ्च सम्बन्धि विभिन्न कविता प्रवचन लगायतका कार्यक्रमहरुसमेत हुनेछ’ उनले भने ‘टुँडिखेल हामी सबैले मिलेर संरक्षण गर्यौ’ ।
पुरै टुँडिखेल खुल्ला गर्नुपर्छ भन्दै थालिएको अभियानले टुँडिखेलभित्र रहेको सेनाको भवन पनि सार्नुपर्ने दबाब दिने भएको छ ।
‘साँस्कृतिक, प्राकृतिक र राजनीतिक सबै हिसाबले ऐतिहासिक महत्व बाकेको ठाउँ हो टुँडिखेल’ श्रेष्ठले भने ‘टुँडिखेलको कुरुपलाई सरकारले चाहने हो भने हटाउन सक्छ, सेनाको भवन पनि सार्नु पर्छ’ ।
प्रतिक्रिया