मिर्गौला प्रत्यारोपणबारे ओलीको चाहना : तत्काल नगरौं, चिकित्सक भन्छन्- ढिला हुन्छ ! | Khabarhub Khabarhub

मिर्गौला प्रत्यारोपणबारे ओलीको चाहना : तत्काल नगरौं, चिकित्सक भन्छन्- ढिला हुन्छ !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् ।

मिर्गौलामा समस्या देखिएपछि कात्तिक १३ र १४ गते ग्रान्डी अस्पतालमा भर्ना भएर प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको थियो ।

ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा समेत पानी जमेको देखिएपछि प्रधानमन्त्री ओली कात्तिक १७ गते आइतबार टिचिङ अस्पताल पुगेका थिए । त्यहाँ प्रधानमन्त्रीको छातिको एक्स–रे गरिएको थियो । छातिको एक्सरेमा फोक्सोको पानी नदेखिएको चिकित्सकहरुले बताएका थिए ।

ग्राण्डी अस्पतालबाट फर्किएपछि प्रधानमन्त्री ओली निरन्तर रुपमा चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रधानमन्त्री ओली स्वयंले आफू अध्यक्ष रहेको पार्टी (नेकपा) को सचिवालय बैठकमा स्वास्थ्यबारे नेताहरुलाई जानकारी गराउँदै आफूसँग नियमित डायलाइसिस वा पुन प्रत्यारोपण मध्ये एक विकल्प भएको बताएका थिए ।

‘नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण मध्ये एक विकल्प छ, डाक्टरहरु छलफलमा हुनुहुन्छ’ ओलीले बैठकमा भनेका थिए ।

चिकित्सकको सुझाव–प्रत्यारोपणको विकल्प छैन

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर चिकित्सकहरु नियमित रुपमा छलफलमा रहेका छन् । चिकित्सकहरुले प्रधामन्त्रीको मिर्गौला प्रत्यारोपणको विकल्प नभएको र सकेसम्म चाँडो गर्न सुझाव दिएको उपचारमा संलग्न एक जना चिकित्सकले खबरहबलाई बताए ।

‘यही स्थितिमा मिर्गौलाले काम गर्ने अवस्था छैन, त्यसैले प्रत्यारोपणको विकल्प छैन’ उपचारमा संलग्न एक चिकित्सकले भने,‘यसबारे हामीले उहाँ(प्रधानमन्त्री)लाई पनि जानकारी गराएका छौं ।’

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि एक व्यक्तिलाई तयारी अवस्थामा राखिएको समाचार खबरहबले यसअघि नै प्रकाशन गरिसकेको छ ।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।

प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणका लागि दुईवटा देशमा लैजान सकिने सम्भावनाबारे छलफल भइरहेको श्रोतले बतायो ।
‘प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणका लागि अमेरिका र सिंगापुरको सम्भावना रहेको छ’ श्रोतले भन्यो,‘पहिला पनि सिंगापुरमा उपचार गरेका कारण अलिबढी सम्भावना सिंगापुरमा रहेको छ ।’

चिकित्सकहरुले तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने निश्कर्ष निकाले पनि प्रधानमन्त्री ओलीले भने प्रत्यारोपणलाई केही पर सार्ने बारे चिकित्सकहरुसँग परामर्श गरिरहेका उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

यसैबीच प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह अमेरिका भ्रमणमा रहेकी छिन् । एक कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेकी साहले अमेरिकामा मिर्गौला प्रत्यारोपणको अवस्था र सम्भावना वारे त्यहाँका चिकित्सकसँग समेत परामर्श गर्ने श्रोतको दाबी छ ।

‘अमेरिकामा मिर्गौला प्रत्यारोपणको सम्भावना कतिको छ भन्ने बारेमा उहाँ(शाह)ले जानकारी लिनुहुन्छ’श्रोतले भन्यो,‘सिंगापुर वा अमेरिका मध्ये कहाँ गर्दा उपयुक्त हुन्छ भन्ने बारे जानकारी लिन यसले सहयोग पुग्छ ।’

ओलीको चाहना– तत्काल नगरौं !

चिकित्सकहरुले तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने निश्कर्ष निकाले पनि प्रधानमन्त्री ओलीले भने प्रत्यारोपणलाई केही पर सार्ने बारे चिकित्सकहरुसँग परामर्श गरिरहेका उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

चिकित्सकले जतिसक्यो चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएपनि प्रधानमन्त्री ओलीले भने मंसिर १४ (उपनिर्वाचन) पछि मात्र मिर्गौला प्रत्यारोपण गर्ने चाहना व्यक्त गरेका छन् ।

त्यस्तै ओलीले मिर्गौला प्रत्यारोपण अघि मन्त्रिमण्डल पुनर्गठन गर्ने योजना बनाएको श्रोतको दाबी छ ।

‘प्रत्यारोपण गरेपछि लामो समय आराम गर्नुपर्ने भएकाले उहाँले प्रत्यारोपण पूर्व नै मन्त्रिमण्डल पुनर्गठन गर्ने र उपनिर्वाचनलाई पनि असर गर्ने हुनाले यो दुई काम सकिएपछि मात्र गर्न पाए हुँन्थ्यो भन्ने छ,’ श्रोतले भन्यो,‘तर चिकित्सकले भने त्यति बेलासम्म ढिला हुने बताइरहेका छन् ।’

बुधबार सिंगापुर जाने ?

चिकित्सकहरुले थप उपचारका लागि आगामी साता सिंगापुर जान प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । ‘अर्को साता बुधबार जाने विषयमा कुराकानी भएको छ’ उपचारमा संलग्न चिकित्सकले भने,‘तर यसबारे कुनै ठोस निर्णय पीएम ज्यूले दिनुभएको छैन ।’

राजीनामा नदिने ‘मुड’

स्वास्थ्य अवस्था ठिक नभएका कारण विश्राम लिन प्रधानमन्त्री ओलीलाई विपक्षीदेखि आफ्नै दलका नेता कार्यकर्ताले आग्रह गर्दै आएका छन् । तर प्रधानमन्त्री ओली भने तत्कालै राजीनामा नदिने बालुवाटार श्रोतले बतायो ।

‘प्रत्यारोपण पछि लामो समय आराम गर्नुपर्ने भयो भने पनि प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्री दिने र पार्टीमा पनि अर्का अध्यक्षले केही समय चलाउने गरि दिने मनस्थिति उहाँ(ओली)ले बनाएको बुझिएको छ’ श्रोतले भन्यो ।

पहिलो पटक प्रधानमन्त्री हुँदा वाहवाइ कमाएका र रुचाइएका ओली पछिल्लो पटक प्रधानमन्त्री हुँदा त्यो अवस्थामा छैनन् । त्यसैले ओलीले आफ्नो दोस्रो कार्यकालमा केही महत्वपूर्ण निर्णय लिने गरि काम गर्न चाहेका उनी निकट नेता बताउँछन् ।

यसअघि प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा बढेकाले त्यसलाई निकाल्न गत भदौमा प्लाज्माफेरासीस गर्न सिंगापुर गएका थिए । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा पुनः समस्या देखिएको हो । मिर्गौला रोग विशेषज्ञका अनुसार क्रियाटिटिन बढ्नुको अर्थ मिर्गौला पुनः बिग्रनु हो ।

चिकित्सकका अनुसार प्रायः मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको चिकित्सकको भनाइ छ ।

‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वस्थ्य भइरहँदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला बिग्रनु हो,’ एक मिर्गौला रोग विशेषज्ञले खबरहबसँग भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धी समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला बिग्रन्छ, कि त नियमति डायलाइसिस गरेर शरीरको फोहोर निकाल्नुपर्छ कि फेरि प्रत्यारोपण गर्नुपर्छ ।’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : ४२ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा