कहाँ हराउँछन् बालबालिका : ५ वर्षमा ६ हजार बढी गायब | Khabarhub Khabarhub

कहाँ हराउँछन् बालबालिका : ५ वर्षमा ६ हजार बढी गायब



काठमाडौं– प्रत्येक वर्ष घरबाट हराउने बालबालिकाको संख्या बढ्दो छ । अभिभावले प्रहरीमा गरेको उजुरी अनुसार १० देखि १५ वर्षको उमेर समूहका बालबालिका धेरै बेपत्ता हुने गरेका छन् ।

बालबालिका खोजतलास समन्वय केन्द्र, काठमाडौंको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्र २ हजार २ सय १० जना बालबालिका हराए । यी मध्ये १ हजार ५० जना फेला परे पनि बाँकी १ हजार १ सय ६० जना अझै बेपत्ता छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ३ सय ३० जना बालबालिका हराएका थिए । ती मध्ये १ हजार १७ जना मात्र भेटिए । १ हजार ३ सय १३ जनाको कहाँ पुगे अत्तोपत्तो छैन ।

तुलनात्मक रुपमा पछिल्ला वर्षहरुमा फेला पर्ने बालबालिकाको संख्या एकदमै न्यून छ । बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालका अनुसार, उपत्यकाबाट हराएकामध्ये ७२ प्रतिशतमात्र बालबालिका फेला पर्दछ । देशभरको तथ्यांक अझै दुःखद् छ । देशभरको तथ्यांक हेर्दा हराएका मध्ये २२ प्रतिशत मात्र फेला पर्ने गर्दछन् ।

देशभरबाट कुन वर्ष कति हराए ?

आर्थिक वर्ष हराएका बालबालिका भेटिएका बालबालिका फेला पर्न बाँकी
२०७१/०७२ ७८६ ३०९ ४७७
२०७२/०७३ १५०२ ४०८ १०९४
२०७३/०७४ २७७२ ७२० २०५२
२०७४/०७५ २३३० १०१७ १३१३
२०७५/०७६ (फागुनसम्म) २२१० १०५० ११६०

स्रोत: बालबालिका खोजतलास समन्वय केन्द्र

बेपत्ता भएका बालबालिका नेपालभित्रै हराउने गरेको जानकारहरु बताउँछन् । हराएर मुलुक बाहिर पुगेका बालबालिकाको यकिन तथ्यांक छैन ।

केन्द्रका अनुसार गत वर्ष मात्र ४३ जना बालबालिका भारतका विभिन्न भागबाट नेपाल ल्याइएको थियो । केन्द्रमा परेको उजुरी हेर्दा १० देखि १५ वर्ष उमेर समूहका बालबालिका धेरै हराउने गरेका छन् । हराउनेमा बालक भन्दा बालिकाको संख्या धेरै छ ।

बाबुआमाले दोस्रो बिहे गर्दा छोराछोरी बेपत्ता

परिवारमा हुने कलह र तनावकै कारण बालबालिकाले घर छाड्ने गरेको पाइएको छ । साथीको लहैलहैमा पनि धेरैले घर छोड्ने गरेका छन् । केन्द्रका अनुसार भेटिएका बालबालिकाले बाबु तथा आमाको दोस्रो विवाह, विभिन्न प्रलोभन र लहैलहैमा घर छाडेको बताउने गरेका छन् ।

केन्द्रका प्रहरी निरीक्षक दाहाल भन्छन्– ‘प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोगबाट उनीहरुले गलत निर्णय लिने गरेको देखिन्छ । किशोरावस्थाको अपरिपक्व प्रेम र शहरी जीवन प्रतिको आकर्षणले घर छोड्छन् ।’

हराएका मध्ये धेरै यौन शोषणको शिकार हुने गरेका छन् । केही घरेलु कामदारका रुपमा कार्यरत त केही सडक बालबालिकाका रुपमा पनि भेटिने गरेको दाहालले बताए ।

हराउने धेरै काभ्रे र नुवाकोटका

हराउने बालबालिका धेरैजसो नुवाकोट र काभे्रपलाञ्चोक जिल्लाका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार सिन्धुपाल्चोक, रौतहट, रुकुम, रोल्पा लगायतका जिल्लाका विपन्न परिवारका बालबालिका हराएको उजुरी पनि धेरै आउने गरेको छ ।

अशिक्षा र गरिबीको पीडामा रहेका परिवारबाट बालबालिका बाहिरिने गरेका छन् । घरेलु कामदारका लागि दलालहरुले ललाईफकाइ लैजाने गरेको पनि पाइएको छ । दलालले फकाएका बालबालिका यौन हिंसा तथा बेचबिखनको शिकार हुने गरेका छन् ।

दुई वर्ष अघि बेलायतबाट प्रकाशन हुने पत्रिका द सन (The Sun) ले नेपालमा भूकम्प पीडित अर्थात् प्रभावित क्षेत्रका बालबालिकाहरु बेलायतमा बेचविखन तथा ओसरपसार भइरहेको तथ्य उजागर गरेको थियो ।

बेचविखन भएका ती बालबालीकाहरु घरेलु कामका लागि प्रयोग भएको खुलाइएको थियो । बेलायतमा बालबालिका ५ हजार २ सय ५० स्टर्लिङ पाउण्डसम्ममा किनबेच भएको पत्रिकाले उल्लेख गरेको थियो ।

बालबालिका देशको भोलिका कर्णधार हुन् । उनीहरुलाई उचित शिक्षा–दिक्षा प्रदान गरी योग्य र सक्षम नागरिक बनाउनु सरकारको कर्तव्य  हो । तर वर्षेनी हराउने बालबालिकाको संख्या बढिरहँदा समस्या समाधानको सट्टा बालबालिकालाई हेर्ने महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले ध्यानाकर्षण विज्ञप्ति निकाल्ने बाहेक अन्य प्रभावकारी पहल गरेको देखिँदैन ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ४४ बजे

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा