काठमाडौं–इलाम माइपोखरीकी कविता दाहाल वैदेशिक रोजगारीका लागि ओमन पुगेको ४ वर्ष ९ महिना भयो । यो बीचमा उनी एक पटक पनि घर फर्केकी छैनन् । उनी नेपाल नफर्किनुको मूख्य कारण भनेको पुनः श्रमिक स्वीकृति लिएर ओमन जान्न नपाइने डर हो ।
‘म ओमन आएको ४ महिनापछि सरकारले घरेलु महिला कामदार खाडीका देश पठाउन बन्द गर्यो । मेरो करार अवधि सकिएको पनि २ वर्ष ३ महिना भयो । मैले काम गर्ने घरमा नेपालमा भन्दा सुरक्षा छ,’ सामाजिक सञ्जालमार्फत गरिएको कुराकानीमा उनले भनिन्, ‘मासिक ५० हजार कमाइ हुन्छ । काम पनि सजिलो छ । तर, घर फर्किन पाइएन । दुःख लाग्छ । साहुले बिदामा गएर आउ भन्छन । घर पुगेपछि यहाँ आउने वातावरण छैन । अनि बाध्य भएर बिदा पाएपनि यही बस्नुपर्ने अवस्था छ ।’
सबै घरेलु काम गर्ने आउने महिलालाई एउटै ठाँउमा राखेर सरकारले हेर्दा घर फर्कन नसकेको उनको भनाई छ। उनी भन्छिन्–‘सौहार्दपूर्ण वातावरणमा नेपालमा भन्दा राम्रो सेवासुविधासहित काम गरिरहेका कामदारलाई फेरि काममा फर्कने वातावरण सरकारले बनाउनुपर्छ । म जस्ता धेरै महिलाहरु विदेशबाट घर फर्कन नसक्ने अवस्थामा छन् । यो समस्याको समाधान सरकारले खोज्नुपर्छ । सुरक्षाका नाममा हाम्रो रोजिरोटी खोसिनु हुँदैन ।’
सरकारले ४ वर्षअघि मलेसिया र खाडीका देशमा घरेलु कामका लागि महिला कामदार पठाउन रोक लगाएपछि धेरै महिला श्रम अवधि सकिएपनि स्वदेश नफर्कि स्रोत देशमा कम्पनीको शरण लिएर अवैध ढंगले बसेर काम गर्दै आएका छन् । खाडीमा घरेलु कामदारमाथि भएको शोषण तथा तस्करीको कारण देखाएर हाउसमेडमा नेपाली महिला जान सरकारले रोक लगाएको छ।
धनकुटाकी सविता क्षेत्री पनि रोजगारीका लागि युएई गएको ५ वर्ष भयो । उनी यो अवधिमा एक पटक पनि फर्केकी छैनन् । एक पसलमा काम गर्दै आएकी उनी काम गर्ने ठाउँमा स्वतन्त्र भएर सुरक्षित रुपमा काम गरेपनि नेपालको वैदेशिक रोजगार नीतिका कारण बिदामा घर फर्कन नसकेको बताउँछिन् ।
‘परिवारसँग भेटन मन छ । म विदेशी आउदाँ सात पढ्ने मेरो छोरो एसईई पास गर्यो । म भने एक पटक पनि घर फर्कन पाएको छैन । परिवारसँग फोनमा कुरा हुन्छ । छोरा र श्रीमानसहित अन्य परिवारसँग भेट्न नपाउदाँ नराम्रो लाग्छ । परिवार सम्झेर धेरै पटक एक्लै रोएकी छु,’ क्षेत्रीले भनिन्, ‘नेपाल आएपछि पुनः आउन पाइर्दैन । जसका कारण श्रम अवधि सकिएपनि यतै बसेर काम गरिरेको छु । मलाई असुरक्षा र कुनै समस्या छैन । साहुले नेपालमै काम गरेको जस्तो व्यवहार गरेका छन् । काम राम्रो छ । सेवासुविधा पनि राम्रो छ । हाम्रो पीडा सरकारले सुनेन् । सुनेपनि बुझ्नै सकेन ।’ उनले खाना बस्न सुविधासहित मासिक ४५ हजार कमाई गर्दै आएकी छन् ।
४ वर्ष अघि मलेसिया पुगेकी धरानकी लीला लिम्बूको पीडा पनि उस्तै छ। घर गएपछि फेरि फर्कन नपाउने डरले उनी पनि स्वदेश फर्कन सकेकी छैनन् । छोराछोरीको शिक्षा दिक्षा र परिवार पाल्ने माध्यम मलेसियाकै कमाइ भएको उनले बताइन । ‘मलेसियाबाट काम छोडेर घर गयो भने फेरि सरकारले आउन पुनः श्रम स्वीकृति दिँदैन् । जसका कारण घर नै मायाँ मारेर यत्तै काम गदै बसेको छु ।’ उनले भनिन, ‘घर बिदामा जाने भनेर धेरै पटक मलेसियास्थित नेपाली दुतावासमा सम्र्पक गरेर सोध्दा नेपालबाट पुनः श्रम स्वीकृति दिँदै भनेर दूतावासले भनेपछि अवैध ढंगमा काम गदै बसेकी छु ।’
कविता, सविता र लीलाजस्तै २ लाखभन्दा धेरै नेपाली महिला खाडीका देश र मलेसियामा अवैध ढंगले काम गदै बसेका छन् । सरकारले ४ वर्षदेखि घरेलु महिला कामदारका विषयमा आधिकारिक निर्णय गर्ने नसक्दा पुनः जान्न नपाउने डरले धेरै श्रम अवधि सकिएका महिला स्वदेश फर्किन पाएका छैनन् ।
२०७२ साल चैतदेखि व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले घरेलु कामदार सम्वन्धी निर्देशिका कार्यान्वयन गर्न प्रतिवन्ध लगाएपछि श्रम तथा रोजगार मन्त्रालयले सबै प्रकारका घरेलु महिला कामदारलाई श्रम स्वीकृति रोकेको थियो । त्यो भन्दा आगाडी गएका सबै घरेलु महिला कामदारको श्रम अवधि सकिएको छ । करिब २ लाख महिला कामदार खाडी र मलेसियामा अवैध रुपमा काम गरिरहेको अनुमान छ ।
श्रम अवधि सकिएपनि स्वदेश नफर्की काम गरिरहेका महिला तथा अन्य कामदार स्वदेश फर्काउने वातावरण सरकारले बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दालाहले बताए ।
वैधानिक बाटो बन्द भएपछि तस्करी
वैधानिक बाटोबाट घरेलु महिला कामदार पठाउन सरकारले रोक लगाएपनि मानव तस्करहरुले विभिन्न देशको बाटो हुँदै नेपाली महिला खाडीका देश र मलेसिया लैजाने गरेका छन् ।
हाल भारत र बंगालदेश हुँदै दैनिक २ सयभन्दा धेरै नेपाली महिला खाडीका देश र मलेसिया पुर्याइने गरेको महिला बेचबिखनविरुद्ध काम गरिरहेका सामाजिक संस्थाले गरेको अध्ययनमा देखिएको छ।
सरकारले खाडी र मलेसियामा घरेलु महिला कामदार पठाउन रोक लगाएर तस्करीलाई सहज बनाएको उनीहरुको आरोप छ । सरकारले रोक लगाएपछि ४ वर्षको अवधिमा खाडी मुलुक र मलेसिया भारतको बाटो हुँदै १ लाखभन्दा धेरै महिला हाउसमेडमा पुर्याएको अनुमान ती संस्थाको छ ।
दैनिक एक जना तस्करीले २० जनासम्म महिला रोजगारीको प्रलोभन देखाएर तस्कर गर्ने खोजिरहेको हुने पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङले बताइन् । सरकारले वैधानिक बाटो रोकेपछि महिलाको तस्करी बढिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया