अस्ट्रेलिया– दर्शकले भरिएको तासमान हलभित्र जतिबेला ‘रातो र चन्द्रसूर्जे’ गीतको आवाजसँगै जताततै उफ्रिरहेका शरिरहरु देखिन सुरुभएका थिए त्यतिबेलै हल बाहिर आकाशमा पनि अस्ट्रेलियाको झण्डासँगै नेपालको विशाल झण्डा फर्फराइरहेको थियो ।
नेपालभन्दा धेरै परको अस्ट्रेलिया, अनि अस्ट्रेलियाको मूल भूमिभन्दा अझ पर समुद्रको यो टापु राज्य तासमानिया । पृथ्वीको पिँध अर्थात् एन्टार्कटिका महादेशसँग नजिकै हुनेगरि यति पर यो अनकन्टारमा अस्ट्रेलियाको समकक्षमै नेपाली झण्डा फहरिएको देखिनु नेपाली मनको लागि गौरवबोध थियो । त्यसैले आइतबार बेलुकी होबार्टको यो कार्यक्रमस्थलमा आइपुगेका प्रायः दर्शकहरु हलभित्र पस्नुभन्दा अघि धमाधम नेपाली झण्डा सामुन्ने ‘सेल्फी’ खिच्दै रमाइरहेका देखिन्थे ।
अढाइ लाख जनसंख्या पनि नभएको अस्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या पनि बढ्न थालेको छ । यस्तो अवस्थामा तासमान हल रहेकै रेस्टप्वाइन्ट होटलमा केहिदिन अघि मात्र नेपथ्य टोली आइपुगेको थियो । टोली आइपुग्नेबित्तिकै नेपालीहरुको सम्मानमा होटलले प्रवेशविन्दुमै रहेको आफ्नो राष्ट्रिय झण्डाको छेवैमा उत्रै आकारको नेपाली झण्डा फहराइदिएको थियो ।
‘नेपथ्य आउनु अगावै हामीले होटल व्यवस्थापनलाई संसारभर फैलिएका नेपालीहरुका निम्ति यस ब्याण्डको महत्व अवगत गराइदिएका थियौं,’ स्थानीय आयोजक टोलीका छत्र थापा भन्छन्, ‘त्यसपछि उनीहरुले नै यसरी झण्डा फहराइदिने निर्णय गरिदिँदा ब्याण्ड मात्र नभएर यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीले सम्मानित महशुस गरेका छौं ।’
निर्धारित समयमै बेलुकीको ठीक सात बजे नेपथ्य कन्सर्टको चीरपरिचित घडी रोकिनेबित्तिकै ‘सा कर्णाली’ गीतको म्यूजिक भिडियो पर्दामा बग्न थालेको थियो । त्यसपछि कवि तुलसी ‘दिवस’को रचनामा ब्याण्डले हालसालै तयार पारेका नयाँ गीत ‘सम्झिराख’ को भिडियो देखाइयो । त्यसलगत्तै सुरुभएको कन्सर्ट अवधिभर नेपथ्यले आफ्नो होबार्टको पहिलो कार्यक्रमका श्रोताहरुलाई पुराना र नयाँ गीतहरुको संगालो सुनाएको थियो ।
‘नेपथ्यले तासमानियामा बसोबास गर्दैआएका हामीमाझ एकसाथ पर्वको माहोल र नेपालीपनको गौरवबोध बोकेर ल्याइदिएको छ,’ रोजिना ताम्राकार भनिरहेकी थिइन्, ‘कन्सर्टसँगै यसरी जमघट हुने विरलै मौका जुराइदिएकामा धन्यवाद पनि दिन चाहन्छौं ।’
तीन वर्षअघि गरिएको जनगणनापछि ‘अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स’ले तासमानिया राज्यमा अंग्रेजी र चिनियाँपछि सबैभन्दा बढी बोलिने भाषा नेपाली भनेर उल्लेख गरेको थियो । यसरी उल्लेख्य संख्यामा बसोबास गर्दैआएका नेपालीहरुमाझ पछिल्लो समय नेपाली भाषी भुटानी शरणार्थीलाई समेत यता पुनस्र्थापन गराएपछि यस्तो तथ्यांक निस्केको बताइन्छ ।
आइतबारको कन्सर्टमा दर्शकहरुको हुलमै सन्देश परियार र जयराज घले पनि थिए । ‘हामी हुर्किएको नै नेपथ्यका गीतहरु सुनेर हो,’ जयराज भन्दै थिए, ‘यहाँ पनि बेलाबेलामा कार्यक्रम आयोजना हुँदा हामीले नेपथ्यकै गीत गाएर सुनाउने गरेका छौं ।’
तासमानियामा वर्षेनी संगीत र कलाको वृहद् ‘डार्क मोफो फेस्टिबल’ आयोजना हुनेगरेको छ । पछिल्लोपटक त्यस महोत्सवमा आफूहरुले नेपथ्यकै गीत गाएर सुनाएको जानकारी पनि जयराज र सन्देशले दिए । ‘जसको गीत गाएर यहाँका दर्शकलाई सुनाउनुमा हामी रमाउँथ्यौं, त्यही ब्याण्डलाई यहाँ पाउँदा कम्ती खुशी लागिरहेको छैन,’ जयराज भनिरहेका थिए, ‘यो सपना साकार भएजस्तै क्षण हो ।’ होबार्टमै क्रियाशील उनीहरुको ब्याण्डमा जयराज गाउने गर्छन् भने सन्देश गितार बजाउँछन् ।
‘नेपथ्यको कन्सर्ट योसमेत गरेर मैले चारपटक हेर्न पाएँ,’ सन्देश भनिरहेका थिए, ‘पहिलोपटक मेरो घर दमकमा शान्तिको लागि शिक्षा अभियानमा हेर्नपाएको थिएँ भने त्यसपछि लगातार दुइवटा कन्सर्ट सिड्नीमा हेरेको थिएँ । नेपाली संगीत क्षेत्रमा नेपथ्य जस्तो ब्याण्ड पाउँदा हामीजस्ता संगीतकर्मीहरुलाई गौरव महशुस हुन्छ,’ सन्देशले भने ।
यसवर्ष जारी अस्ट्रेलिया यात्राका दौरानमा तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको चौथो प्रस्तुती थियो । यसअघि ब्रिसबेन, डार्बिन र एडिलेडमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् ।
तासमानियामा नेपाली लोकरक घन्काएसँगै नेपथ्य यात्रा अब पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ । अस्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले डिसेम्बर १४ तारिखको दिन आफूलाई प्रस्तुत गर्दैछ । यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’ स्थित बिग टप अडिटोरियममा तय गरिएको छ । नेपथ्यले यसअघि पनि उक्त हलमा आफुलाई केहिपटक प्रस्तुत गरिसकेको छ ।
यस वर्षको नेपथ्य अस्ट्रेलिया श्रृंखलाको अन्त्य भने मेलबर्नको क्राउन स्थित ‘द पाम्स’ मा पुगेर हुनेछ । नेपथ्यको यस वर्षको यात्रा संयोजन सिड्नीस्थित ‘नेपाली टच’ले गर्दैआएको छ भने तासमानियामा चाहिँ ‘तास इभेन्ट’ले आयोजना गरेको थियो ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई मंचमा, ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
प्रतिक्रिया