काठमाडौं– नेपालकी अल्ट्रा रेस धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।
नेपालमा उकालीओराली दौड खेल (ट्रेल रनिङ) प्रवर्द्धन तथा उक्त खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त धाविका राईलाई अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटीले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
काठमाडौंस्थित प्रिसिडेन्टल विजनेस स्कुलद्वारा सोमबार आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र उक्त विश्वविद्यालयका प्राडा डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा उपाधि प्रदान गरेका हुन् ।
“मैले जीवनमा कति कोस दौडेँ, अझै कति दौडिनेछु । यो उपाधि पाउँला भन्ने सोचेको थिइन । उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो । तर उपाधि पाएँ । योभन्दा अरु के खुशी हुन सक्छ रु”, उपाधि पाइसकेपछि उनले भनिन्, “जीवनदेखि हार मान्नु हुँदैन, केही गर्छु भन्ने आँट चाहिन्छ । म कक्षा ७ मा अध्ययन गर्दागर्दै विद्यालय छाड्नुपर्यो । जीवनदेखि हार नखाई अगाडि बढिरहेँ । ट्रेल अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो भएँ । अझै केही गरुँ जस्तो लागिरहेको छ ।”
सो अवसरमा उपराष्ट्रपति पुन र प्राडा मेकेनीले अमेरिकाको उक्त विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको प्रिसिडेन्टल स्कुलबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । स्कुलका निर्देशक लक्ष्मण केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गरे ।













प्रतिक्रिया