लोकप्रिय हुँदै लोकगीत | Khabarhub Khabarhub

लोकप्रिय हुँदै लोकगीत



लोकशैलीका गीतले नेपाली संगीत क्षेत्रलाई लोकमय बनाएको छ केही वर्षयता । सिनेमा, आधुनिक र पप गीतमा पनि लोक फ्लेवरको प्रयोग गर्न थालिएको छ ।

कुनै समय लोकगीत भनेपछि नाक खुम्चाउने वर्ग अहिले लोकगीतमा छमछमी नाच्न थालेका छन् । झलकमान गन्धर्व, कुमार बस्नेत, राम थापाजस्ता ‘भेट्रान’ गायकका गीत अहिले दैनिकजसो नयाँ भर्सनमा ‘कभर’ गरिन थालेका छन् ।

नेपालीले मात्र होइन, विदेशी कलाकारले पनि नेपाली लोकशैलीका भाका रुचिका साथ गुनगुनाउन थालेका छन् ।

लोकगीतले आफ्नो छुट्टै बजार निर्माण गरिरहेका बेला चलचित्रका गीत र आधुनिक गीतमा पनि लोकशैली नै प्रयोग थालेका छन् । पछिल्लो समय ठूलो संगीत पारखी जमातले नेपाली लोकगीतलाई रुचाएका छन् ।

सालको पात टपरी, लालुमै, बाडुल्की, पानी सलल, चोली ढाकाको, गलबन्दी लगायतका गीत दर्शकले निकै रुचाएका छन् । दैनिकजसो युट्युबमा अपलोड हुने लोकगीतका भिडियोले पनि लाखौँ दर्शकको मन जितेका छन् ।

अझ रमाइलो कुरा त लोकगीतका गीतमा चल्तीका नायक नायिकाले पनि छमछम नाच्न थालेका छन् । यसलाई लोक संगीत बजारको परिवर्तनका रुपमा हेरिएको छ ।

संगीतकार राजनराज शिवाकोटी भन्छन्, ‘अहिले लोकगीत नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीमाझ पनि उत्तिकै गर्वको विषय बनेको छ ।’

शिवाकोटीका अनुसार लोकगीत भनेको नेपालीको आफ्नै पहिचान हो । ‘संसारभरि फैलिएका नेपालीलाई यही कारणले पनि लोकगीतप्रति झुकाव छ,’ शिवाकोटी अगाडि थप्छन्, ‘संसारको जुनसुकै ठाउँमा भए पनि नेपालीले आफ्नै देशको गुन्द्रुक नै सम्झेको हुन्छ, हाम्रो नशानशामा आफ्नै कला, संस्कृति, धर्म र भेष छ ।’

कार्यक्रमका सिलसिलामा विदेशमा रहेका नेपालीसँग पनि घुलमिल हुने मौका पाएका गायक तथा संगीतकार शिवाकोटी भन्छन्, ‘हामीले भन्दा पनि बाहिरै बसेर उतै जन्मेका केटाकेटीलाई नेपाली र नेपाली संगीत सिकाइएको हुन्छ, जहाँ भए पनि हामी हाम्रो आफ्नोपनमा रमाएका हुन्छौँ ।’

उनका अनुसार लोकगीत भनेको नेपालीको आफ्नै पहिचान हो, जसले पूरै विश्वमा छुट्टै पहिचान दिनसक्छ । कुनै विदेशीले आजभोलि नेपालीलाई तिमीहरुको संगीत कस्तो हुन्छ भनेर सोध्न थालेका छन् । यसको प्रभावले पनि नेपालीले लोकगीत सुन्दा गर्व गर्न थालेको छ ।

तर, राजनराज शिवाकोटी पछिल्लो समयमा आएर मात्र लोकगीतको युग फर्किएको भन्नेमा भने सहमत छैनन् । लोकगीत अहिले मात्र नभएर सधै दर्शकको मनमा बसेको उनको भनाइ छ ।

‘पहिले पनि लोकगीतहरु सुनिन्थे, गाउँतिर उत्तिकै सुनिन्थे, रेशम फिरिरी, पानको पात, वारि जमुना लगायत कैयन् गीत नेपालभर गुञ्जिन्थे,’ उनी भन्छन्, ‘हो, तर पछिल्लो समय लोकगीत सुन्न लाज मान्ने दर्शकले पनि यी गीत सुन्न थालेका चाहिँ हुन् ।’

संगीतकार बीबी अनुरागीको धारणा पनि उस्तै छ । उनको बुझाइमा पनि लोकगीत कहिल्यै ओझेलमा परेकै थिएन । पहिले पनि आम समुदायलाई लोकगीत नै मन परेको थियो । ‘अहिले आएर लोकगीत मन पराइएको भन्नेमा म सहमत छैन, पहिले गाउँमा लोकगीत खुबै सुनिन्थ्यो, अहिले शहरमा पनि सुनिन थालेको छ,’ अनुरागी भन्छन् ।

पहिले रेडियो नेपालबाट सबै खाले गीत प्रसारण भएका हुन्थे । ती गीतमा पनि लोकगीत बज्दा ती गीतबाट दर्शकले बढी आनन्द लिन्थे । अनुरागी भन्छन्, ‘लोकगीतमा लोकको आफ्नोपन छ, दैनिकी छ, आफ्नो जीवन तिनै लोकगीतमा भेटिएको लोकले पाउँछ, त्यही भएर त लोकगीत सधै स्रोताको मनमा छ ।’

त्यसो त पछिल्लो समय लोकगीतको शैली पनि फेरिएको छ । कुनै समय लोकगीतमा प्रयोग गरिने बाजामा पश्चिमा बाजाको प्रयोग गरिएको हुँदैनथ्यो । आजभोलि भने लोकगीतमा आफ्नो मौलिकपन त छँदैछ, त्यसमा पनि नयाँपनको खोजी गरिन थालिएको छ ।

‘पछिल्लो समय मिडियामा लोकगीत बढी चलेको जस्तो देखिएको छ, यसको एउटा कारण त के हो भने गाउँका धेरै मान्छे शहरमा बसाइ सर्नुभएको छ,’ संगीतकार अनुरागी शहरमा पनि लोकगीत रुचाइनुको कारणबारे भन्छन्, ‘पहिलो कुरा त हामीले गीतमा नयाँ प्रयोग गरिरहेका छौँ, संगीत संयोजन फरक छ, अर्कातिर गाउँका स्रोता शहर पस्नुभएको छ, यसले पनि गीत झन् धेरै सुनिएको हो ।’

काठमाडौंका रैथानेले यहाँको आफ्नै संस्कृतिको गीत हेर्ने र बाहिरबाट आएकाहरुले खासगरी लोकगीत सुन्ने गरेको अनुरागीको भनाइ छ । उनी भन्छन्, ‘लोकगीत जहिले पनि सदावहार छ, सधै मन पराइएको छ, बरु लोकगीतका स्रोता झनै थपिएका हुन् ।’

वरिष्ठ गायक कुमार बस्नेतले भने पछिल्लो समय बजारमा आएका गीतबारे त्यति जानकार देखिँदैनन् । अहिलेका गीतहरु विशुद्ध लोकगीत हुन नसकेको उनलाई लाग्छ । तर, अहिले फेरि लोकगीत नै मूलधारको संगीत भइरहेकोप्रति भने उनी खुशी जनाउँछन् । उनी भन्छन्, ‘लोकगीत त सधै सुनिएकै छ, रियालिटी शो पनि भइरहेका छन्, तर हाम्रो गीतहरु चोरेर पो हैरान पारे त, अब कसलाई के भन्ने खै?’

‘नेपाली भएर नेपालीलाई माया गरेको त धेरै राम्रो हो, आखिर लोकगीत नै त हाम्रो देशको शान हो,’ बस्नेत सुनाउँछन् । उनी नेपाली लोकगीत नेपालको संस्कृति र प्राण भएकाले सबैले माया र जगेर्ना गर्नुपर्ने धारणा राख्छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ८ : ०५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी