राजनीतिक परिवर्तन भए पनि जनताको आर्थिक स्थिति सुध्रिएन « Khabarhub

राजनीतिक परिवर्तन भए पनि जनताको आर्थिक स्थिति सुध्रिएन

देश विकासका लागि स्रोतसाधन अनुसार काम हुनुपर्छ



हाम्रो देशले २००७ सालको राजनीतिक परिबर्तन हुँदै २०४६ साल र २०६३ सालको ब्यापक राजनीतिक परिवर्तनको पनि एक दशक पार भयो ।

राजनीतिक धेरै परिवर्तन भएपनि नेपाल र नेपालीको अवस्था जस्ताको तस्तै छ । अर्थात आज हामी बिश्वका १० वटा निर्धनतम् मुलुकहरुमध्येको एक बनेर नेपाल अझै नाजुक र दयनीय स्थितिबाट गुज्रिरहेको अवस्था छ ।

यसका पछाडिका मूल कारणहरु सर्सरी केलाउँदा गलत राजनीतिक पद्धति, जनमुखी बिकास नीतिको अभाव, ब्याप्त भ्रष्टचार, गलत योजना र कार्यान्वयन पक्ष तथा अबाञ्छित बाह्य दबाव र प्रभाव रहेको प्रष्ट थाहा हुन्छ ।

यद्यपि यो झण्डै सात दशकको योजनाबद्ध भनिएको बिकासको कालखण्डमा एकदमै केही बिकास नै भएको छैन भन्ने होइन । मात्रात्मकरुपमा निकै ठूलो परिवर्तन आएको देखिन्छ । तर त्यसको प्रतिफल भने केही टाढा बाठा अभिजात बर्गीय सीमित र सानो समूहले मात्र उठाएको छ ।

बहुसंख्यक आम जनताको आर्थिक स्थिति अत्यन्तै नाजुक र दिनानुदिन झनझन तल तल झर्दै गएको आजको यथार्थ वास्तविकता हो । कृषि, उद्योग, बन्द ब्यापार आदि आधारभूत सबै क्षेत्रमा जस्तो स्थिति आज बिद्यमान छ, त्यसले नै एकदमै प्रष्ट पार्दछ कि सबैतिरबाट बञ्चनामा परेको आम जन समुदाय र पिछडिएको क्षेत्रलाई माथि उठाउने र सन्तुलित किसिमले आर्थिक समाजिक बिकासलाई सही दिशामा अघि बढाउने कार्य बिल्कुलै हुन सकेको छैन ।

आज रोजगारीको खोजीमा दिनको सरदर २ हजारको दरले हाम्रो ऊर्जाशील यूवा शक्ति बिदेश पलायन हुन बाध्य हुनुले यही तीतो सत्य कुरालाई दर्शाउँदछ ।

एकातिर यस्तो दयनीय र सोचनीय अबस्था छ भने अर्कोतिर देशमा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित राजनीतिक पद्धतिलाई हुर्कन, बिस्तार हुन र सुदृढ हुन नै दिइएको छैन । निष्ठा, त्याग र समर्पणको सकारात्मक लोकतान्त्रिक मूल्य–पद्धतिबाट सत्तामा रहे बसेका राजनीतिक दलहरु नै स्खलित भएकाले गर्दा बिकासमा जन बिश्वास जगाउन, त्यसका लागि सक्रिय जन सहभागिता जुटाउन, तिनलाई परिचालन गर्न गराउन, अनुगमन गर्न गराउन तथा प्रतिफल उपभोगमा आम जनताको बर्चश्व स्थापित र कायम हुन सक्ने अबस्था नै सिर्जना हुने स्थिति बन्न सकेको छैन ।

फलतः योजना तर्जुमा गरिदा जनताको स्रोतसाधनमाथिको स्वामित्वको रक्षा र तिनको सही तरीकाले परिचालन गर्ने किसिमले सोचबिचार र नीति निर्माण पटक्कै हुन सकेको छैन र भएको छैन ।

आन्तरिक स्थिति यस्तो रह्यो भने नेपाली जनताका नाममा ल्याइएको ठूलो ऋण, सहयोग र अनुदान पनि पुरानै सामन्ती नब सासम्नती उत्पादन पद्धतिको संरचनाभित्रबाट बिकासको खोजी गरिदा आन्तरिक तथा बाह्य श्रोत साधनहरु सबै त्यही सामन्ती नबसामन्ती पद्धतिका दायरा भित्रै सीमित र कुण्ठित रहन पुगे ।

यसरी नेपालमा लगानी, उत्पादन,रोजगारी सिर्जनाको नयाँ चक्र नै जन्मेन । ढुकेर कमिशन खाने भतुवा पूँजीवाद नै फेरि पनि कायम रह्यो या जन्मियो । त्यसैलाई राजनीतिक भाषामा दलाल पूँजीबाद पनि भन्ने गरिएको हो ।

फलतः जनमुखी र बाञ्छित उपलब्धी हुन सक्ने आधारशिला र तदनुरुपको राष्ट्रिय पूर्वाधार नै तयार हुन सकेन । परिणामतः बिकासका अरु कुरा त टाढै छोडौं देशले बिकासको नाममा लिएको ऋण तिर्न पनि आज ऋण नै लिनुपर्ने दुर्दान्त अबस्था कायम रह्यो र त्यसल निरन्तरता पाइरह्यो ।

अर्कोतिर राष्ट्रिय हितको हिसावले पनि हाम्रो राष्ट्रिय बिकासको स्थिति अत्यन्तै नाजुक रहन गयो । राष्ट्रलाई सार्वभौमसत्ता सम्पन्न र बलियो बनाउन राष्ट्रिय श्रोत साधनको परिचालन राष्ट्र र जनताको हितमा प्रयुक्त गरिने प्रष्ट र पारदर्शी नीति अख्तियार गरिनु अत्याबश्यक हुन्छ ।

तर हाम्रो देशका अहिलेसम्मका योजनाहरु यसबाट या त प्रायः बिमुख नै छन् या उदासीन रहेका छन् । त्यसैको परिणति हो कि हाम्रो राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि नै आज ठूलो आँच पुगिरहेको छ । परिणामतः नेपालको राष्ट्रिय स्वाभिमान खस्किएको अबस्था आज बिद्यमान छ ।

यस्तो बस्तुगत अबस्थाले गर्दा हाम्रो राष्ट्रिय चरित्र नै सदिग्ध बन्दै आएको छ । हाम्रा शासकहरुले मित्र देशहरुसँग बिशेष र नाजुक बेलामा गर्ने गरिएका सन्धि सम्झैताहरु नै यसको साक्षी प्रमाणकोरुपमा रहेका छन् । यसरी हामी राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन गर्न नसक्ने अबस्थातिर दिनदिनै धकेलिदै आइरहेका छौ ।

पछिल्लो राजनीतिक परिवर्तन पछि पनि निरन्तर परामुखापेक्षी बन्ने र बाह्यमुखी हुने स्थिति कायम रहनुले पनि यही वास्तविकतालाई उजागर गर्दछ । भारतीय अभिजात बर्गीय शासन सत्ताको नेपालमाथिको पछिल्लो अघोषित नाकाबन्दी र अहिलको सीमा नक्सा अतिक्रमण पछि त यो कुरा झनै खुलस्त र प्रष्ट भएको छ ।

वास्तवमा जसरी नेपालमा चुनाव हुने, सरकार बन्ने र ढल्ने जस्ता कुरामा बाह्य हस्तक्षेप, दवाव र प्रभाव दशकौंदेखि देखिएको र पछिल्लो समय यता आएर झन बढेको छ त्यसले पनि वास्तवमा यही वास्तबिकतालाई नै औंल्याउँदछ ।

बिकासको अर्को घातक बाधा ब्यापकरुपमा माथिदेखि तलसम्म बढ्दो गतिमा ब्याप्त अजंगको भ्रष्टाचार र घोटाला हो भन्ने कुरा आज सबैमा जग जाहेर नै छ ।

भ्रष्टाचारको यो महामारी भाइरस रोग यति नराम्ररी फैलिएको छ कि यसले राजनीतिक दल, प्रशासन, ठेकदार माफियाहरुको सञ्जाल खडा गरेर यत्र तत्र सर्बत्र नकारात्मक प्रभाव पारेको छ । हुन पनि आज भ्रष्टाचार एउटा सामान्य प्रकृया नै हो र यसबाट बिमुख हुन सकिदैन भन्ने सँस्कृति नराम्रोसँग हुर्किदै र बढ्दै गएको छ र यसलाई प्रश्रय र प्रोत्साहन दिइएको छ ।

भ्रष्टाचारीहरुलाई चोख्याउने, सम्मान गर्ने र पदासीन तुल्याउने जस्तो जुन परिपाटी नेपालमा बसालिएको छ त्यसले गर्दा यसको नकारात्मक प्रभाव र परिणतिबाट लरतरो किसिमले छुट्कारा पाउने सकिने स्थिति पटक्कै बनेको छैन ।

भूकम्पले जनता मरुन् कि जनधनको क्षति होस् या भारतले नकाबन्दी गरेर आच्छु आच्छु पारोस् भ्रष्टचार, तस्करी, कालोबजारी र करछलीका घोटालाहरु चरम चुलीमा पुग्दारहेछन् भन्ने अनुभव हिजोदेखि अहिलेसम्म देशब्यापीरुपमा गरिएको छ ।

बास्तवमा जनता र राष्ट्रको बजेटलाई यसरी ठाडै हिनामिना गर्ने यस्तो डरलाग्दो भ्रष्टाचारको सञ्जाल तोड्न नसकेसम्म बाञ्चित र लक्षित बिकास सँधै कागजमा मात्र सीमित हुन पुग्ने कुरा पनि त्यत्तिकै सत्य रहेको आजसम्मको अनुभवले राम्रोसँग दर्शाएको छ ।

राजनीतिलाई आदर्श, सिद्धान्त, नीति र नैतकताच्यूत तुल्याएर घोर अवसरबादी भूमिका खेल्ने बातावरण बनाउने भूमण्डलीकृत बित्तीय पूँजीका कारण पनि हाम्रा जस्ता बिकासको चरणमा धेरै पछि परेका देशहरु अत्यन्तै अल्प बिकसित र कमजोर अबस्थाबाट गुज्रिन परेको कुरालाई समेत पटक्कै अनदेखा गर्न मिल्दैन ।

आजको भूमण्डलीकृत पूँजीले आफ्नो अधिकतम नाफाको निमित्त एकातिर बिकासशील देशहरुका श्रोत साधनहरु बाह्य शक्तिको मुनाफाको निमित्त प्रयुक्त हुन पुग्दछन् भने अर्कोतिर तत् तत् देशका आम जन साधारण श्रोतसाधनबिहीन भएर आफ्नो आँत सुकेको स्थिति र मरणासन्न अबस्थामा पुग्दछन् र पुग्दै आएका छन् ।

यो आजको कटु यथार्थ र अत्यन्तै बिडम्बनापूर्ण स्थिति हो । यी गम्भीर कुराहरुलाई गहिराइपूर्वक नकेलाई र तिनबाट छुटकारा पाउने सही बाटो अख्तियार नगरी देशलाई बिकासको सही मार्गमा फेरि पनि डोर्‍याउन बिल्कुलै सकिने छैन ।

हुन पनि पुराना मूल्य, मान्यता, सोच र दृष्टिकोणबाट डोरिने परिपाटी चलेसम्म बिकासका बाधाहरुलाई सही किसिमले चिन्हित गर्ने र तिनलाई हटाएर अघि बढ्ने सम्भावना नै पैदा हुदैन ।

न भ्रष्टाचार र कमिशनतन्त्रकै अन्त्य हुन्छ । न राष्ट्रिय अन्तर्राष्ट्रिय श्रोत साधनहरु जनता र देशका तत्कालीन र दीर्घकालीन हित तथा आवश्यकताका आधारमा प्रयुक्त र परिचालन हुन नै सक्तछन् ।

त्यसमा पनि आजको बद्लिएको भनिएको राजनीतिक परिप्रेक्षमा बिकसित राजनीतिक प्रणाली अनुरुपको अग्रगामी, जन उत्तरदायी र पारदर्शी बिकास पद्धति र प्रकृया के हुन सक्त छ त्यसलाई पहिल्याइनु र अँगालिनु अत्यावश्यक हुन्छ । पुरानै ढर्रा र ढाँचामा चलेर यो समस्याको कदापि निदान र समाधान हुन सक्तैन ।

तर हाम्रा योजनाकार, नीति निर्माता र कार्यान्वयनकर्ताहरुमा अहिलेसम्म यस प्रकारको नबीन दृष्टिकोण र सोच आउन सकेको छैन । वास्तवमा देशमा ब्याप्त सामन्ती तथा नबसामन्ती उत्पादन पद्धति – जसले निरन्तर दलाल पूँजीवादी दिशामा नै धकेल्दछ, –उत्पादन सम्वन्ध जबसम्म कायम रहिरहन्छ या राखिन्छ तबसम्म नेपालले ल्याउने भनिएको समृद्धि र समुन्नति केवल एउटा ‘मृग मरीचिका’ मात्र ठहरिने छ ।

आडम्बरी चुनावी नारा दिएर जनतालाई ठग्ने र पुरानै गलत प्रबृत्ति र परम्परा कायम राख्ने गरेसम्म जनताले बिकासको रसास्वादन गर्न पाउने स्थिति बिल्कुलै बन्दैन । त्यो उनीहरुका लागि अभिजात बर्गको जूठोपूरो सरह मात्र हुन पुग्दछ ।

बास्तवमा बिगतदेखि अहिलेसम्मको अनुभव नै त्यस्तै हुदै आएको छ । यो बदल्नै पनि यथार्थलाई आत्मसात गरेर यसलाई बदल्ने जनमुखी, भ्रष्टाचाररहीत, प्रष्ट र पारदर्शी बिकास पद्धति आजको आवश्कता हो । यसले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रमा जनमुखी नीतिको माग गर्दछ । तर आजको हाम्रो सत्ताले यस्तो जनमुखी बाटो लिन सक्छ ? यो अत्यन्तै गम्भीर र संबेदनशील प्रश्न छ । यसको सकारात्मक उत्तरले मात्र सम्बृद्धिको आशा गर्न सकिन्छ । अन्यथा यस अघि जस्तै सबै कुरा –‘हात्ती आयो, हात्ती आयो फुस्सा’ मात्र हुन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : ३२ बजे

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको