नेकपा र कांग्रेसका नेता दिल्ली दरबारबाट परिचालित छन्-बिजुक्छें (अन्तर्वार्ता) | Khabarhub Khabarhub

नेकपा र कांग्रेसका नेता दिल्ली दरबारबाट परिचालित छन्-बिजुक्छें (अन्तर्वार्ता)



नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुन् नारायणमान विजुक्छें । उनी नेपाली राजनीतिमा निष्ठाका पात्र हुन् । नेपाली राजनीतिका प्रभावशाली नेतासमेत रहेका बिजुक्छेंको दल अहिले भक्तपुर जिल्लामा मात्र केन्द्रीत छ ।

विसं २०२७ सालमा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि उनले २०३१ सालको माघ १० गते नेपाल मजदुर किसान पार्टीको गठन गरे । त्यसयता उनी उक्त पार्टीको अध्यक्ष रहँदै आएका छन् । राजनीतिमा ‘रोहित’ नामले परिचित विजुक्छें हरेक राजनीतिक घटनाक्रम र परिवर्तनका साक्षी मात्र नभएर परिवर्तनहरुमा भूमिका खेलेका पात्र समेत हुन् । उनै विजुक्छेंसँग हामीले पछिल्लो राजनीतिक घटनाक्रम, देशको अवस्था, वाह्य हस्तक्षेप, सरकारका कामकारवाहीबारे कुराकानी गरेका छौं । प्रश्तुत छ नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग गरिएको कुराकानीको सम्पादित अंश–

अहिले नेपालमा कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार छ, तर पनि नेपाली जनताले अपेक्षा गरे अनुसार सरकारले काम कारवाही गर्न सकेको छैन, यसलाई के भन्ने ?

उत्पादनका सबै साधानहरु, सम्पत्तिहरु केही व्यक्तिको हातमा र निजी छन् । जहिलेसम्म उत्पादनका साधनहरु सामूहिक हुँदैन वा व्यापक जनताका हुँदैन त्यहिलेसम्म आमूल परिवर्तन हँदैन । मुख्य कुरा कम्युस्टि भनेको शब्दले होइन व्यवहारले देखाउँछ । यसको करण के हो भने, पहिला पनि कथामा भेष बदल्ने छल्लने भन्ने हुन्थ्यो नि ।

अहिले युरोपमा पनि कम्युनिस्टमा नाममा भेष वदलेर जनता झुक्याउने कुरा हुने गरेको छ । हाम्रोमा पनि भगवानले भेष बदल्ने रोलहरु खेलेका कथाहरु सुन्न पाइन्छ । अहिले नेपालमा कम्युनिस्टको नाममा जो छन् उनीहरुले पूँजीवादीको नाममा भित्र पूँजिवादी हुन् बाहिर खोल कम्युस्टिका ओढेका हुन् ।

मैले पहिलादेखि नै संसदमा पनि भन्दै आएको हो । एमाले भनेको भाइ कांग्रेस हो र माओवादी भनेको हिन्दूस्तानको घोडा ‘ट्रोजन हर्स’ हो । ‘मालिकले घोडा फेरेको’ कारण कांग्रेस कमजोर भएको हो । २००७ सालदेखि कुद्दाकुद्दा उ थाक्यो, बुढो भयो । अब उसले भारतीय एकाधिकारलाई बोक्न सक्ने अवस्था रहेन । त्यसैले हिन्दूस्तानले त्यसलाई बोक्नका लागि नयाँ तगडा घोडा खोजेको हो । यो घोडा भनेको अहिलेको नेकपा हो । यिनीहरुलाई कम्युस्टि भनेर या त नबुजेर हो या छलछालबाट कम्युनिस्टलाई सक्नुपर्छ भनेर लागेका छन् ।

अनी त्यस्तो घोडा चढेर कहाँसम्म पुग्ने योजना हुन सक्छ ?

‘ट्रोजन हर्स’ बाट नेपाल छिचोलेर उत्तर जान चाहन्छ हिन्दूस्तान । अहिले यसका नयाँ मालिकहरु भारत पुगेका छन् । त्यो हो अमेरिकी साम्राज्यवाद । विशखापट्टनमा अमेरिकी जलसेना छ । अमेरिका र हिन्दूस्तानीहरुको समझौता छ । पाकिस्तानलाई छोडेर विमिस्टेक बनायो त्यसको महत्वपूर्ण कारण त्यही हो । हिन्द प्यासिफिक बनायौं, हिन्दमहासागर र प्रशान्तसागरको नजिकको देशहरुसँग नयाँ सैनिक गठवन्धन बन्दै छ । जुन चीनको विरोधी हुन्छ ।

नेपालको सत्तामा बस्ने अनि राजनीतिज्ञले त हामीले देश बनाउछौं, लोकतन्त्र आएपछि सबै चिजको प्राप्ति हुन्छ भन्ने गरेका छन् त ?

भन्ने त लोकतन्त्र हो । देशलाई ध्वजाध्वजा पार्छु, विदेशीलाई सुम्पन्छु भनेर त मानिसले विश्वास गर्दैनन् नि ! छलछाम गर्नु भनेको विश्वासलाई घात गर्नु हो । अहिले यही भइरहेको छ । कम्युनिस्ट भन्नेले अमेरिकासँग साँठगाँठ गर्न जान्छ त ?

सार्क र विमिस्टेकबाट भएन । नेपालीलालई बेवकुफ बनाएर विजुलीको केन्द्र भारतमा राखेर बंगलादेश, मलेसिया हुँदै विश्वका विभिन्न स्थानमा पठाउने भनेर देखाए, विकासको बाटो जस्तो लाग्यो तर त्यस्तो होइन । भारत र अमेरिका मिलेर नयाँ युद्ध क्षेत्र विकास गर्न खोजेका छन् । नेपाल किन त्यसमा जानु पर्‍यो । नेपाल सैनिक गठवन्धमा किन जानु पर्‍यो । नेपालमा प्यासिफकको कमाण्डर आइसकेका छन् ।

सेनाले उनलाई सलामी दिएको छ, यस्तो आवश्यक किन थियो ? नेपाल त्यसको चंगुलमा फस्यो । कम्युनिस्ट भन्नेहरुले यसमा फसाए । प्रचण्ड जी दिल्ली जाने परारष्ट्रमन्त्री अमेरिका गएर सही गरेर आउने ?

भारतको योजनामा नै नेपालका परिवर्तन भएको हो त उसो भए ?

दक्षिणमा ठूलो शक्ति छ, जो पूँजिवादी छ, जो विस्तारवादी छ । उनीहरुले जहिले पनि नेपाललाई प्रयोग गर्दै आएको थियो । हिजो कांग्रेसलाई, माओवादीलाई प्रयोग गर्‍यो । एउटा घर बनाएको ठाउँमा त्यसलाई नभत्काइ नयाँ घर बनाउन नसकिने उनीहरुले बुझेका कारण हिन्दूस्तानले राजतन्त्रलाई नफालि नेपालमा नयाँ बनाउन सकिन्न भन्ने थाहा पाएर राजतन्त्रप्रति प्रहार गरेको हो ।

आफू स्थापित हुन ?

यो घर भत्काइसकेपछि नयाँ जग राखेर बनाउनका लागि हो । त्यसकारण नेपालमा उनीहरुले खोजेको राजतन्त्र समाप्त पार्न हो । त्यसलाई समाप्त पार्ने मुख्य मतियार को भए भने माओवादी । माओवादी कहाँ जन्मियो भने हिन्दूस्तानमा । खाना, हातहतियारसमेत उनीहरुले दिए, त्यसको बदलामा माओवादीले भारतलाई सूचना दिए ।

भारत पूजिवादी देश भएपछि उसले नेपालमा कम्युनिस्ट शासन ल्याउन किन मद्दत गर्छ ? उसलाई थाहा छ यो नक्कली कम्युनिस्ट हो, मेले हात छानेडिदिएपछि यो मर्छ । र प्रयोग पनि गर्‍यो । राजतन्त्र पनि गयो । राजतन्त्र खतम भयो, लडाई भएन । उसलाई सजिलो भएको छ ।

नेपालमा एउटा शक्ति छ देखिने नदेखिने भनेको त्यो नेपाली सेना हो । पहिलादेखि नै भारतले सेनालाई बदनाम गर्न खोजेकै हो । होलेरी काण्डमा केटीहरु रोखको थियो, नेपाली सेनाका जवानलाई मनोरञ्जन दिनका लागि भन्दै केटीदेखि रक्सीसमेत राखेको थियो त्यो उनीहरुले तयार गरेको थियो । त्यो भनेको नेपाली सेना ‘करप्ट’ छ, नेपाली सेना काम लाग्दैन भनेर अन्तर्राष्ट्रिय रुपले देखाउनु थियो ।

त्यस्तो करप्ट सेनाको ठाउँमा नयाँ सेना जानु भनेको राम्रो कुरा भनेर देखाउन खोजेको थियो । साथसाथै भारत र माओवादी मिलेर काठमाडौंमा उपद्रो मच्चाउन खोजेको थियो । नेवार समुदायकाबाट राष्ट्रपति बनायो, खानेपानीमा बम हानिदियो, टेलिफोहरु ध्वस्त पारिदिएपछि नेपाल प्यारालाइज हुन्छ र नयाँ बन्दोबस्तो वा व्यवस्था आउँछ भन्ने उनीहरुको बुझाइ थियो ।

तपाईले माथि उठान गर्नु भएको विषय सेनाले बुझेन त ?

सेनाले नबुझेको के हो भने, सेना हुँदैमा, बुन्दुक, हतियार हुँदैमा सेना बलियो हुँदैन । यदी त्यस्तो हुँदो हो त संसारका कुनै पनि राजतन्त्र र संस्थाहरु परिवर्तन हुँदैन थिए । नेपोलियन पनि दुई पटक घेरमा पर्ने थिएनन् । त्यसकारण विदेशीहरुले त्यो सेनालाई कमजोर पार्न खोज्ने भएकाले सेना वदनाम भएन भने त्यो सेना चल्दैन ।

उदाहरणको लागि त्यसबेलादेखि सेनालाई बदनाम गर्न खोजिँदैछ । अब अहिले फास्ट ट्रयाकको नाममा खोकनामा सेनालाई अगाडि सार्न हुन्छ ? हिन्दूस्तान त्यहाँबाट आउने हो । विस्तारवाद त्यहाँबाट आउने हो । सेना दुई ढंगले प्रयोग भएको छ । एउटा सेना बदनाम भएको छ, अर्को हिन्दूस्तानको निम्ति बाटो खेल्ने एकदम गलत भइरहेको छ ।

दुर्जनहरुले शासन गर्‍यो भने देशलाई जोगाउँनै सकिँदैन । त्यसैले नै हाम्रा देशका आफुलाई खुब बुझ्ने शासक भन्छन्, तिनीहरुको बुद्धि बिग्रिएपछि ऊ पनि रहँदैन, देश पनि रहँदैन, जनताले दुःख पाउँछन्

राम्रो काममा प्रयोग गर्न हुन्छ, तर जतासँग भीड्ने स्थानमा लान हुन्न । हाम्रो घरबाट सेनाले हटायो भन्ने जनतामा परेको छ । कसले गर्‍यो भन्दा सेनाले, सेनालाई कसले लगायो भन्दा सरकारले, सरकारमा को छ भन्दा प्रचण्ड जी । प्रचण्ड जी कोबाट सञ्चालित भन्दा दिल्लीबाट । अनि बदनाम चाँहि सेनाको गर्ने ?

सरकारले बुझ्नु पर्दैन यो ? सेना त्यस्तोमा प्रयोग गर्न हुन्छ ? ठेकेदार को भन्दा भारतको । प्रचण्डजीको घरपेटी ठेकेदार । पप्पु कन्स्ट्रक्सन दिल्लीसँग सम्बन्धित । नत्र एउटै कन्स्ट्रक्सनलाई अरबौं रुपैयाँको पैसा दिन्छ ? कसको तागत छ नेपालमा त्यस्तो गर्ने, दिल्लीमात्र हो त्यस्तो गर्ने । सिंहदरबारमा बस्दैमा उसको बुद्धि सिंहदरबारको हुने होइन ।

बालुवाटारमा बस्दैमा हुने होइन, त्यसमा पनि बालुवाटार बेचिहाले । त्यसकारण नेपाली नेताहरु दिल्लीको आधारमा सिंहदरबारमा बस्ने भएका कारण उनीहरु बफादार छन् । नेपाली जनता प्रति बफादार होइन ।

नेवार समूदायबाट राष्ट्रपति बनाउनेदेखि अन्य भारतीयको योजना बारे तपाईले बताउनुभयो, त्यसको केही आधार छ ?

काठमाडौंमै माओवादी ल्याउन खोजेको थियो नि । होटल रेस्टुरेन्टमा बस्ने र क्यारम खेलेर बस्नेहरु सबै बम बनाउनेहरु थिए । त्यसकारण गुप्तचर विभाग कमजोर भयो । चिफहरु भारतले भनेको जस्तो अनि न्यायाधीशहरु उनीहरुले भनेको जस्तो राखेपछि देश चल्छ ? र अब प्रधानमन्त्रीलाई एउटा भ्रम छ, भ्रष्टाचारीलाई प्रधानमन्त्रीले यो होइन भनेर हुन्छ ?

इन्दिरा गान्धीले ललितनारायण मिश्रलाई जोगाउन सक्यो ? त्यसबेला प्रतिपक्ष भन्ने पत्रिकाले संसद भनेको चोर डाकुहरुको अखडा हो भनेर लेखेको थियो । ललितनारायण मिश्रले पैसा दिएर सबैलाई किनेको थियो त्यसबेला । त्यसकारण प्रधानमन्त्री नै बाच्यो न भ्रष्टाचारी मन्त्री नै बाच्यो । त्यसकारण प्रधानमन्त्रीले को भ्रटाचारी हो को होइन भन्ने होइन । मुद्दा चलाउनु पर्छ ।

बालुवाटारको जग्गा किन्ने मान्छे मन्त्रीलाई किन चाहिँयो । कम्युनिस्टको नाममा पैसा कमाउने ठेकेदार बन्ने हो ? घर जग्गाको मालिक बन्ने हो ? व्यक्तिगत रुपले मेरो कसैसँग रिसिइवी छैन तर कम्युनिस्टको नाममा जे भइरहेको छ, सारा जनतालाई धोका दिने काम भइरहेको छ त्यसैले यस्तो तितो कुरो बोल्नु पर्‍यो । साथसाथै कांग्रेस त भारतले नबोकेसम्म आउनै नसक्ने भएको छ । थप कमजोर हुँदै दाने हो त्यो ।

कांग्रेस इतिहास बोकेको भए पनि कमजोर भयो, कम्युनिष्टले केही गर्छन् कि भन्ने जनतामा आशा थियो, सेनालाई पनि तपाईंले भनेजस्तो विवादमा परियो भनेपछि अव देशमा को आउँछ वा कसले नेतृत्व गर्छ ?

भारत आउँछ ! फरक नै पर्दैन । सिधैं आउन पर्दैन । टिपरलाई बन्द गर्नुपर्ने हो नि दिनहु मानिस मरेको मरयी छन् तर हुँदैन किन भने हिन्दूस्तानले नेपाललाई बजार बनाएको छ । विजुलीबाट चल्ने मोटरसाइकल ल्याउन खोजेको थियो तर रोकिएको छ । नेपालमा आउने सामान सबै भारतको मात्र छ । अर्थतन्नत्रबाट देश खतम हुन्छ ।

कुनै एक देशको वर्चश्व राख्न दिन हुँदैन, दियो भने देश खतम हुन्छ । देश त उपनिवेश जस्तै हुन्छ । आर्थिक रुपले उपनिवेश, अब त दिल्लीकै फोनबाटै सिंहदरबारमा काम हुन्छ भने उनीहरु यहाँ आउनु पर्दैन । अब त कति सन्धी सम्झौताहरु हिन्दी र अंग्रेजीमा तयार हुन्छ र नेपालीमा रुपान्तरण हुन्छ । बुद्धि कहाँ गयो अचम्म लाग्छ । तर नोकरचाकरलाई बुद्धि चाहिँदैन मालिकले जे भन्छ त्यही गर्ने हो । लगाएको अराएको काम गर्ने ।

कांग्रेसले लामो सयम शासन गर्‍यो भएन भनेर मानिसहरुले कम्युनिस्टलाई भोट दिएका थिए…

कम्युनिस्टलाई भोट दिने दुई किसिमको मानिस छन् । केही बुझ्ने मानिसले पैसा नखाएरपनि यसले केही राम्रो गर्ला कि, कांग्रेस त खतम नै भयो भनेर नयाँ घोडालाई भोट दिएका हुन् ।

दोस्रो गरीब मुलुक भएकाले पैसा नखाइ भोट नै दिँदैन । पैसा खर्च गर्नेमा माओवादी भन्ने कम्युनिस्टहरु कम छैनन् । उनीहरुले चुनाव कसरी जिते भने माछामासु, ग्यास चुलो दिएर जिते । यो त पूँजीवादी शैली हो कहाँबाट ल्याएर दियो भन्दा हिन्दूस्तानबाट ल्याएर दियो ।जस्तै हिन्दूस्तानको कम्पनीको ग्यास चुलो दियो, अनि भोट लियो । कम्पनीले मद्दत गरेपछि उसको हितमा सही गर्नुपर्‍यो ।

अहिलेसम्म गरेको पनि त्यही हो । एउटा चुनाव आयो, सरकारले चुनाव जित्नु पर्‍यो । अर्को यो कागज कार्खाना बेचिदियो । अर्को चुनाव आयो सबै निजिकरण गरिदियो जुत्ता तथा छाला कार्खाना । अनि काम जति हिन्दूस्तानलाई दियो । त्यति भएपछि नेपालमा सेनाले पनि माग्नुपर्छ हामीलाई यति बुट चाहिँयो भनेर ।

सेनाको निम्ति पेटी चाहियो अरु के–के चाहियो, त्यस्ते घोडचढी सेनालको निम्ति काँटी चाहिँयो, त्यसपछि नेपालमा के कति सेना छ भन्ने कुरा उसलाई कण्ठ हुने भो । र गुप्त राख्नु पर्ने वस्तुलाई उनीहरुलाई सबै खुल्ला काम दिएर देश चल्छ ? त्यस कारण छाला तथा जुत्ता कारखाना त्यसरी आएको हो । यही खत्तम पहिला ! किन भने नेपाली सेनाको विषयमा बाहिरको मान्छेलाई जानकारी हुने भो ।

भनेपछि एकपछि अर्को गर्दै नेपाल चक्रब्यूहको फस्दै गएको हो ?

अब यीनीहरुलाई म भन्छु, यो बुद्धिजीवी वर्ग, जसले नेपाली कांग्रेस र एमाललाई मत दिन्छन् । उनीहरुको बुद्धि छैन ? उनीहरुले जात, भाषा र पैसाले दिएको हो । र पदको निम्ति दिएको हो उनीहरुले । यी सबै कुरा थाहा पाएर तिनीहरुलाई भोट दिनु हुन्थ्यो ?

जसलाई हामीले बुद्धिजीवी भन्छौँ नि, उनीहरु केही सुध्रने सम्भावना देख्नु हुन्छ ?

अब हाम्रो स्थिति कस्तो छ भन्नु होला भने । एउटा कार्टुनलाई हेरौँ, सर्पले भ्यागुतोलाई आधा निलिसकेको छ । तर त्यो भ्यागुतोले किरा फट्यांग्रालाई मार्दै छ । यस्तै हाम्रा देशका बुद्धिजीवीहरु छन् । देश डुब्न लागिसकेको छ । त्यो ठूलो पार्टीको नाउँमा भोट दिइरहेका छन् । उनीहरुले बचाउँनै सक्दैनन् । विदेशीको पैसामा रमाउन थालेपछि, विदेशीको बुद्धिमा हिड्न थालेपछि देश रहन्छ त ?

चाहेर पनि सक्दैनन् । भ्यागुतो, फट्यांग्रा खाएर बाच्न सक्छ ? आधा त उसलाई सर्पले निलिसकेको छ ।

ललिता निवास, वाइडबडीकाण्ड लगायका काण्डहरुमा बृहत बहस र छलफल हुनुपर्ने हो, संसदमा पनि यो विषयमा आरोप प्रत्यारोप मात्र भएको छ बहस हुन सकेको छैन, यसलाई तपाई कसरी हेर्नुहुन्छ ?

महालेखाले हरेक वर्ष प्रतिवेदन दिन्छ । त्यो विषयमा छलफल हुनु पर्ने हो । तर कहिल्यै भएको देखिँदैन । हामीले त्यो विषयलाई संसदमा नउठाएको पनि होइन । महालेखाले त्यति छानविन गरेर त्यो प्रतिवेदन निकाल्नुको कारण भनेको छलफल होस् भनेर नै हो । तर किन गर्दैनन् त ? भन्दा भ्रष्टाचारको विरोध हुन्छ ।

फलना फलना मन्त्रालयमा यति यति अनियमितता भएको भनेर स्पष्ट देखिन्छ । एक–एक जना ठूला मान्छेको टाउकोमा त्यसले हिर्काउँछ । त्यसैले यस्ता विषयमा केहिल्यै छलफल हुँदैन । अहिले संसद सदस्यमा चोर डाका सबैलाई उठाइ दिएका छन् ठूला पार्टीहरुले ।

भारतमा सय रुपैयाँ कर लिने, नेपालमा चाहिँ एक रुपैयाँ घटाउने । त्यसैले नेपाली कांग्रेस, कम्युनिस्ट जे भने पनि यो मुलुकका सबै नेता दिल्लीबाट परिचालित छन्

हिन्दुस्तानको एउटा तथ्यांक आएको ५४ प्रतिशत संसद सदस्यहरु ठूल्ठूला काण्डमा मुछिएका व्यक्ति छन् भनेर ।

प्रधानमन्त्रीले गुन्डा पालेको भनेर तत्कालिन एमालेका नेताले नै भनेको कुरा हो । गुन्डाहरुलाई सदनमा ल्याएर काम चल्छ ? अहिले दश करोड रुपैयाँ मागिरहेका छन् सांसदहरुले । यसो भन्नुको कारण, संसदमा खासखुस हुने पनि गर्छ, ‘मेरो त यति करोड खर्च भयो ।’ चुनावमा गरेको खर्च असुल्ने नियतका साथ नेताहरु अगाडि बढेको देखिन्छ । यसमा को दोषी त ? स्वयं नेताहरु नै होइनन् ?

ठेकेदार, चोर, डाका सबैलाई चुनावमा उठाएर हुन्छ ? ठेकेदारको काम के हो ? नाफा कमाउने, कालोबजारी गर्ने । संसदमा त्यस्तैलाई मनोनित गरिन्छ । कति करोड दिने भन्ने बारगेनिङ हुन्छ । त्यसरी गलत काम गरेर राम्रो परिणाम आउँछ भन्ने कुरा मनमा नराखे हुन्छ ।

अनि संसद र सिस्टमलाई चाहिँ के भन्ने त ?

यो सिस्टम त बिस्तारै सकिँदै छ । त्यस कारण समाजवाद आवश्यक छ । यो संसद त पूँजीवादी हो । हत्यारा भनेर अदालतले सावित गरेको मान्छेलाई संसदमा ल्याउने हो । संसारमा सबै भन्दा बढी हत्या हिंसा र बलात्कार त भारतमा हुन्छ । त्यो कुरा कुन संसारमा लुकेको छ । ठूलो देशको सिको गर्ने भनेर यस्तो गर्ने ?

खुला सीमानाको विरोध हामीले त्यसै गरेको होइनौँ । यहाँ सबै नक्कल भएको छ ।

यो सिस्टमको आवश्यक छैन । यसलाई सिध्याउनु पर्छ । जतिसुकै बुद्धिजीवी भए पनि, जतिसुकै पैसा कमाए पनि, उनीहरुले यो देशलाई माया गरेको देखिँदैन । उनीहरु विदेशमै बस्ने । तर मर्ने बेलामा उनीहरुले पक्कै पनि पछुताउनु पर्छ ।

सत्तामा खराबमा मान्छे ल्याउने । अनि राम्रो कुराको आशा गर्ने । यो त हुनै सक्दैन । तपाईं रोप्नु हुन्छ सिस्नु, अनि तुलसीको आशा गर्ने ?

अहिलेको परिस्थितिमा अर्को आन्दोलन या परिवर्तन हुने देखिएको छैन यसको अर्थ यही पद्दतीले निरन्तरता पाउने हो, यदी यसले निरन्तरता पायो भने चाहिँ के हुन्छ ?

के हुन्छ र ? हिन्दुस्तान (भारत) को प्रभाव बढ्दै जान्छ । नेपालीहरुको नाम मात्रै हुन्छ । आफ्नो देशको सबै युवाहरुलाई विदेश पठाउने, विदेशीलाई शोषण गराउनका निम्ति । उसले दिनको सय रुपैयाँ पाउँछ । त्यसबाट दलाली गर्नेले चाहिँ पाँच सय रुपैया नाफा लिन्छ । अनि बुढो भएपछि रोग लिएर, हात खुट्टा गुमाएर नेपाली स्वदेश फर्किन्छ । यहाँ चाहिँ काम गर्न विदेशीहरु आउँछन् । त्यसरी चल्छ देश ?

एउटा गरीब परिवारमा हुर्केको मानिस क्रमशः स्थापित हुँदै नेतृत्व तहमा पुग्छ । हामी कहाँ पनि त्यस्तो देखिएको छ । त्यस्तो मानिसले कसरी विदेशीको हितमा काम गर्न सक्छ भनेर भन्ने ?

त्यो यस्तो हो, संगत, इच्छा, गलत महत्वकांक्षाले । र अहिले सत्तामा टिक्नु भनेको । दुई कारण छन् । सामान्तवाद अहिले पनि छ । त्यसको छापहरु छन् । जाति, भाषा उहाँहरु (केपी ओली) कहाँबाट जानु भयो भने नौ पुस्ता भयो, उहाँहरु गोरखाबाट पूर्व गएको । सेना, प्रहरी, पढे लेखेका, जातजाति सबैमा उहाँहरु प्रति विश्वास छ । राष्ट्रपति पनि प्रधानमन्त्री पनि । गोरखाली हो ठीक छ । तर, यसरी राजनीति गर्न मिल्छ ?

जाति, भाषाको आधारमा हुन्छ ? सामन्ती संस्कारलाई जहिल्यैसम्म हामीले त्याग्न सक्दैनौँ नयाँ संसारको प्रवेश दिनै सक्दैनौँ । प्रचण्ड, बाबुरामजी गोरखाबाट नै हो ।

अखबारमा आएको कुरा नै हो । इन्दिरा गान्धीले सबै जात जातिलाई भड्काउन खोजेकै हो नी, राजाको विरोधमा । अहिले पनि यस्तै हो भने देश चल्छ । यस कारण यसमा दोषी बुद्धिजीवी, पढेलेखेका मान्छे नै हो ।

हिजोका सबै सचिवहरु पनि अहिले खुब लेख लख्दै छन् नि । उनीहरु सत्तामा बस्दा पनि बुद्धि त त्यस्तै थियो । त्यसैले नयाँ सरकार आएपछि सबै माथिल्लो कर्मचारीलाई हटाउनु पर्छ भन्ने सिद्धान्त मैले दोहोर्‍याएको थिएँ, संसदबाट ।

जुन प्रशासनिक संयन्त्र, मानसिकताका मानिसहरु थिए, छन्, उनीहरुबाट सुधार हुने सम्भावना देख्नु हुन्न् ?

मन्त्रीहरुलाई मुर्खै मुर्ख बनाइ दिए । राजनीति नेताहरु मुर्ख छन्, धाँधलीबाट चुनाव जितेर आउँछन्, अर्काको पैसा लिएर आउँछन् । गल्ती त्यहीनेर छ ।

राजनीतिक सेवा भाव नभएका मान्छेहरु आउँछन् । व्यक्तिगत स्वार्थ पूरा गर्न तथा फाइदा लिन आएका छन् । देश र जनताको निस्वार्थ भावनाले सेवा गर्ने नियतका साथ आएकाले उनीहरुलाई कर्मचारीले पनि खेलाउने मौका पाउँछन् । यसमा यिनीहरु सबै दोषी भएकाले देशले दुःख पाएको हो ।

दक्षिण र पश्चिमाहरुको यो मुलुकमा सक्रियता प्रभाव रहेको अवस्थामा हालै राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा गएर आउनु भयो । यो भ्रमणले उत्तरको सक्रियता कस्तो होला ?

राष्ट्रपतिको भ्रमण भिक्षाटन गर्न नै हो । मानिसहरुले के भन्छन् भने अब उत्तर फेरि आक्रामक भएर आउँछ भन्छन् । एक जना पश्चिमेली लेखकले चीनले संसारलाई शासन गर्छ भनेर लेखेछन्, त्यसबाट खुब मानिसहरु रिसाएछन् । त्यसमा के व्यंग्य थियो भने, चीन पहिले पनि ठूलो साम्राज्य थियो । तर कुनै देशमा गएर शासन गरेन भन्ने हो । पश्चिमी देशहरुलाई चीन आक्रामक भए हुन्थ्यो भन्ने छ ।

सन्त प्रधानमन्त्री जीले त बालुवाटारको सरकारी जग्गा नै दिनु भएको रहेछ । एकपछि अर्को यस्ता कुरा खुल्दै गएका छन्

अमेरिकाले एक करोड रुपैयाँको कोकोकोला ल्याउँछ, यताबाट वर्षको दश अर्ब रुपैयाँ लैजान्छ । यसरी शोषण गर्ने भो । उसले हतियार पनि बेच्छ । लडाइँ गराउँछ आपसमा । अब अफगानिस्तानमा गयो त्यहाँ लडाइँ गरायो । अबर देशमा त सबैलाई लडाइँ गराएको छ । अब दक्षिण अमेरिका भेनेजुलामा जाँदै छ ।

त्यहाँ पनि लडाइँ गराउँदै छ । उसको उद्देश्य हातहतियार बेच्ने नै हो । यस्तो देख्दादेख्दै नेपालको सिंहदरबारको आँखा कहाँ गयो ? अमेरिकासँग हिन्द प्यासेफिक सम्झौता गर्नै हुँदैन थियो । एउटै मात्र कुरा के हो भने यिनीहरुको बुद्धिले गरेको होइन । यो दिल्लीको बुद्धिले गरेको हो ।

अहिलेको दक्षिणपन्थी मोदी सरकार, पहिलेदेखि नै दक्षिणपन्थी होनी । नयाँ के छ र ? उनीहरुले जे भन्छ त्यही गर्ने हो । चुनाव किन गर्ने ? एउटा मान्छेले गलत गर्छ भने त्यसलाई हटाएर जनताको लागि काम गर्ने अर्को मान्छे ल्याउने हो । नत्र त राजा किन हटाउनु पर्‍यो ? जाति, भाषा, संस्कृतिको आधारमा मत दिएपछि त्यसले परिवर्तनको त के कुरा गर्नु आमुल परिवर्तन धेरै टाढाको कुरा हो । यसकारण हाम्रो देश अहिले काठमाडौंमा पनि दिल्लीको व्यवहारले चल्छ ।

अहिलेको सरकार वाम सरकार, राष्ट्रपतिको भ्रमण पनि विगतको भन्दा पृथक रह्यो, त्यसैले विगतमा जस्तो नभइ सुरक्षित रहेको छ भन्ने विश्लेषण हुने गर्छ, तपाईं के भन्नु हुन्छ ?

उनीहरु अर्कोको देशमा गएर फस्न चाहँदैनन् । नेपाललाई जोगाउने हो भने नेपाली जनताले नै जोगाउनु पर्छ । सहयोग गर्ने कुरा गर्छन् । तर मैले उनीहरुको राजनीति बुझेअनुसार, जानेअनुसार उनीहरु अर्कोको देशको मामिलामा फस्न चाहँदैनन् । भियतनामको लडाइँमा सहयोग गर्‍यो, पेट्रोल, लुगा, अन्न सबै दिनु पर्ने कुरा दियो । लडाइँमा उत्रिएन । किन भने यदि त्यहाँ अमेरिका आयो भने लडाइँ त उसको घरमा हुन्छ । स्वभाविक हो यो सिद्धान्त । त्यसका कारण नेपालीहरुले भारतले नेपाललाई खायो भने चीनले बचाइ दिन्छ भनेर दिमागमा नराखे हुन्छ ।

१९६२ को लडाइँको कुरा गरौँ । नेपाल त्यही लडाइँले जोगिएको हो । यो कुरा सबैले बुझ्नु पर्छ । बुझ्दैन भने त्यसले राजनीति नगरे हुन्छ ।

सिंहदरबारमा जीवनभर जागिर खायो भन्दैमा राजनीति बुझ्यो भन्ने साँचो होइन । र दश चोटी प्रधानमन्त्री भयो भन्दैमा उसले राजनीति बुझेको छ भन्ने पनि हुँदैन । किन भने उसलाई अरुले चलाउँछ ।

खै त सूर्यबहादुर थापालगायत केही मानिस धेरै पटक प्रधानमन्त्री भए । गरे के त ? देशको परिस्थिति त्यस्तै छ । सन्त प्रधानमन्त्री जीले त बालुवाटारको सरकारी जग्गा नै दिनु भएको रहेछ । एकपछि अर्को यस्ता कुरा खुल्दै गएका छन् ।

सुर्वण शम्शेर त अर्बपति मान्छे । तराईमा अझै पनि थुप्रै सम्पत्ति छ । अचम्म लाग्छ, दलालहरुका लागि काम गरेको देखिन्छ । सुर्वण शम्शेरलाई त्यो कुरा थाहा छ कि छैन ?

दशौँ लाख पर्ने जमिन केही हजार दिएर अधिग्रहण गरिन्छ । अनि भारतलाई बुझाइन्छ । कच्चा पदार्थ ल्याउँदा पनि त्यस्तै । भारतमा सय रुपैयाँ कर लिने, नेपालमा चाहिँ एक रुपैयाँ घटाउने । त्यसैले नेपाली कांग्रेस, कम्युनिस्ट जे भने पनि यो मुलुकका सबै नेता दिल्लीबाट परिचालित छन् ।

तपाईंहरु राजनीतिको अर्थ जनसेवा हो भन्ने मान्यता राख्नु हुन्छ । देशभक्त र निष्ठाको राजनीति गर्दै आउनु भएको छ । तर, ठूला दल भन्नेहरु सत्ता र शक्तिको पहुँचमा चल्दै आएका छन् । अब के गर्ने त ?

सबै जनता त्यस्ता दलको पछि लागेका छैनन् । उनीहरु शोषक नभइ शोषित छन् । तर समाजमा खराब मानिस छैनन् भन्ने होइन । तिनै खराब मान्छले समाजलाई चलाइ रहेका छन् । त्यसैले दुखी छन् जनता । अब शासन गर्नु पर्ने चाहिँ फकिरहरु नै हो । भारतमा पनि पहिला फकिरहरुले नै शासन गरेका थिए । दुर्जनहरुले शासन गर्‍यो भने देशलाई जोगाउँनै सकिँदैन । त्यसैले नै हाम्रा देशका आफुलाई खुब बुझ्ने शासक भन्छन्, तिनीहरुको बुद्धि बिग्रिएपछि ऊ पनि रहँदैन, देश पनि रहँदैन, जनताले दुःख पाउँछन् ।

तर जनताले सिक्दै पनि जान्छन् । यसरी सिंहदरबार जाने मान्छेहरु इज्जतदार होइन रहेछन्, बदनाम हुने रहेछन् भन्ने जान्ने छन् ।

हिजो अस्ति भक्तपुरमा राष्ट्रपतिलाई लगे । गुण्डासुण्डा, कालोबजारी सबै मिलेर लगे । त्यहाँको तलेजु मन्दिरमा बाहिरको मान्छे, क्यामेरा छिराउन पाइँदैन थियो । तर बाहिरको मान्छे, क्यामेरा सबै छिराउन दिए ।

किन भने बाहिरको मान्छे नगएसम्म राष्ट्रपति जान नपाउने भएकाले त्यहाँ राष्ट्रपतिलाई त फसाइँ दिएको हो । अहिले त्यो विषयलाई लिएर खुब विरोध भइरहेको छ ।

परम्परा र मूल्यमान्यतालाई ख्याल नै गरिन छाडियो ?

गुण्डा, चोर, बाहिरका सबै मान्छे त्यहा भित्र छिरेपछि भोलि चोरी हुँदा को जिम्मेवार हुने ? राष्ट्रपति त जिम्मेवार हुँदैनन् ? अथवा राष्ट्रपतिलाई लैजाने मान्छेहरु पो जिम्मेवार हुन्छन् कि ? यस्ता प्रश्न उठिरहेका छन् । त्यस कारण राजनीतिक नेताहरुको संगत हेर्नु पर्‍यो ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०