पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा « Khabarhub

पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ ।

तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुनलाग्दासमेत चार प्रतिशतमात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ । निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको हो ।

हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोबिलाइजेशनवापतको रु सात करोड छ लाख फिर्ता लिइएको आयोजना एकाइ कार्यालय नेपालगञ्जका प्रमुख सुवास बस्नेतले जानकारी दिए। निर्माण कम्पनीको तीनवर्षे ठेक्का सम्झौताको अवधि कात्तिक ४ गते सकिँदैछ ।

तीन हजार जना अट्ने क्षमताको निर्माणाधीन कारागारको ५३ करोड कूल बजेट रहेकामा पप्पु–रसुवा कन्स्ट्रक्सनले विसं २०७३ कात्तिक ८ गते रु ३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सकार गरेको थियो । कारागारको २५ भवन संरचना बनाइने लक्ष्य रहे पनि अहिले पाँच संरचनामा अत्यन्तै सुस्तगतिमा काम भइरहेकाले पेश्की रकम फिर्ता लिनुपरेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।

पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको छ । मानवबस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण शुरु गरिएको थियो ।

अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा खुला कारागार निर्माणको काम शुरु गरिएको थियो । दुवै कारागार निर्माण भएपछि नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन