बाँके– सुनको कारोबार गर्दै आएका बाबुछोरालाई प्रहरीले नेपालगन्ज–२, घरबारी टोलबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले रु १३ लाखसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लले उनीहरुका साथमा रहेको रकम अवैध भएको र उक्त रकमको स्रोतको खोजी भइरहेको बताए ।
प्रहरी निरीक्षक मल्लले सुन कारोवारमा संलग्न बाबुछोराको गतिविधिप्रति प्रहरीले पहिलेदेखि नै निगरानी गरिरहेको बताए। उनले भने, “शङ्का लागेपछि आज पिछा गरेका थियौं । सोही क्रममा रु १३ लाख नगद रकमसहित बाबुछोरालाई पक्राउ गरेका छौँ ।”
प्रहरी निरीक्षक मल्लले कुन स्रोतबाट रकम आएको भन्ने अनुसन्धानपछि मात्र खुल्ने बताए ।
यसअघि पनि नेपालगञ्जमा स्रोत नखुलेको रकमसहित केही व्यक्ति पक्राउ परिसकेको उनले जानकारी दिए ।
नेपाल र भारत सीमा क्षेत्रका सुन, हुण्डी जस्ता कारोवारमा संलग्नहरुले नेपाली तथा भारतीय अवैध रकम ओसापसार गर्दै आएका छन् ।
प्रतिक्रिया