आजदेखि शुरु भयो भारतमा चुनाव : मोदीको अग्नि परीक्षा | Khabarhub Khabarhub

आजदेखि शुरु भयो भारतमा चुनाव : मोदीको अग्नि परीक्षा



काठमाडौं-भारतमा आज (बिहीबार)बाट आम निर्वाचन शुरु भएको छ । आगामी मे महिनाको १९ तारिखसम्म विभिन्न ७ चरणमा हुने निवार्चनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारको जनमत संग्रहका रुपमा हेरिएको छ । विश्वको पाचौँ ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको भारतमा हुन लागेको चुनावप्रतिको चासो भारतमा मात्रै नभएर संसार भर नै छ ।

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टीले ऐतिहासिक बहुमत प्राप्त गर्दै भारतमा बलियो सरकार निर्माण गरेको थियो । त्यसअघि भारतमा तीन दशकमा कुनै पनि राजनीतिक पार्टीले स्पष्ट बहुमत ल्याएर सरकार बनाउन सकेका थिएनन् । त्यसबेला स्पष्ट बहुमत ल्याएर कुनै दोश्रो पार्टीको भर नपरी सरकार बनाउन सफल नरेन्द्र मोदीको कार्यकालप्रति भारतका जनता कति सन्तुष्ट छन् र ५ वर्षे कार्यकालमा उनको लोकप्रियता कहाँ पुग्यो भन्ने नतिजा यो चुनावबाट आउने परिणामले प्रष्ट पार्ने छ।

तर, मोदीका लागि यो चुनावमा सजिलो छैन । किनभने मोदी र उनको राजनीतिक दल भारतीय जनता पार्टी भाजपा सन् २०१४ को निर्वाचनमा उतिबेला कांग्रेसको नेतृत्वमा रहेको सरकारको खरो आलोचना गर्दै जनतामाझ मत माग्न पुगेका थिए । जनताले पत्याएपछि उनी सत्तामा पनि पुगे । त्यो पनि संसद्मा निकै नै प्रभावशाली बहुमतसहित ।

संसद्मा बलियो पकड रहेकाले उनको नेतृत्वमा रहेको सरकारले उनले चाहेको जस्तो सुकै नीति तथा कार्यक्रम लागू गर्न सक्ने अवस्थामा थियो । विपक्षी अति नै कमजोर थियो भने सत्तामा उनको पकड निकै बलियो थियो ।

‘विपक्षीको कारणले मैले यसअघिको चुनावमा बाचा गरेअनुसार काम गर्न पाइन’ वा यस्तै कुनै बहाना बनाउने अवस्थामा उनी छैनन् । उनको सरकारले गरेका हरेक कामको जस र अपजसप्रति उनी शत प्रतिशत हकदार छन् ।

नरेन्द्र मोदीले पपुलिष्ट नेताका रुपमा आफ्नो छवि बनाएका छन् । उनको पपुलिष्ट छवि र चर्चामा आउने बानी कै कारण पनि उनी भारतीय मूलधारको राजनीतिमा उदाएको भन्नेहरु पनि छन् । पपुलिज्मकै कुरा गर्दा हालै उनले ‘चौकिदार’ भन्ने शब्दलाई भारतीय राजनीतिमा ल्याएका छन्

के कारणले गर्दा मोदीले सन् २०१४ को निर्वाचन भारी बहुमतले जितेका थिए र के मोदीले यसपटक पनि त्यही निर्वाचनमा ल्याएजस्तो भारी बहुमत ल्याउन सक्लान् भन्ने विषयमा भारतीय सञ्चारमाध्यमहरुमा विभिन्न टिक्काटिप्पणीसहित बहस भइरहेको छ । त्यसबेला मनमोहन सिंहको नेतृत्वको तत्कालीन सरकार निकै नै कमजोर रहेको र उदयीमान अर्थतन्त्रको रुपमा रहेको भारतलाई आर्थिक रुपमा तीब्र गतिमा अघि बढाउनका लागि बलियो नेतृत्वको खाँचो रहेको औल्याउँदै आफूले उक्त बलियो नेतृत्व दिनसक्ने मोदीको सन्देश थियो । त्यसका लागि मोदीले आफ्नो हिन्दुवादी धार्मिक साँस्कृतिक राष्ट्रवादको मुद्दालाई अघि सारेका थिए ।

भुटान र चीनबीचको सीमामा रहेको दोक्लमको पठारमा भएको घटना होस् वा पाकिस्तानको भूमि भित्रै प्रवेश गरी गराइएका सर्जिकल आक्रमणहरु हुन् आफूलाई राष्ट्रवादी देखाउन उनले कुनै कसर बाँकी राखेका छैनन् । उनको राष्ट्रवादी छविले यो चुनावमा कति प्रभाव पार्छ ? के मानिसहरु उनको राष्ट्रवादी छविप्रति उत्तिकै आकर्षित छन् ? अनी अर्को मुख्य कुरा के मानिसहरुमा नरेन्द्र मोदीले बाचा गरेजस्तो बलियो नेताको रुपमा प्रस्तुत हुन सफल भए त ? यस्ता अनेक प्रश्नहरु छन्, जसको जवाफ यो चुनावको मतपरिणामबाट छर्लङ्ग हुनेछ ।

त्यस्तै हिन्दुवादी नेताको रुपमा उनले आफ्नो कार्यकालमा ‘साँस्कृतिक राष्ट्रवाद’ लाई भारतीय समाजमै पनि प्रयोग गरेका थिए । विभिन्न शहरहरुको ऐतिहासिक इस्लामिक नामलाई फेरिदिएर त्यसलाई ‘हिन्दुत्वकरण’ गर्ने, विभिन्न धार्मिक समारोहमा निरन्तर पुगिरहने र योगालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई औपचारिक रुपमै जुन २१ लाई ‘अन्तर्राष्ट्रिय योगा दिवस’ को मान्यता दिने यस्तै अनेक कामबाट उनले आफूले अझै हिन्दुवादी ‘साँस्कृतिक राष्ट्रवाद’ लाई नभुलेको सन्देश दिइसकेका छन् । तर, यसबीच फेरिपनि प्रश्न उठ्छ अहिले तीब्र गतिमा आर्थिक विकासको दिशामा अघि बढिरहेको भारतमा के उनको हिन्दुवाद अझै सान्दर्भिक छ ?

त्यसबाहेक उनले सन् २०१४ को आफ्नो चुनावी अभियानमा भारतलाई तीब्र रुपमा आर्थिक समृद्धिको दिशामा अघि बढाउने बाचा गरेका थिए । विश्वबैंकको तथ्याङ्क अनुसार सन् २०१५ मा भारतको कुल ग्राहस्थ उत्पादनको बृद्धिदर ८.१५४ प्रतिशत थियो । त्यस्तै, सन् २०१६ मा त्यो ७.११३ प्रतिशत र सन् २०१७ मा ६.६८१ प्रतिशत थियो । उनको कार्यकालमा भारतमा भएको आर्थिक बृद्धिको प्रभावप्रति भारतीय जनता कति सकारात्मक छन् भन्ने प्रश्नको जवाफ चाहीँ चुनावको परिणामले दिनेछ ।

सन् २०१४ को निर्वाचनमा उनको मुद्दा भ्रष्टाचारको अन्त्य थियो । भारतमा भ्रष्टाचार विकराल रुपमा रहेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले सार्वजनिक गर्ने प्रतिवेदनमा आउने गरेको छ । पछिल्लो समय उनको कार्यकालमा सरकारका उच्च पदस्थ नेता र अधिकारी नै रफायल डिल र अरु यस्तै किसिमका भ्रष्टाचार प्रकरणमा मुछिएको समाचार आउने गरेको छ ।

त्यस्तै, गरिबीको निवारण पनि सन् २०१४ मा उनको चुनावी अभियानको मुद्दा थियो । तरपनि भारतमा गरिब किसानको आत्महत्या कम भएको छैन । त्यसबाहेक सन् २०१६ को अन्त्यतिर उनले घोषणा गरेको र निकै आलोचना भएको विषय चाहीँ भारत भर १ हजार र ५ सय रुपैयाँको दरका नोटमा प्रतिबन्ध लगाउने घोषणा थियो ।

आफू मुलुकको चौकिदार भएको र आम जनतालाई पनि चौकिदार बनेर देशको विषयमा खबरदारी गर्न भन्दै मोदीले सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा चौकिदारको अभियान नै छेडिएको थियो

उनको घोषणाबाट धेरै नै ठूलो सङ्ख्यामा मानिसहरु खासगरी मध्यमवर्ग र समाजको तल्लो तहका मानिसहरुलाई सकस परेको भन्ने समाचार आएको थियो । तीब्र आर्थिक विकाससँगै भारतमा मध्यमवर्गीय परिवारको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा मानिसहरुले उनको त्यस घोषणालाई बिर्सिएका होलान् कि त्यसलाई माफ गरिसके भन्ने प्रश्न पनि यो चुनावमा उतिनै सान्दर्भिक छ ।

अर्कोतर्फ नरेन्द्र मोदीले पपुलिष्ट नेताका रुपमा आफ्नो छवि बनाएका छन् । उनको पपुलिष्ट छवि र चर्चामा आउने बानी कै कारण पनि उनी भारतीय मूलधारको राजनीतिमा उदाएको भन्नेहरु पनि छन् । पपुलिज्मकै कुरा गर्दा हालै उनले ‘चौकिदार’ भन्ने शब्दलाई भारतीय राजनीतिमा ल्याएका छन् ।

आफू मुलुकको चौकिदार भएको र आम जनतालाई पनि चौकिदार बनेर देशको विषयमा खबरदारी गर्न भन्दै सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा चौकिदारको अभियान नै छेडिएको थियो । त्यसबाहेक चुनावको पूर्व सन्ध्यामा उनको जीवनीमा आधारित चलचित्र रिलिज हुने भनिएको थियो । यद्यपि भारतको निर्वाचन आयोगले भने त्यसलाई तत्काल रिलिज हुन दिएन । यस अभियानले चुनावमा कति प्रभाव पारेको होला भन्ने प्रश्न पनि चासोको विषय हो ।

भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका पछिल्लो सर्वेक्षण अनुसार भाजपाले स्पष्ट बहुमत ल्याउने वा त्यो पनि ल्याउन नसके बहुमतको निकै करिब पुगेर सबैभन्दा ठूलो पार्टीको रुपमा यथावत नै रहनेछ । तर यस्ता सर्वेक्षण र टिकाटिप्पणीमाझ भारतमा चुनावी प्रतिस्पर्धा शुरु भएको छ । यो चुनावलाई राजनीतिक दलहरुबीचको प्रतिस्पर्धाका रुपमा त हेरिएको छ नै, त्यसभन्दा महत्वपूर्ण कुरा यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको अग्निपरीक्षाका रुपमा अर्थ्याइएको छ । अग्निपरीक्षामा मोदी कति खरो रुपमा उत्रिन्छन् भन्ने चाहीँ भारतीय मतदाताले दिने मतले निर्धारण गर्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ८ : ४१ बजे

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।