बोलीकै कारण आलोचित बनेको ओली सरकार « Khabarhub

बोलीकै कारण आलोचित बनेको ओली सरकार



काठमाडौं- समान्यतयाः चुनावी प्रचारका बेला दलहरूका बीचमा आरोप–प्रत्यारोप चल्नु स्वाभाविक हो । जसले मतदातालाई उत्तेजित पार्ने र विपक्षीलाई कमजोर देखाउने यो राजनीति विश्वव्यापी चुनावका बेला देखिने विश्वव्यापी अभ्यास हो ।

तर चुनाव सकिएपछि, स्थायी सरकार बनेपछि, मुलुक सम्बृद्धि र विकासको नारामा प्रतिबद्ध भएपछि पनि निरन्तर छुद्र शव्द प्रयोग गरेर एक अर्काको कद घटाउने संस्कार विकास भईरहेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पछिल्लो पटक सामाजीक सञ्जालमा पोष्ट गरेको छौंडा शव्दले झनै विवाद चर्काएको छ ।

यही छुद्र अभिव्यक्ति र टिप्पणीको निरन्तरता संघीय संसदमा समेत पुगेको छ। प्रतिनिधिसभाको असार ८ गते बसेको बैठकमा सत्तारुढ नेकपा र नेपाली काँग्रेसका सांसदबीच जुहारी चल्यो । बिभिन्न मन्त्रालयको विनियोजित विधेयकमाथि छलफल गर्न बसेको बैठकमा सांसदहरुले तल्लोस्तरमा झरेर गाली गरे ।

कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी ओलीलाई ‘झुटप्रसाद’ को उपमा दिए भने नेकपा सांसद झपट रावलले प्रतिरक्षा गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई छेरबहादुर भने के हुन्छ भन्दै प्रश्न गरे । बैठकमा सांसद चौधरीले प्रधानमन्त्रीलाई करप्रसाद ओलीको उपनाम सम्म दिन भ्याए ।

यही बीचमा युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले संसदमा बोल्न खोज्दा कांग्रेसले अवरोध गर्‍यो । संसदमा बोल्न नपाएपछि सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ओलीले आमसञ्चार माध्यमको भाषा र समाचारविरुद्ध तिखो टिप्पणी गरे । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भनेका थिए, हामीले हाम्रो सामाजिक मूल्य, मान्यता, मर्यादा हाम्रो समाज त एउटा शिष्ट, सभ्य, मर्यादित समाज हो । हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन ।

तपाईं भन्ने नेपाली भाषाको शब्दै हराईसक्यो । नेपाली सञ्चारमाध्यमको आलोचना गर्दै प्रधानमन्त्री ओलीले “हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा संस्कृतिका कुरा गर्छ । नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ ! बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुर बालाई पनि तिमी, हजुर आमालाई तिमी ! यो त नेपाली भाषा, नेपाली सम्यता, नेपाली संस्कृतिभित्र पर्दैन।

प्रधानमन्त्री ओलीले यसरी सार्वजनिक रुपमा मान सम्मान र मर्यादाको अपेक्षा गरेको ३ सातापछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारको आलोचना गर्नेहरुलाई लक्षित गर्दै ‘छौँडा’ शब्द प्रयोग गरेर ट्वीट गरेका छन् । आफ्नै बोलीले पटक–पटक विवादमा तानिने प्रधानमन्त्री ओली र सरकारविरुद्ध टिप्पणी गर्नेहरु विरुद्ध निरन्तर खनिने सल्लाहकार रिमालका कारण अहिले फेरि एक पटक भाषिक मर्यादा र शिष्टताको बहस सतहमा आएको छ ।

सल्लाहकार रिमालले सरकारको आलोचना गर्नेहरुलाई लक्षित गर्दै ट्वीटमा लेखेका छन्ः ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका !’ नयां मुलुकी ऐन तथा अपराध सहिंता अनुसार यस्ता अन्धविश्वास र कुरीती झल्काउने शव्द प्रयोग गरिनु आफैंमा गैह्र कानूनी हो । तर यस्ता शव्दलाई स्वयं प्रधानमन्त्री ओलीले पटक पटक प्रयोगमा ल्याउने गरेका छन् ।

२०७५ फागुन १ गते काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घघाटन कार्यक्रममा ओलीले नेकपाका २ अध्यक्षलाई दुईथरि कुरा सुनाउने र पार्टीमा फूट ल्याउन भइरहेका प्रयास भएको भन्दै बोक्सीको उदाहरण दिएका थिए ।

छिमेकीको छौंडा–घर भित्र कै छौंडा

आलोचना र आक्रोश पोख्दा प्रधानमन्त्री ओलीले सामाजिक र नैतिक रूपमा पतन भएको पात्रलाई ईंगित गर्ने छौंडा शव्द यसअघी २०७३ साउन १४ गते ‘छौँडा’ शब्द प्रयोग गर्दै, भनेका थिए– ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’

त्यसबेला ओली सरकारको उच्च छवीका कारण ओझेलमा परेको छौंडा शव्दले यस पटक भने नराम्रोसंग दपेटेको छ । सरकारको काम कारबाहीले आलोचनाको पारो बढिरहेका बेला मुख्य सल्लाहकार रिमालको ट्वीटले भने त्यही असन्तुष्ठिको आगोमा घिउ थप्ने काम गरेको छ।
काठमाडौमा सम्पन्न बिवादास्पद धार्मिक मिशिनरि संस्थाको कार्यक्रममा सरकारको भूमीकालाई लिएर तीब्र आलोचना भएपछि प्रधनमन्त्री केपी शर्मा ओलीले मंसिर १९ गते प्रधानमन्त्रीको कार्यालयले नै खर्च व्यहोरेको सरकारी टेलिभिजनको एक कार्यक्रम मार्फत देशका तमाम बुद्धिजीविलाई थला पारिदिने चेतावनी दिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले अरिगाँल नीतिले बजार तताएको थियो । भदौ ३० गते भएको एउटा सार्वजनिक कार्यकमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सरकारले ज्यादै राम्रो काम गरेको दावी सहित सरकारको गलत प्रचार गर्नेविरुद्ध कालो अरिंगालको गोला जसरी खनिन आम कार्यकर्तालाई आग्रह गरेका थिए ।

करोडौंं खर्च गरेर पोल पोलमा पोस्टर

‘म सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र प्रधानमन्त्री बनेको हैन भन्दै जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले राज्यकोषको करोडौंं खर्च गरेर काठमाडौका पोलहरुमा फेस्टर नै पोस्टर टांगे । सबत्र आलोचना भयो । तर आलोचना बढेपछि ओलीले मंसिर १० गते निकै असहिष्सुण जवाफ दिए-म काम गर्न सरकारको नेतृत्व सम्हाल्न आएको हु ।

अहिले सबैले सरकार कहाँ छ भनेर चासो राखेकाले ‘सरकार कहाँ छ भनेर देखाउन यति तामझाम गरेका हौं’, जतिवेला काठमाडौको मुल सडकका अधिकांश विजुलीका खम्वामा प्रधानमन्त्रीका पोष्टर टाँगिएका थिए । सामाजिक सुरक्षाको व्यवस्था एउटा राम्रो कामको थालनी थियो तर प्रधानमन्त्रीको फोटो मोहले यस्तो कुरुप बनाइदियो जुन सधैँका लागि रेकर्ड भयो । यस्तो फोटो प्रदर्शनीका लागि मात्र १३ करोड रकम खर्चभएको हिसाव आएको छ ।

अघिल्लो भदौ १२ को संसद बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेक सम्मेलन हुने विषय उठिरहेको थियो । प्रतिनिधि सभाको बैठकमा यसबारे जानकारी गराएपछि प्रधानमन्त्री ओलीले समसामयिक विषयमा समेत धारणा राखे ।

बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्रीलाई प्रश्न गरे–‘महिलाको अस्मिता लुटिएका घटनाले प्रधानमन्त्रीलाई लाज लाग्दैन । शीर निहुरिँदैन’ । यसको जवाफका क्रममा ओलीले भने –‘प्रधानमन्त्रीलाई लाज लाग्दैन भनेर एक जनाले भन्नुभयो । यस्तो असभ्य बोल्ने साथी देख्दा किन लाज नलाग्ने !’ ओलीले संसदमा दिएको यो जवाफले पनि निकै दिन आलोचना खेप्यो ।

अघिल्लो बर्षको असारमा बालुवाटारमा गीतका लेखक र गायकलाई प्रधानमन्त्रीले दिवाभोज दिए । त्यहाँ प्रधानमान्त्रीले भनि दिए, –‘अब गरीबीका गीत नलेख्नू र नगाउनू पनि ।’ यसको पनि चौतर्फि आलोचना भयो ।

लगत्तै गएको भदौमा प्रधानमन्त्री ओलीले कन्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले उत्कर्ष पाएको बेला राजधानीका मुलधारका पत्रपत्रिकाका सम्पादकहरुलाई बोलाएर भने–‘समाजमा निराशा जगाउने समाचार दिँदै नदिनू ।’ यस्ता हत्या, हिंसा र बलात्कारका घटना सम्वन्धी समाचार पत्रकार आफैंले उत्पादन गरे जस्तै गरी प्रधानमन्त्रीले दिएको जवाफले पनि निकै आलोचना खेप्यो ।

मुसा जस्ता बुद्धिजीवी

२०७५ साल असारमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा डाक्टर गोविन्द केसीको अनसन चलिरहेको बेला निकै तुच्छ र क्षुद्र टिप्पणी गरे, ‘जुम्लामा कोही भोकै सुत्दै छन्’ यो सामान्य नागरिकले देशको प्रधानमन्त्रीबाट अपेक्षा गर्न नसक्ने कटाक्ष थियो । सत्यको आग्रह अर्थात सत्याग्रहविरुद्ध बोलेका ओली त्यसमा पनि आलोचनाको केन्द्रमा तानिए । अघिल्लो बर्षको बैशाख पहिलो साता राराको डिलमा मन्त्रिपरिषद्को बैठक राखेर प्रधानमन्त्री ओलीले महँगो सम्वोधन गरे ।

प्रधानमन्त्रीको यो सम्बोधन र शैलीलाई लिएर चौतर्फी आलोचना भयो । तर लगत्तै वैशाख १० गते ओलीले सार्वजनिक रुपमा आलोचकलाई जवाफ दिए– ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाजिँदैछ । मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन, विकास कुरा गर्‍यो भने जनताका कुरा गरेन भन्दै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन् ? नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइ दिन्छ । ससुराली जान लागेको ज्वाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ ।’ यो जवाफ पछि ओली झनै आलोचित बने ।

दोस्रो पुस्ताको जुहारी

२०७५ साल असोज १४ गते नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय योगेश भट्टराई र विष्णु रिमालबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चल्यो । त्यसवेला प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको बेला अमेरिकामा रहेका नेता रिमालले नेपालमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भेला गरेपछि त्यसैलाई लक्षित गरी ट्वीट गरे, –‘मानिसको पतन त्यस समय शुरु हुन्छ जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन शुरु गरिन्छ ।’

रिमाललाई प्रतिउत्तर दिँदै माधव नेपाल निकट मानिने योगेश भट्टराइले लेखे,–‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन् ! कठै दोसी चस्मा !’ यसरी यी दुई नेताबीच सामाजिक सञ्जालमै सवाल जवाफ भएको पहिलो घटना होइन । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको प्रयास चलिरहेका बेला नेता भट्टराईले दुवै पार्टीका अध्यक्षले सन्यास लिनुपर्ने बताएपछि नेता रिमालले त्यसलाई भट्टराईको माकफुईँले सगरमाथा चढेको टिप्पणी गरेका थिए । त्यसको जवाफमा नेता भट्टराईले रिमाललाई मेन्सन नै गरेर आफूविरुद्ध जतिसुकै नरकारात्मक टिप्पणी गरे पनि रिमालप्रति आफ्नो सधैं सम्मान रहने बताए ।

सम्झिँदा झनै आङ सिरिङ्ग हुन्छ !

गत फागुन २७ गते मधेसमा पृथकतावादी अभियान चलाउँदै आएका सीके राउतसँग सरकारले सहमति गरेपछि पनि प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नै पार्टीका नेता भिम रावलसँग कटाक्ष गरे । सहमतिलाई लिएर नेता रावलले ट्वीटरमा लेखे, ‘देश टुक्याउने घोषणा गर्नेलाई नायक बनाउने काम नगरौँ, तराई विभाजन गर्ने षड्यन्त्रबाट सचेत हौँ ।’ तुरुन्तै रिमालले लेखे, उनीहरु जन्मनुअघि यो देश कसरी जोगियो होला यो सम्झिँदा झनै आङ सिरिङ्ग हुन्छ !

यसरी मुलुकको भाग्य र भविश्य हाँक्ने जिम्मेवारीमा पुगेका उच्च राजनीतिक नेतृत्वले भाषिक विवेक गुमाएर एक अर्काको कद होच्याउन खोज्दा नागरिकमा भने नेतृत्व प्रति नै कठै भाव विकास हुन पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ०७ बजे

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी– यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि भर्ना

पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

कर्णाली– यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर

डा. शेखरको आठ बुँदे ‘अठोटपत्र’ : विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’ बनाउने उद्घोष

विराटनगर– नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का