घोडा नचढे जरिवाना ! « Khabarhub

घोडा नचढे जरिवाना !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो। बाटो बिस्तार शुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले। यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो। घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटेको कान्तिपुर दैनिकमा खबर छ ।

यसपटक दुवै गाउँका अगुवाले जरिवानाको नियम बनाए। ‘यार्तुङमा सहभागी नहुनेलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘पर्वमा युवा सहभागिता अनिवार्य होस् भन्नका लागि जरिवानाको नियमबनाइएको हो।’

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने दुवै गाउँले मिलेर मनाउँदै आएको यार्तुङ हिमाल पारिका जिल्लाको ठूलो पर्व हो। मनाङीका अनुसार तिब्बती भाषामा ‘यार’ को अर्थ बर्खा र ‘तो’ को घोडा हुन्छ। ‘यार्तो’ बाट अपभ्रंश भएर ‘यार्तुङ’ रहन गएको मानिन्छ। बर्खायाममा मनाइने पर्व कृषि कर्ममा हुने दुःख र परिश्रमका थकान मेटाउनका लागि भएको स्थानीय बताउँछन्।

यसपटक गाउँका अधिकांश युवा यार्तुङमा सहभागी भएर पाँच दिनसम्म घोडा दौडाए। १६ देखि ५५ वर्ष उमेर समूहका पुरुषले घोडा दौडाएका थिए। शनिबार शुरु भएको यार्तुङ बुधबार सम्पन्न भएको छ। यसपटक करिब सय जनाले घोडा दौडाएको गुरुङले बताए।

मनाङमा घोडा दौडाउन यस पटक पर्यटकीय पदमार्ग ५ हजार १६ मिटरको थोराङला भन्ज्याङ पास गरेर मुस्ताङबाट १३ जना युवा पुगेका थिए। ‘छिमेकी जिल्लाबाट पनि घोडा लिएर आएको देखेर यहाँका युवा हौसिए। यार्तुङ निकै रोमाञ्चक बन्यो,’ उनले भने। मुस्ताङीले खादामा पैसा बाँधेर भुइँमा राखेर घोडा दौडाई टिपेका थिए।

‘घोडामा चडेर भुइँको खादामा राखेको पैसा टिपेको अहिलेको यार्तुङमा विशेष बन्यो,’ उनले भने, ‘मनाङीले टिप्न सकेनन्।’ यार्तुङको घोडा दौड हेर्न पाउँदा स्वदेशी विदेशी पर्यटक रमाएका थिए।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार पर्वले मनाङीमा खुसी ल्याएको छ। वर्षायाम सकिँदै गर्दा माथिल्लो मनाङका बासिन्दाले यो पर्व मनाउँछन्।

‘बाली लगाएपछिको थकान मेटाउन र रमाइलो गर्न बर्सेनि यार्तुङ मनाइन्छ,’ उनले भने। यसपटक यार्तुङको पहिलो, दोस्रो र तेस्रो दिन घोडा दौड गरिएको उनले बताए। चौथो दिन घोडचढीले पोचो गुम्बा गएर पूजा गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गरेका थिए। अन्तिम दिन घोडा दौडाएपछि मनाङ गुम्बामा गई पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेर पर्वको समापन गरिएको थियो। स्थानीयले मनाङ र भ्राकाको सिमानामा घोडा दौडाएका थिए।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ०० बजे

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।