रुपन्देही– बुटवलको नयाँ बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवन निर्माण कार्य थालिएको छ ।
बुटवल उप–महानगरपालिकाले निर्माण गर्न लागेको पार्किङ सहितको सुविधायुक्त तीन तला भवनको बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले आइतवार शिलान्यास गरेका हुन् ।
भवन सिलान्यास गर्दै नगर प्रमुख सुवेदीले व्यवसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले भवन निर्माण गर्न जिम्मा लिएको निर्माण कम्पनीलाई गुणस्तरीय सामान प्रयोग गरी निर्धारित समयमा नै भवन निर्माणको काम सक्ने गरी काम गर्न आग्रह गरे ।
उक्त भवन निर्माण कार्यका लागि उप–महानगरपालिका र कोष बीच गत फागुनमा सम्झौता भएको हो । भवन निर्माणका लागि करिव १० करोड ८४ लाख खर्च हुने अनुमान गरिएको छ । वि.सं २०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनी सँग सम्झौता भएको शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले वताए ।
तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा अत्याधुनिक मापदण्ड बमोजिमका व्यवसायिक सटर निर्माण गरिने भएको, भुइँतलामा १४ वटा सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर निर्माण गरिने बुटवल उप–महानगरपालिकाको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया