झापा- भुस्याहा कुकुरको टोकाइबाट झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण मरेका छन् भने एउटा घाइते भएको छ ।
बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए ।
कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गरेको थियो । ‘
पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।
बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए । कर्मचारी पुगेलगत्तै कुकुर भागेको अध्यक्ष राजवंशीले बताए । विगत ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्न थालेको अध्यक्ष राजवंशीले बताए । उनका अनुसार हाल वनमा पाँच वटा पोथी हरिण र तीन वटा भाले हरिण रहेका थिए ।
प्रतिक्रिया