‘राष्ट्रपति प्रणालीबारे सबै मिलेपछि कांग्रेस कता जाओस्, बिचरा !’ | Khabarhub Khabarhub

‘राष्ट्रपति प्रणालीबारे सबै मिलेपछि कांग्रेस कता जाओस्, बिचरा !’



काठमाडौं- उपेन्द्र यादव नवगठित समाजवादी पार्टी नेपालको कार्यकारी अध्यक्ष हुन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि यादवको काँधमा छ यतिखेर । केही वर्ष पहिले अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँग एकता गरे लगत्तै मधेशी जनअधिकार फोरम संघीय समाजवादी पार्टी नेपाल भएको थियो ।

उपेन्द्र यादवको राजनीतिक यात्रा लामो र संघर्षमय पनि छ । प्रारम्भ मार्क्सवादी, मनमोहन अधिकारीसँगको सहयात्रा, त्यसपछि नेकपा एमाले,माओवादी हुँदै मधेसी जनअधिकार फोरम । फोरमको स्थापना र मधेश आन्दोलनपछि यादव थप चर्चामा आएका हुन् ।

नेतृत्व र चर्चा अनि निर्णायक नेताको रुपमा यादवको उपस्थिति निरन्तर कायम छ । एक साता अघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पार्टी एकता एकता गर्दा पनि कार्यकारी अध्यक्ष नै रहनु र उनकै नेतृत्वमा अरु समेटिन सक्नुले यादवको पछिल्लो समयमा बनेको ब्यक्तित्वको सहजै आकलन गर्न सकिन्छ ।

डा. भट्टराईसँग पार्टी एकता गरपछि उपेन्द्र यादव सरकारमा रहन्छन् कि रहँदैनन् भन्ने प्रश्न आम रुपमा उठिरहेको छ ।

पार्टी एकतापछिको आगामी योजना र विकल्प लगायतका विषयमा हामीले उपेन्द्र यादवसँग कुराकानी गरेका छौं, प्रस्तुत छ उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष यादवसँग गरिएको कुराकानीको सम्पादित अंश-

तपाईंहरु राजपासँग पार्टी एकीकरणको क्रममा हुनुहुन्थ्यो तर आकस्मिक रुपमा डा. बाबुराम भट्टराईसँग पार्टी एकता गर्नुभयो त ?

यो आकस्मिक थिएन, लामो गृहकार्य र छलफलपछि मात्र डा. भट्टराईसँग एकता सम्भव भएको हो । देश दरिद्र हुँदै जाने जनतामा निराशा फैलिँदै जाने, आर्थिक, राजनीतिक सबै क्षेत्रमा अन्यौल र अनिश्चितता कायम छ । यो तस्वीरले देखाउँछ । यथास्थितिमा राजनीति रहन सक्दैन । देशलाई यही अवस्थामा राख्ने हो भने कुनै पनि बेला ठूलो राजनीतिक दुर्घटना हुन सक्छ भन्ने निष्कर्षमा म पुगें । यही निष्कर्षमा बाबुरामजी पनि पुगे पछि अहिलेको कम्युनिस्ट र कांग्रेसको विकल्पका रुपमा हामी सम्भावित खतराको सामना गर्न एक ठाउँमा आइपुगेका हौं ।

सम्भावित खतरा भन्नुभयो, कस्तो खतरा देख्नुभयो ?

यसरी देश चल्दैन । यो वहुराष्ट्रिय देश हो । त्यसको मर्मलाई मनन गरी संघीय प्रणालीलाई सुदृढ गर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाइएन भने यो प्रणाली कसरी चल्छ ? अहिलेको प्रणाली न हाँसको चाल न वकुल्लाको चाल भनेजस्तो भयो । न संसदीय, न संघीय प्रणाली नै रह्यो । यो के खालको पो भयो । यो संसदीय व्यवस्था असफल भै सक्यो । यो व्यवस्थाबाट मुलुक र जनताको हीत हुन सक्दैन, यसले हीत गर्न सक्दैन ।

हामीले खोजेको संसदीय प्रणालीको विकल्प नै हो । संसद भित्र र बाहिर हामी वातावरण बनाउँदै छौं । वैचारिक विकल्प हामी हौं । साम्यवादी र पूँजिवादी दुबै असफल सिद्ध भै सके । पूँजिवादको विकल्प साम्यवाद होइन

पहिला राणा शासनले, त्यसपछि पञ्चायतले, राजतन्त्रले देश चल्दैन भन्दै आन्दोलन गरेर देश चलाउन लोकतन्त्र ल्याउन जनताहरु सडकमा उत्रिए, अहिले तपाईं यो व्यवस्था चल्दैन भन्नु हुन्छ, आखिर के ले चल्छ त देश ?

अब राष्ट्रपतिय प्रणालीमा जानै पर्छ । प्रचण्डजी यसमा तयार हुनुहुन्छ ,म र बाबुरामजी तयार भएरनै पार्टी एकता गर्‍यौं । नेकपाका नेताहरु पनि यस लाइनमा तयार हुँदैछन् । कांग्रेस नीरिह पार्टी हो । हामी सबै मिलेपछि उ कता जाओस्, बिचरा !

तपाई सरकारमा हुनुहुन्छ फेरि प्रतिपक्षीको जस्तो कुरा गर्नु हुन्छ यो सुहायो त ?

हाम्रो प्राथमिकता सडक हो, सरकार होइन । यो सरकारले हामीलाई आस्वासनसहित दुई बुँदे सम्झौता गरेको छ । हामीले साथ दिनुको अर्थ संविधान संशोधनको आश्वासन मुल हो । अझै पनि आशा गर्दैछौ, प्रधानमन्त्री ओलीको आश्वासन अविश्वासमा परिणत भएकै दिन सरकार छोड्छौ । अझै केही दिन हेर्छौं ।

सरकारमा तपाईंहरुको उपस्थितिको ‘काउन्ट डाउन’ शुरु भएको हो, उसो भए ?

त्यो ड्राईभरमा भर पर्छ । हाम्रो कारणले यो सरकार हट्ने र रहने होइन । संविधान संशोधन नहुने निष्कर्षमा पुग्ना साथ हामी सरकारबाट बाहिरिन्छौ । दुई बुँदे समझदारी र त्यसको लक्ष्यका साथ हामी सरकारमा छौ ।

तपाईंहरुले खोजेको राजनीतिक विकल्प चाहिँ के हो ?

हामीले खोजेको संसदीय प्रणालीको विकल्प नै हो । संसद भित्र र बाहिर हामी वातावरण बनाउँदै छौं । वैचारिक विकल्प हामी हौं । साम्यवादी र पूँजिवादी दुबै असफल सिद्ध भै सके । पूँजिवादको विकल्प साम्यवाद होइन । त्यसले नेपालको समस्यालाई समाधान दिन सकेन । स्वयं प्रधानमन्त्री ओली यो व्यवस्थासँग वाक्क छन् । म र बाबुरामसँगै प्रचण्ड राष्ट्रपतीय प्रणालीको पक्षमा रहेकाले हेर्दै जानु होला ओली पनि हामीसँगै लाइनमा उभिनु हुन्छ ।

अव यो व्यवस्था रहँदैन त्यसो भए ?

सबै प्रणालीको प्रयोग भयो । सबै असफल देखिए । यो व्यवस्था त झन खिचडी संसदीय व्यवस्था हो । यसबाट मुलुकले कुनै क्षेत्रमा पनि कोल्टे फेर्न सकेन । राजनीतिक स्थिरता पनि दिन सकेन, आर्थिक उत्थान मधेशी, जनजाती, दलित, खस कसैको पनि हित गर्न सकेन त्यसकारण यो चल्दैन ।

नेपालको समग्र पछिल्लो राजनीतिक तस्वीर कस्तो छ ?

सामन्तवादको ढाँड भाच्चिएको, पूँजिपतिको न्यून उपस्थिति रहेको देश हो । नेपाल सापेक्ष पूँजिवाद विकल्प होइन, हुन सक्दैन । समाजवादी विकल्पनै मुलुक थेग्ने विकल्प हो । साम्यवाद विकल्प हुन सकेन । त्यो वैकल्पिक आधार हामी बनाउँदैछौ ।

यसकारण कार्यकारिणी राष्ट्रपतीय प्रणाली हाम्रो मुद्दा बनेको हो । हामी राजपासँग पनि यही लाइनमा सहकार्य र एकताका लागि कुरा गर्दैछौं । हाम्रो यो राजनीतिक यात्रा विकल्प बनाउनमा केन्द्रित छ । हामी विकल्प बन्न नसके ठूलो राजनीतिक दुर्घटना हुन्छ , यो पक्का छ ।

के ले त्यो संकेत गर्छ ?

गरीबी, असन्तुष्टी, भ्रष्टाचार, अव्यवस्था यावत कुरा र नेतृत्व प्रतिको असन्तुष्टि यी सबै कुराले यो कुराको संकेत गर्छ । अहिलेको अवस्था आँधी आउनु पूर्वको शून्यता जस्तो मात्र हो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : २७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार