रामनवमी मनाउन देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड | Khabarhub Khabarhub

रामनवमी मनाउन देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चैतेदशैं र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

यस वर्ष चैत ३० गते शनिबार चैत्र शुक्ल अष्टमी र नवमी अर्थात् चैतेदशैं एवं रामनवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अष्टमीलाई पूर्वान्ह् र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको उनले जानकारी दिए ।

केही राम मन्दिरमा भने वैशाख १ गते आइतबार नव वर्षका दिन रामनवमी पर्व मनाइने जनाइएको छ । शनिबार अपराह्न र आइतबार पूर्वाह्नमा नवमी तिथि रहेको समितिले जनाएको छ । अपराह्नमा तिथि परेका दिन रामनवमी मनाउनेले आज र पूर्वाह्नका दिन नवमी तिथि मनाउनेले आइतबार पर्व मनाउन लागेका हुन् ।

राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । रामनवमी पर्वका अवसरमा बिहान ५ बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनःनिर्माण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । उनको जन्म भएको सम्झनाका आधारमा रामनवमी पर्व मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ८ : ४२ बजे

कुमारी बैंक र एनसीएचएल बीच अलीपेमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य

काडमाडौं- कुमारी बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा

भाँच्चियो दुम्कीबास पुल, पूर्व-पश्चिम राजमार्ग ठप्प

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत लामो नारायणघाट-बुटवल खण्डमा पर्ने दुम्कीबासस्थित पुल भाँच्चिएको

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई

एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

काठमाडौं – सूचना तथा प्रसारण विभागले पत्रकारितामा अध्ययनरत ११ विद्यार्थीलाई

रोल्पामा सुन्तला बोकेको पिकअप पल्टिँदा चालकको मृत्यु, तीनजना घाइते

रोल्पा- रोल्पाको माडी गाउँपालिका-१ भितावाङदेखि सुन्तला बोकेर दाङको तुल्सीपुरतर्फ जाँदै