क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध « Khabarhub

क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– दुई दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडकमा लेदो जम्दा बिपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अधिकांश स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण अवरुद्ध भएको हो ।

राजमार्गको काभ्रेपलाञ्चोकतर्फ सात स्थानको पहिरोमध्ये पाँच स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण सडक अवरुद्ध बनेको छ । नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा पशुपति रोडा ढुङ्गा क्रसर तथा खानीको सहायक मार्ग (एक्सेस् रोड)बाट बिहीबार राति पहिरो खस्दा १ नं पुलमा अवरोध भयो । नमोबुद्ध नपा–५ लाष्कोटमा पशुपति तथा मनकोमना एग्रीगेट (क्रसर, रोडा ढुङ्गा खानी)बाट बिहीबार रातिदेखि हिलो र पहिरो कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।

रोशी गाउँपालिका–८ दिप्सामा नाङ्शाल रोडा–ढुङ्गा खानीको लेदोले राजमार्ग छेकेको छ भने सोही गाउँपालिका–८ नार्केस्थित गौरीशङ्कर क्रसर, रोडा–ढुङ्गा खानीको राजमार्गमाथिको सहायक मार्गका कारण सडक भत्किएर अवरुद्ध भएको छ । रोशी गाउँपालिका–८ मङ्गलटार र नार्केको पहिराले बिपी राजमार्ग अवरुद्ध बनाएको थियो ।

राजमार्गको अन्य केही स्थान समेतका साना पहिराले दुई दिनदेखि अवरुद्ध राजमार्ग आज काभ्रेपलाञ्चोकतर्फ एकतर्फीरुपमा खुलाइएको छ । रोशी गाउँपालिकाकै कालढुङ्गास्थित भ्याकुरे खोला र माम्ती खोलाको बहाव बढेर पुलमाथिबाट बग्दा साना सवारी आज अपराह्नसम्म रोकिए ।

क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योग सङ्घका जिल्लाध्यक्ष एवं पशुपति रोडा–ढुङ्गा उद्योगका सञ्चालक भरत घिमिरेले क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योगका कारण बिपी राजमार्गको अधिकांश स्थानमा सडक अवरुद्ध भएको स्वीकार गरे ।

कोटेश्वर–सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजना प्रमुख सूर्यनाथ भाटले क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योगका कारण बिपी राजमार्गको अधिकांश स्थानमा सडक अवरुद्ध भएको बताए ।

जिल्लास्थित प्रहरी, स्थानीय तह र कोटेश्वर–सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजनाको पहलमा नौ वटा स्काभेटर र डोजरले पहिरो पन्छाएर आज राजमार्गको काभ्रेपलाञ्चोकतर्फको सडक खुलाइएको हो । बिहीबारको वर्षाले अवरुद्ध सडक शुक्रबार प्रहरीले खुलाए पनि केही स्थानमा पुनःआज राति पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो ।

पुरिएको कार निकालियो

बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ मङ्गलटारस्थित सडकमा खहरे खोलाको बाढीले पुरेको एउटा कार आज निकालिएको छ । परिवारसहित काठमाडौँबाट धरानतर्फ लाग्नुभएका चन्दन श्रेष्ठको कार शुक्रबार बिहान सडकमा फसेको र निकाल्न नसक्दा सोही स्थानमा छोडेका कारण आज रातिको बाढीले पुरेको थियो । अवरुद्ध राजमार्ग खुलाउन प्रयोग भएका स्काभेटरले पुरिएको बा१६च ३५४९ नम्बरको श्रेष्ठको कार क्षतिग्रस्त अवस्थामा निकालिएको हो ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ९ : १० बजे

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ– चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला

निगमले भन्यो- भारतबाट आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू

काठमाडौं– नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले

मेडिकल काउन्सिलले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आफ्ना सेवाहरूबारे चिकित्सकहरूलाई सहजै जानकारी दिन

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर