नेपालमा ३० लाख बिरामीमध्ये वार्षिक ३ हजार जनाको मिर्गौला फेल, प्रत्यारोपणमा लैंगिक विभेद ! | Khabarhub Khabarhub

नेपालमा ३० लाख बिरामीमध्ये वार्षिक ३ हजार जनाको मिर्गौला फेल, प्रत्यारोपणमा लैंगिक विभेद !


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व मिर्गौला दिवस । हरेक वर्ष मार्चको दोस्रो बिहीवार मनाइँदै आएको विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतमुलक कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपाल सरकारले मिर्गौला रोगलाई कडा रोगको रुपमा परिभाषित गर्दै यस रोगका बिरामीलाई डायलाइसिस, प्रत्यारोपण र औषधि उपचारमा सहुलियतसमेत दिँदै आएको छ । सरकारले नेपालमै मिर्गौला प्रत्यरोपण गर्ने बिरामीलाई ४ लाख, मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने बिरामीलाई १ र मिर्गौला फेल भइ डायलाइसिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधि उपचार तथा प्रयोगशाला बापत १ लाख सहुलियत दिने व्यवस्था गरेको छ । यस्तौ मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवनका लागि १ लाख सम्मको सहुलियत दिएको छ ।

सरकारले अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्कमा ५० हजार, हेमोडायलाइसिस बढीमा हप्ताको दुइ सेसन र सोभन्दा बढि गर्नुपर्ने अवस्थामा प्रति सेसन २५ सय, संक्रमित भएका बिरामिहरूलाइ डायलाइसिस उपचार सेवा वापत प्रति सेसन ४ हजार, पेरिटोनियल डायलाइसिस प्रति बिरामी महिनाको अधिकतम ९० प्याकेट सम्म निशूल्क व्यवस्था गरेको छ ।

सुहलियत लिनेको संख्या तीन वर्षमा दोब्बर

सरकारले मिर्गौला रोगीलाई सहुलियको व्यवस्था गरेसँगै बिरामीहरुको उपचारमा पहुँच समेत बढ्दै गएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांकको अनुसार सरकारी सहुलियत लिने मिर्गौला रोगीको संख्या बढ्दै गएको छ ।

महाशाखाले तयार पारेको ३ वर्षको तथ्यांकलाई हेर्दा हेमोडायलाइसिस, पेरिटोनियल डायलाइसिस र प्रत्यारोपण गर्ने बिरामीको संख्या वर्षेनी बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७२/७३ मा २ हजार ४ सय ३ जना मिर्गौला पीडितले सरकारी सहुलियत लिएका थिए । जसमा १ हजार ९ सय ३९ जनाले हेमोडायलाइसिस र ८५ जनाले पेरिटोनियल डायलाइसिस सेवामा सहुलियत लिएका छन् । यस्तै १ सय ५७ जनाले प्रत्यरोपण सेवा लिएका छन् भने २ सय २२ जनाले औषधि उपचार सेवामा सहुलियत लिएको महाशाखाको तथ्यांक छ ।

महाशाखाको आर्थिक वर्ष २०७३/७४ को तथ्यांकको अनुसार मिर्गौला रोगमा २ हजार ६ सय २५ जनाले सरकारी सहुलियत प्राप्त गरेका छन् ।
जसमा २ हजार १ सय ९७ जनाले हेमोडायलाइसिस र ८८ जनाले पेरिटोनियल डायलाइसिस सेवामा सहुलियत लिएका छन् । यस्तै १ सय ४२ जनाले प्रत्यरोपण सेवा लिएका छन् भने १ सय ९८ जनाले औषधि उपचार सेवामा सहुलियत लिएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा मिर्गौला रोगमा सरकारी सहुलियत लिनेको संख्या झन्डै दोब्बर रहेको छ । यस आर्थिक वर्षमा ४ हजार ६ सय ६१ जनाले मिर्गौला रोगमा सहुलियत लिएको महाशाखाको तथ्यांक छ । जसमा ४ हजार ए सय १० जनाले हेमोडायलाइसिस र १ सय ८८ जनाले पेरिटोनियल डायलाइसिस सेवा लिएका छन् । यस्तै २ सय ४९ जनाले प्रत्यरोपणमा सहुलियत पाएका छन् भने १ सय १४ जनाले औषधि उपचार सेवा लिएका छन् ।

हेमोडायलाइसिस गराउने मिर्गौला रोगीको बढी

महाशाखाको तीन वर्षको तथ्यांककको अनुसार नेपालमा हेमोडायलाइसिस गराउने मिर्गौला रोगीको संख्या बढी रहेको छ ।

तीन वर्षमा ८ हजार २ सय ४६ जनाले हेमोडायलाइसिस गराएका छन् भने, ३ सय ६१ जनाले मात्रै पेरिटोनियल डायलाइसिस गराएका छन् । यस्तै सरकारी सहुलियतमा मिर्गौला प्रत्यारोपण गर्नेको संख्या तीनवर्षमा ५ सय ४८जना मात्रै रहेको छ । सरकारी सहुलियतमा तीनवर्षमा ५ सय ३४ जनाले औषधि उपचारमा सहुलियत लिएका छन् ।

यो तथ्यांकलाई हेर्दा पनि हरेक वर्ष मिर्गौलाका बिरामीको संख्या बढ्दै गएको देखिन्छ ।

अस्पतालमा पुग्ने ९० प्रतिशतको मिर्गौला फेल

हरेक वर्ष मिर्गौला रोगबारे जनचेतनात्मक कार्यक्रमहरु हुने गरेपछि मिर्गौला रोगका बिरामीको संख्यामा भने कमी आएको छैन ।

नेपालमा ३० लाख व्यक्तिमा मिर्गौलासम्बन्धि रोग रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला प्रत्यारोपण बिशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले बताए । डा श्रेष्ठका अनुसार ती ३० लाख मध्ये वार्षिक तीन हजार रोगीको मिर्गौला फेल हुने गरेको छ ।

समयमा मिर्गौला परिक्षण नगर्दा र अस्वास्थ्यकर जीवनशैलीका कारण मिर्गौला रोगकीको संख्या बढ्दै गएको डा श्रेष्ठ बताउँछन् । समयमै उपचार गर्दा निको हुने भएपनि मिर्गौला रोगको शुरुवाती लक्षण नदेखिने भएकाले जटिल अवस्थामा मात्रै रोगीहरु अस्पताल पुग्ने गरेको डा श्रेष्ठको भनाइ छ ।

‘मिर्गौला रोगको प्रमूख कारण उच्च रक्तचाप र मधुमेह हो त्यसलाई नियन्त्रण नगर्दा र समय समयमा मिर्गौला परीक्षण नगर्ने कारणले मिर्गौला रोगी बढ्दै गएका छन्,’ डा श्रेष्ठले खबरहबसँग भने, ‘हाम्रो अस्पतालको ओपिडिमा मात्रै दैनिक १० जना मिर्गौला परिक्षण गर्न आउँछन्,बन्दा बढिको मिर्गौला फेल भइसकेको हुन्छ ।’

प्रत्यरोपणमा लैंगिक विभेद

मिर्गौला फेल भएका बिरामीले मिर्गौला प्रत्यारोपण पछि सहज रुपमा जीवनयापन गर्छ सक्छन् । नेपालमा मिर्गौला फेल भएका बिरामीलाई उनका परिवारका सदस्य तथा नजिकका आफन्तले एउटा मिर्गौला दिन पाउने कानूनि व्यवस्था रहेको छ । स्वास्थ्य व्यक्तिले आफूसँग भएको एउटा मिर्गौला दान गर्दा उसको स्वास्थ्यमा असर नपर्ने चिकित्सकहरु बताउँछन् । नेपालमा पारिवारिक सदस्यमा मिर्गौला फेल भएको अवस्थामा प्रत्यारोपणका लागि दान गर्ने विषयमा लैंगिक विभेद गएको डा श्रेष्ठ बताउँछन् ।

‘अस्पतालमा आएका बिरामी र तीनका परिवारमा धेरै देखेको छु, पति, दाजुभाइ, बुबा वा परिवारको पुरुष सदस्यको मिर्गौला फेल भएको छ भने पत्नी, दिदीबहिनीले सहजै रुपमा मिर्गौला दान गर्छन्,’ डा श्रेष्ठले भने, ‘तर जब पत्नि वा दिदीबहिनीको मिर्गौला प्रत्यारोपण गनुपर्ने छ भने पति,दाजुभाइले मिर्गौला दान गर्न मान्दैनन् ।’

पुरुषले मिर्गौला दान गर्दा कमजोर हुने र काम गर्न सक्दैनन् भन्ने भ्रमका कारण उनीहरु आफ्नै परिवारका महिला सदस्यलाई मिर्गौला दान गर्न नचाहनु दुखद कुरा भएको डा श्रेष्ठको भनाइ छ ।

‘पत्नीको मिर्गौला फेल भए अरु अर्को बिहे गर्नेसम्म सोच्छन् तर आफ्नो एउटा मिर्गौला दान गर्न चाहदैनन्, म आफू पनि पुरुष हुँ, यो देख्दा मलाई पुरुष हु भन्न पनि अप्ठ्यारो लाग्छ,’ डा श्रेष्ठ भावुक हुँदै भने, ‘नेपालमा मिर्गौला प्रत्यारोपणमा लैंगिक विभेद छ, पुरुषहरु स्वार्थी छन् ।’
मिर्गौला रोगको जटिल अवस्थाले रोगी र रोगीको परिवारमा विभिन्न समस्याहरु आइपर्छ । त्यसैले मिर्गौला जटिल अवस्थामा पुग्नुअघि नै वर्षमा एकपटक मिर्गौला परिक्षण गर्र्न डा श्रेष्ठको सुझाव छ ।

‘मिर्गौला रोग लागिसकेपछि रोगी र रोगीका परिवारले धेरै कष्ठ वेहोर्नपर्छ त्यसैले वर्षमा एकपटक मिर्गौला परिक्षण गर्नुपर्छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ११ : ०४ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज