सुखसहितको खुशीको वसन्त आउने कुरामा ढुक्क छौं– प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ) | Khabarhub Khabarhub

सुखसहितको खुशीको वसन्त आउने कुरामा ढुक्क छौं– प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षले सुखसहितको खुशीको वसन्त ल्याउने कुरामा आफू ढुक्क भएको बताएका छन् ।

नयाँ वर्षको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गएको वर्षले आत्मविश्वासलाई थप सुदृढ बनाएको भन्दै प्रधानमन्त्री ओलीले साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचि सहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरिरहेको बताए ।

यस्तो छ प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनको पूर्ण पाठ–

देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

नयाँ बर्ष २०७६ को मंगलमय शुभकामना ।

– गए रातीबाट हामीले बिक्रम सम्बत् २०७५ लाई विदा गर्‍यौं । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भ भएको थियो । मुलुकलाई समृद्ध बनाउन हामी सबैले सिङ्गो वर्षभरी आ–आफ्नो  स्थानबाट सक्दो मेहेनत गर्‍यौं । आजको यो नयाँ विहानीमा म, सबै नेपाली दिदीबहिनी/दाजुभाइहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

– गएको वर्ष नयाँ वर्षारम्भ गर्दा हामीले, कर्णालीको राराबाट विद्यालय भर्ना अभियानको आरम्भ गरेका थियौं । त्यतिखेर मेरोमनमा प्रसस्तै प्रश्नहरु उठिरहेका थिए–

– यी स–साना नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल कसरी बनाउने?

– सुत्केरी व्यथालागेका यस्तै भूभागका आमाहरुलाई बचाउने पर्याप्त मानवीय र भौतिक संसाधनको जोहो कसरी गर्ने?

– कर्णाली नदी र त्यससँगै गडगडाउँदै बगिरहेकाअरु नदीहरुबाट बत्ति निकालीगाउँ÷बस्तीको अँध्यारो कसरी भगाउने?

– सिंचाईको अभावमा बाँझै रहेका यहाँका खेतबारीलाई हरियाली कसरी बनाउने?

– अर्काेतिर म सोच्दै थिएँ– भर्खरै स्थापित संघीय शासन व्यवस्थाको जग कसरी बलियो बनाउने?‘मुलुक बन्दैन, काम हुँदैन’ भन्ने नकारात्मक भावलाई ‘काम पनि हुन्छ– हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ’ भन्ने विश्वास कसरी जगाउने?

– आज हामी यस्ता प्रश्न गर्ने स्थितिबाट, प्रगति सुनाउने अवस्थामा आइपुगेका छौं । राज्यमा रहेको चरम बेथीतिलाई क्रमशः प्रणालीगत स्थायित्वमा विकसित गर्ने तहमा हामी पुगेकाछौं । संविधान अनुरुपको कानून निर्माण गरी, कानून बमोजिमको संरचनाको परिचालन गर्ने तहमा हामीहरु आइपुगेका छौं ।

संकेतमा भनौं –

– संयुक्त राष्ट्रसंघीय वालकोष (युनिसेफ)ले हालै प्रकाशित प्रतिवेदन– ‘अ वल्र्ड रेडी टु लर्न’मा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर८६ प्रतिशत रहेको र यो विश्वमै अगाडी भएको उल्लेख गरेको छ ।

– लगानीको लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र(राइजिङ्ग स्टार) भनेका छन् ।

– विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतिलाई प्रेरणादायी र अनुकरणीय मानेका छन् ।

– मिश्रित निर्वाचन प्रणालीबाट स्थीर र बलियो सरकार निर्माण हुनुलाई नेपालीहरुको सुझबुझपूर्ण निर्णय र विकासप्रतिको तीब्र भोकको रुपमा लिएका छन् ।

– मैले धेरैचोटी दोह¥याएको छु, संघीयता हाम्रो लागि विलकुल नयाँ अभ्यास हो । सञ्चालनमा चुनौति छन् । तर,यस शासन प्रणालीको सबै तहका सरकारहरु अहिले व्यवहारबाट सिक्दै, कमी/कमजोरीलाई चिर्दै अघि बढ्दैछन् । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दैछ, आफ्नै भूमिमा उम्रिएको यो टुसा हुर्किंदैछ।मुलुकको आर्थिक/राजनीतिक रुपान्तरणको यस प्रक्रियामा धैर्यतापूर्वक संलग्न हुने र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई म, शुभकामना तथा वधाई दिन्छु ।

– गत चुनावमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदानगरे । त्यसैले हामीले,गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रातीब्र गतिका साथअघि बढाउँछौं । हामीले हाम्रा संपूर्ण स्रोत, साधन र प्रयासहरु यसैमा खर्चेका छौं । तर आफ्नो मात्रै स्रोत/साधनबाट हाम्रा आकांक्षाहरु पूरा गर्न संभव नहुने भएकोले नै मित्रहरुसँगको सहकार्य खोजी गरेका हौं । त्यसै खोजीको शुरुवात लगानी सम्मेलनबाट गर्‍यौं, जसले बाह्य पूँजी र प्रबिधि आमन्त्रण गर्नमद्दत पु¥याएको छ । यसपछिको अभियान, सक्षम जनशक्ति र किटान गरिएको लक्ष्य सहितको कामबाट अघि बढाइनेछ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– कसैले निराशा पोख्न सक्छ– ‘यो एक बर्षमा के नै भयो र?’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरीका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं– यो वर्षके के भए?

– यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति कानुन बने ? कति संशोधन भए ?

– कति किलोमिटर बाटो कालोपत्रे भयो?कतिवटा पक्की पुल निर्माण गरियो?

– तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो?

– पूर्व–पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउने काम चाँहि कहिलेबाट शुरु हुन्छ?

– पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ?

– पहिले नचलेका कतिवटा विमानस्थलअहिले सञ्चलनमा आए?नेपाल भ्रमण वर्ष मनाईंदैछ, नेपालसँग अहिले आफ्नै हवाइजहाज कतिवटा छन् ?

– नयाँ युगको शुरुवातको रुपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पार्‍यो? आजैबाट शुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रमले हाम्रा आमा–बाबाहरुलाई के लाभ दिन्छ?

– ‘खोलौं बैंक खाता’ कार्यक्रम के हो ? यसले कसरी फाइदा पुर्‍याउँछ?

– काम र रोजगारीको अभियान कहाँ पुग्यो?प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो?

– ‘नेपालको पानी, जनताको लगानी’बाट देशलाई र स्वयं शेयर किन्ने व्यक्तिलाई के कति लाभ हुन्छ?

– छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा भएको हाम्रो सहभागिताले मुलुकले के के लाभ पाएको छ ?

मित्रहरु,

– अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो।विकासको लागि सरकार के गर्दैछ त ? म ठान्दछु, आज नखोजिए, भोलि, भोलि नखोजिए पर्सी– यी प्रश्नहरु आफैं उत्तर बनेर जनताको जीवनमा आउँनेछन् । हाम्रा कामहरुले आफ्नो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन् । प्रश्न सोध्नेका लागि सरकार, तथ्य÷तथ्याङ्क सहित जवाफ दिन तयार छ ।

– हाम्रो राष्ट्रिय आकांक्षा– ‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रविन्दू जनता र धर्ती(पिपुल र प्लानेट) हो । जनताको जीवनलाई सहज र सुखी बनाउने, र हामी रहने धर्तीलाई सुरक्षित राख्ने।

– समृद्धि, सुखको आधार हो । सुख भनेको न्यायोचित जैविक र मानवीय आवस्यकताहरुको सहज उपलब्धता हो । उच्च र दीगो उत्पादन/उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तर आवद्धता, मानवीय पूँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो । समृद्धि अर्थात् सामजिक न्याय सहितको समुन्नति ।

– ‘सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन्। हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रहरु समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिको लागि पूर्वशर्त हो ।

– सुशासनको शत्रु भ्रष्टाचार हो । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम/कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन ।

– गएको साल, बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष पनि रह्यो । एकपटक सोचौं त– सुशासनकै संयन्त्रभित्र रहेर अवाञ्छित कार्यमा निर्लिप्त कुनै ओहोदावाल यसभन्दा अघि यस तह र व्यापकतामा कहिल्यै छानविनको दायरामा आएका थिए? एक वर्ष अघिसम्म पनि,पहिलो रोजाइमा पर्ने स्थानहरु आज किन रोजाईमा परिरहेका छैनन्? शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनि गन्हाएकाहरु अहिले किन छट्पटिएका छन्? अनपेक्षित ढंगमा तिनीहरु बुरुक÷बुरुक उफ्रिंदै किन क्रिया/प्रतिक्रिया दिइरहेका छन्?

– नयाँ वर्षको आजको दिन म भन्न चाहन्छु, मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिंदैछ । घरजग्गा कारोवारहोस् वा संगठित तस्करी,भन्सार÷अध्यागमनको विषय होस् वाहुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित/अनुचित कामको छानबिन जारी छ । जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ । हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु ।

– बेथीति र भ्रष्टाचार विरुद्धको यस अभियानमा सबै तह र तप्काबाट पाएको समर्थन र सहयोगप्रति म आभार प्रकट गर्दछु ।यसमा सघाउने सबै अभियन्ता, सञ्चारमाध्यम र जागरुक नागरिकहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ । यस वर्षलाई थप उपलब्धिमुलक बनाउन लागि पर्ने संकल्प फेरि एकपटक जाहेर गर्दछु ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– समृद्धिको अर्को पूर्वशर्त शान्ति हो । वितेको वर्षमा मुलुकले राजनीतिक रुपमा महत्वपूर्ण उपलव्धिहरु हासिल गर्‍यो ।

– अलग देश, अलग राष्ट्रिय झण्डा, अलग राष्ट्रियगान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधान अनुरुप राजनीतिक क्रियाकलापमा सहभागि हुने घोषणा गर्नु सामान्य विषय होइन । यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा मैल सन्तोष अनुभव गरिरहेको छु ।

– अहिले, विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद तथा त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान शुरु भएको छ ।

सबैखाले अतिवाद, अशान्ति, आतङ्क र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइनेछ ।लामो द्वन्द्व र सङ्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिंड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन । शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको छ । तर अवाञ्छित प्रतिगामी प्रयासहरु र संविधान विरोधी गतिविधिहरु कडाइका साथ नियन्त्रण गरिनेछ । यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रङ्ग दिएर हिंसालाई उचित नठहर्‍याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु ।

देशवासी दिदीबहिनी तथा दाजुभाइहरु,

– मलाई मन परेको, युएइका प्रधानमन्त्रीले आफ्नो पुस्तक ‘माइ भिजन’मा चर्चा गरेको एउटा प्रसंग यहाँ स्मरण गर्न चाहन्छु : ‘बिहान घाम झुल्केसँगै अफ्रिकाको जङ्गलको एउटा सिंह आफ्नो जिउ तन्काउँछ र सोच्छ, ‘यस जङ्गलको सबभन्दा छिटो कुद्ने हरिण भन्दा ढिलो कुदेँ भने म भोकै मर्छु । त्यसैले मैले सकेसम्म छिटो दौडनु पर्छ ।’ त्यसैगरी जङ्गलको कुनै कुनामा सुतिरहेको हरिण पनि ब्यूँझिन्छ र सोच्छ– ‘अहो ! अब मैले कुद्नु पर्छ, बेस्सरी कुद्नु पर्छ । यदी यस जङ्गलको सिंहभन्दा ढिलो भएँ भने म मारिन्छु । मैले बाँच्नु पर्छ ।’

– पुरानो वर्षलाई विदाई र नयाँ वर्षको स्वागत गरिरहँदा आज म, समयलाई हेक्का राखौं भन्न चाहन्छु । हाम्रा सामु अनगिन्ती कामहरु छन् । मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै पर्छ । यसको लागि हामी/हामी बीचको दौड– प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवस्यक छ। जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १०/११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् ।

– समयको गति समाउन मैले पनि आफूलाई, यो तीब्र गतिको दौडमा सामेल गरिरहेको छु । प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आफूलाई, हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राती १२ बजेसम्म सक्रिय राखेको छु । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा म, ३१४ वटा विभिन्न कार्यक्रममा सहभागि भएको छु । जनतासँगको सम्वाद कुनै न कुनै रुपमा जारी राखेको छु ।

– सरकारको नेतृत्व सम्हालेपछि मैले, सडक–सञ्जालको हिसाबले लामो दूरीमा रहेको कर्णाली प्रदेशको राराबाट जनतासँगको सम्वाद यात्रा थालेको थिएँ । छोटो नै सही डोल्पा, हुम्ला, जुम्ला र सुर्खेतमा आफूलाई अड्याएर तपाईहरुका भावना सुन्ने र मेरा योजना सुनाउने काम गरेँ। ६ वटा प्रदेशसभाहरुलाई सम्बोधन गर्ने क्रममा त्यहाँका जनप्रतिनिधिहरुसँग सम्वाद गरेँ । आज म यी सम्वादहरुको सकारात्मक परिणाम देखिरहेको छु ।

– गएको साल, ‘दशैंसम्ममा दुनैलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्छौं’भनेर गरिएको वाचापूरा हुँदा,त्यहाँका जनतालाई जस्तै मलाई पनि औधी खुशी लागेको छ । सिमीकोटमा सल्लाह गरे बमोजिम ताक्लाकोट हुँदै सीमापार गर्ने नाका व्यवस्थित गर्ने काम सार्थक भएकोछ । सीमानदी महाकालीमाथि कम्तिमा पनि झोलुङ्गे पुल चाहियो भन्ने दार्चुलाका दिदीबहिनी/दाजुभाइहरुको माग कार्यान्वयन भएको छ रअसुरक्षित नदी आरपारलाई सुरक्षित पार्ने हाम्रो अभियानमा मद्दत पुगेको छ ।

– सडकको शिलान्यास वा यस्तै विभिन्न अवसर पारेर प्रदेश १ को पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका कार्यक्रममा सहभागी भएको छु । सिराहाको भेला र रौतहटको विशाल सभालाई सम्बोधन गरेको छु । तय भएको औपचारिक कार्यक्रमलाई बीचमै छोडेर अकस्मात आएको चक्रवातबाट पीडित बारा–पर्साका जनताको दुःख र पीडासँग आफूलाई जोड्न पुगेको छु।व्यवसायिक स्याउ फार्मलाई प्रोत्साहित गर्न मनाङ पुगेको छु, जलविद्युत परियोजना शीघ्र सम्पन्न गराउन दोलखा पुगेको छु । यसरी वितेको एक वर्षमा जनतासँग सम्वाद गर्न ७७ मध्ये २९ जिल्लाहरुमा म स–शरीर नै पुगेको छु । कर्णाली र सुदुर पश्चिम प्रदेशको पहाडी भाग र तराईका अधिकांश भागमा रहेको फरकफरक प्रकृतिका असुरक्षित वस्ती व्यवस्थापनका लागि कार्यविधि लागू गर्न यी जिल्लाहरुको भ्रमणले सरकारलाई प्रेरित गरेको छ ।

– यसरी गएको वर्ष, चुनौतिलाई चिर्दै, आशा र उत्साहका साथ हामीबाट विदा भएको छ । गएको वर्षले हाम्रो आत्मविश्वास थप सुदृढ बनाएको छ । साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचि सहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरिरहेको छ । प्राकृतिक नियममा चलेर आउने वसन्तका लागि हामीले एक वर्ष प्रतीक्षा गर्नुपर्छ । तर सामाजिक विकासका नियम भने जटिल हुन्छन् ।

– प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफै आउँदैन, यसलाई हासिल गर्नुपर्छ । मानव समाजमा वसन्त आगमन विभिन्न शक्ति र प्रवृत्तिद्वारा प्रभावित हुन्छ । तर नेपाली समाजमा पनि दीगो शान्तिको, सामाजिक न्यायसहितको समृद्धिको, लोकतन्त्र सहितको विकासको र सुखसहितको खुशीको वसन्त आउने कुरामा हामी ढुक्क छौं ।

– हामीलाई वैचारिक रुपमा मार्गदर्शन गर्ने र अघि बढ्न प्रेरणा दिने सम्पूर्ण अग्रजहरुप्रति आदरभाव व्यक्त गर्दछु ।

– यस नयाँ वर्ष सबै नेपालीका लागि थप सुखमय होस् । फेरि एकपटक हार्दिक मङ्गलमय शुभकामना †

धन्यवाद ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ९ : १० बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन