काठमाडौं- पछिल्ला समय सार्वजनिक जग्गा तथा सांस्कृतिक सम्पदाहरु मासेर गगनचुम्बी भवन बनिरहेका छन् । भूमाफियाहरु सक्रिय हुँदा सार्वजनिक जग्गा, गुठीका जग्गाहरुमा अतिक्रमण बढ्दै गएको छ । तर गुठीको संरक्षण गर्न स्थापना भएको सरकारी संयन्त्र र पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्ने सरकारी निकाय नै ५ सय वर्ष भन्दा पूराना ऐतिहासिक स्थानमा व्यापारिक कम्प्लेक्स बनाउन सक्रिय बनेका छन् ।
खुल्ला स्थान, सांस्कृतिक सम्पदाहरु मास्दै व्यापारिक केन्द्र बनाउनतिर पल्केका भूमाफियाहरुको मिलेमतो यतिबेला असानको अशोक वृक्ष विहार र ‘घडीघर’मा पुगेको छ ।
असन बजार नेवार समुदायको सांस्कृतिक केन्द्रको रुपमा रहिआएको छ । जहाँ असनको चोकस्थित पुरानो घर देख्न सकिन्छ । त्यसको बाहिर एउटा भित्ते घडि समेत राखिएको छ । जसकारण उक्त घर ‘घडीघर’ नामले प्रख्यात छ ।
८ आना ३ दाम क्षेत्रफलमा फैलिएको छ यो घडी घर । जसमा ‘घडीघर’ ‘श्री ५ को वायु देवता गुठी’ र अशोक वृक्ष विहार नाम राखिएका ३ घरहरु छन् ।
अहिले ‘घडी घर’ भनेर चिनिने सो असन बजारको ऐतिहासिक ‘अशोक वृक्ष बिहार’ लाई मासेर सपिङ कम्प्लेक्स बनाउने योजना सार्वजनिक भएको छ । त्यसका लागि घरको नक्सा समेत पास भइसकेको छ
‘घडी घर’को भूइँतलामा रहेको सटरमा १४ परिवारले व्यापार गर्दै आइरहेका छन् । साथै घरको पहिलो तलाको एक कुनामा १६ शताव्दीमा बनेको अशोक वृक्ष विहारको लिच्छवीकालीन अमिताभ बुद्धको मूर्ति छ ।
जुन मूर्ति करिब ५ सय वर्ष पुरानो रहेको पुरातत्व विभागले पुष्टि गरेको छ । अझ त्यसको महत्व कति छ भन्ने कुरा मूर्तिबाटै झल्किन्छ । जहाँ नेवारहरुले पञ्चदानको अघिल्लो दिन होम पूजा गरी भोज खाने निजी गुठी पनि देख्न सकिन्छ ।
तर, अहिले ‘घडी घर’ भनेर चिनिने सो असन बजारको ऐतिहासिक ‘अशोक वृक्ष बिहार’ लाई मासेर सपिङ कम्प्लेक्स बनाउने योजना सार्वजनिक भएको छ । र, त्यसका लागि घरको नक्सा समेत पास भइसकेको छ ।
पुस्तौंदेखि ‘अशोक वृक्ष विहार’ मा बसोबास गर्दै आएका स्थानीयले भने सांस्कृति सम्पदा मासेर सपिङ कम्प्लेक्स बनाउने कुराको विरोध गरिरहेका छन् ।
सो घडीघरको सटरमा काजु र किसमिसको व्यापार गर्दै आइरहेका सजीव बज्रचार्य भन्छन्, ‘यो एउटा ऐतिहासिक सम्पदा हो, पुरानै शैलीमा पुरानो संस्कृति झल्किने गरी बनाउनुपर्छ । १६ औं शताब्दीमा बनेको सो अमिताभ बुद्धको मूर्ति रहेको स्थानमा हामी बिजनेस कम्प्लेक्स खडा गर्न दिँदैनौं, घर पुरानो भएपछि बनाउन पर्छ, हामी आफैं त्यसलाई पहिलाको जस्तै गरि बनाउँछौं ।’
दरबारमा मारिएका वा मरेका मानिसहरुको आत्मा शान्तिका लागि वर्षमा एकपटक हनुमान ढोका दरवारमा पूजा गरिन्छ । स्थानीयले सो गुठीबाट पुजा राखेर हनुमान ढोकामा लगि पूजा गर्ने गरेका छन् । जसको नाम ‘श्री ५ वायु देवताको गुठी’राखिएको छ ।
गुठी संस्थान भू-माफियाको चंगुलमा फस्दै गएको र पुस्तौंदेखि पसल राख्दै आएका रैथानेहरुलाई बलजफ्ती हटाउन खोजेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।
‘पुर्खाको सम्पत्तिमा थप केही निर्णय लिनुपर्दा रैथाने जनताको सहमति नलिइ सम्झौतापूर्ण ठग्ने खालको सम्झौता गरेको छ,’ घडीघरको सटरमा व्यवसाय गर्दै आएकी एक महिलाले भनिन् ।
उनका अनुसार घडीघर भत्काउनु भनेको आफूहरुको व्यापारीक केन्द्र मास्नु मात्र नभइ मल्लकालीन महत्त्व बोकेको एक सम्पदा पनि मासिनु हो ।
‘नेवारको साँस्कृतिक बजार असनमा गुठी संस्थानमार्फत भू-माफिया छिर्नु भनेको नेवार सभ्यता, सँस्कृतिमाथिको अन्तिम हमलाको हो,’उनी भन्छिन् ।
पुस्तौँदेखि घडीघरको संरक्षण गर्दै आएका स्थानीय १४ परिवारसँग करार सम्झौता अहिले पनि कायमै रहेको छ । तर, गुठी संस्थानले भने ‘बज्रयोगिनी सामान्य बहुउद्धेश्यीय’ कम्पनीसँग व्यापारीक कम्प्लेक्स बनाउने सम्झौता गरिसकेकाले आन्दोलनमा उत्रिएको उनीहरु बताउँछन् ।
काठमाडौं महानगरपालिकाको वडा कार्यालयले भत्काउनका लागि वैशाख ११ गते सूचना टाँस गरेको थियो । वडाले सूचना टाँस भएको मितिले ३ दिन भित्रमा पसलहरु खाली गर्न भनेको थियो । तर, पुस्तौंदेखि आफूहरु बसोबास गर्दै आएको भन्दै ११ परिवारका १४ पसल सञ्चालकले पसल हटाउन मानेनन् ।
महानगरबाट नक्सा स्वीकृत
महानगरले पनि सो जग्गामा व्यापारीक कम्प्लेक्स बनाउने अनुमति दिएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।
‘गुठीको जग्गामा भाडामा दिएकाले निर्माणको लागि स्वीकृति दिएका छौँ, पुरातत्वबाटै सांस्कृतिक सम्पदा पुरानै संरचनामा निर्माण हुनु पर्ने भन्ने भनाइ छ, त्यसमा भने ध्यान दिनुपर्छ,’ उनले भने ।
‘कम्प्लेक्स निर्माणका लागि ठेकेदारले नक्सा पास समेत गरिसकेको छ,’ खबरहबसँगको कुराकानीमा उनले भने ।
के भन्छ गुठी संस्थान ?
१६ औँ शताब्दीमा बनेको ‘घडीघर’ भूकम्पबाट क्षति पुगेकाले भत्काउन लागेको बताउँछन् गुठी संस्थानका सूचना अधिकारी सरोज थपलिया ।
‘गुठी संस्थानले ०५८ सालतिर नै सो घरलाई भत्काएर पुनर्निर्माण गर्ने भनिएको थियो, भूकम्पले झनै क्षति पुर्याएको छ,’ खबरहवसँग कुरा गर्दै उनले भने ।
गुठी भत्काउने भनेपछि स्थानीयहरु कुरै नबुझी आन्दोलन गरिरहेको बताउँछन् उनी । ‘हामीले गुठी निर्माण गर्न लागेका हौँ, पहिलेदेखि बस्दै आएकाहरु त्यही बस्न पाउँनेछन्,’ उनले भने ।
मल्लकालीन समयमै बनेको कोथुननी धार्मिक बिहार अब नयाँ संरचनामा बन्ने थपलीयाले जानकारी दिए ।
साथै सो घर पुनर्निर्माणमा वायु देवता गुठीबाट स्वीकृत भइसकेको र छिट्टै पुनर्निर्माण हुने उनले बताए ।
प्रतिक्रिया