काठमाडौं– राष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालबालिकाहरुबीच प्रत्यक्ष भेटघाट कार्यक्रम गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र बालबालिकाहरुबीच भेटघाट कार्यक्रम गरिएको हो ।
राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा आयोजना गरिएको ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा बालबालिकाले राष्ट्रपति भण्डारीसँग आफ्ना जिज्ञासा राखेका थिए । राष्ट्रपति भण्डारीले आफ्नो बाल्यकालको स्मरण गराउँदै बालबालिकाको जिज्ञासाको जवाफ दिइन् ।
शुरुमा झापाकी प्रेनुषा पाण्डेले जिज्ञासा राखिन राष्ट्रपतिज्यू हजुरको बाल्यकाल कसरी बित्यो ? राष्ट्रपतिले भनिन्, “मेरो बाल्यकाल फरक थियो, अहिलेको समय धेरै फरक छ, त्यतिबेला आजभन्दा करीब ६० वर्ष पहिला बालबालिकाको लागि धेरै कुराहरु सोचिएको थिएन ।
त्यति बेलाको समय, देश, काल परिस्थिति, हाम्रो देशको चेतनास्तर, समाज सबै कुराले फरक थियो । त्यो अवस्था र अहिले हेर्ने हो भने धेरै सकारात्मक परिवर्तन आएको छ ।”
राष्ट्रपति भण्डारीले आफू नेपालको राष्ट्रपति निर्वाचित भएपछि २० वर्षपछि आफ्नो माइती गाउँ भोजपुर पुगेको सुनाइन् । राष्ट्रपति भण्डारीले करीब ३५–३६ सालमा गाउँ छोडेको र विद्यालय पढ्ने समयमा बाटोघाटोको समस्या भएको , जङ्गल र पुल नभएको खोला पार गर्नुपर्ने अवस्था रहेको सुनाइन् । उनले आफू विद्यालय अध्ययन गर्ने क्रममा कत्ति पनि सूचना, सञ्चार प्रविधिको विकास नभएको र अहिलेका विद्यार्थीको हातहातमा मोबाइल भएको प्रसङ्ग ल्याइन् ।
“त्यतिबेला त साँझ परेपछि बत्ती हुँदैन थियो, सानो टुक्की बाल्ने हो त्यो पनि मट्टितेल नभएर कहिले तोरीको तेलमा बत्ती बालेर पढिन्थ्यो । तर अहिले तपाईहरुले पनि मैले भोगेको केही अंश भोगिरहुभएको जस्तो लाग्छ” राष्ट्रपति भण्डारीले भनिन् । “त्यतिबेला अक्षर चिन्ह गाहो थियो, तपाईहरुले कलम कपीबाटै अक्षर चिन्नुभयो होला, मैले भने पहिलो चोटी अक्षर लेख्दाखेरी रातो माटो धुलो बनाएर काठको फलेकमा सिन्कोले कोरेर हजुर बुबाले लेख्न सिकाइदिनुभएको थियो ” उनले थपिन्, “पछि विस्तारै विद्यालय खोलेर शिक्षकहरु राखेर पढाइहुन्थ्यो । हामी एकदमै विकट क्षेत्रबाट हुर्केर आएको हो, त्यसैले यहाँको भौगोलिक अवस्था र जनताको दुःख मलाई राम्रैसँग थाहा छ, मैले त्यो महसुस गरेको छु ।”
त्यसपछि राष्ट्रपति भण्डारीले बालबालिकाले राखेको अर्को जिज्ञासाको प्रसङ्ग ल्याउँदै पहिलेदेखि गाउँगाउँमा शिक्षा र स्वास्थ्यको समस्या थियो दुई छाक खान नपाउनेले पाउनुपर्छ भन्ने थियो परिवर्तन हुनुपर्छ भन्ने मलाई लागेको थियो तर मैले कहिल्यै म यो पदमा हुन्छु भनेर कल्पना गरेको थिइन भनिन् । उनले थपिन्, “कल्पना नगरेपनि त्यसमा लाग्दै जाँदा समय र परिस्थितिले यो ठाउँमा पुगेँ त्यो हिसाबले खुसी लाग्छ कि नेपाली जनताको घरमा हुर्केको एउटा छोरी मान्छे भएर । ”
उनले आफ्नो पालामा आफ्नो घरमा छोराछोरीबीच खासै विभेद नभएपनि बाबुहरुको पालामासम्म भने विभेद भएको बालबालिकालाई सुनाउँदै आफ्नो पालामा गाउँकी छोरी मान्छे हाइस्कुल गएको सायद पहिलो आफू मात्रै भएको सुनाइन् । उनले भनिन्, “त्यसपछि सबै जनाले विस्तारै पढ्न शुरु गरे । केही बनिन्छ भन्ने कुनै आकांक्षा भने थिएन । गाउँमा औषधि उपचार नपाएर मान्छेहरु मरिरहेको देखेपछि देश बन्नुपर्छ भन्ने थियो ।”
बालिका सम्झना गोराथोकीले राखेको जिज्ञासामा राष्ट्रपति भण्डारीले बालबालिका भनेको देशको एउटा निर्णायक जनशक्ति भएको र भोलि देश समाल्ने नेतृत्वकर्ता भएको बताइन् । त्यसैले राष्ट्रको सम्पूर्ण ध्यान बालबालिकाको उज्यालो भविष्यतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले बालबालिकाको सवालमा राज्यको जति जिम्मेवारी छ त्यति नै गैरसरकारी क्षेत्र र अभिभावकको पनि हुनुपर्नेमा जोड दिइन् ।
उनले राज्यले बालबालिकाको अभिभावकत्व लिन्छ तर त्यसलाई सही सदुपयोग गर्ने भूमिका अभिभावकले निभाउनुपर्छ भनिन् । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अभिभावकले जति समय दिएका हुन्छन् सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समयनै दिँदैनन् भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइन् ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकासम्बन्धी ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राष्ट्रिय बाल दिवस भदौ २९ गते देशव्यापी रुपमा मनाइँदै छ ।
प्रतिक्रिया